नेपालमा कोरियन भाषा परीक्षा पास गरेरै गए पनि विक्रम काफ्लेलाई दक्षिण कोरिया पुगेपछि बुझ्न केही असहज भयो।
नेपालमा सिकेको भन्दा कोरियनहरूको उच्चारण एकदमै फरक थियो।
'साहुले काम अह्राउँदा पनि बुझिँदैन थियो। अलमल हुन्थ्यो,' उनले भने।
विक्रमले उदाहरण पनि दिए।
'अंग्रेजी शब्द स्टोन (ढुंगा) लाई हामी स्टोन नै भन्छौं। कोरियनहरूको लवजमा 'स्थोन' हुने रहेछ। यस्ता कतिपय थाहा भएकै शब्दहरू पनि नबुझिने समस्या भयो,' उनले भने।
तीन–चार महिना सुन्दा सुन्दा बल्लतल्ल विक्रम अलि बुझ्ने भए। ६ महिना जति काम गरेपछि भने उनलाई निकै सजिलो भइसकेको थियो।
रूपन्देहीको तिलोत्तमा वडा नम्बर ११ का विक्रम दक्षिण कोरिया गएको अहिले ४४ महिना भइसक्यो। उनी रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत उत्पादनमूलक क्षेत्रमा काम गर्न गएका हुन्।
उनी हानुरी प्यानल नामक कोरियन कम्पनीमा काम गर्छन्। यो कम्पनीले त्यहीँको आन्तरिक बजारका लागि घर बनाउने प्यानल उत्पादन गर्छ।
विक्रमले खासगरी प्यानलको बीचमा राखिने फम, तार लगायत मिलाउने काम गर्नुपर्छ।
उनको नियमित काम ८ घन्टा हो तर कहिलेकाहीँ ओभर टाइम पनि हुन्छ।
दैनिक उत्पादन यति गर्ने भन्ने निश्चित हुँदैन। अर्डर आयो भने राती ९ बजेसम्म पनि काम गर्नुपर्छ। ओभरटाइम काम गरेबापत कम्पनीले छुट्टै पैसा दिने विक्रमले बताए।
सातामा कहिले शनिबार त कहिले आइतबार गरेर एक दिन बिदा हुन्छ।
उनका अनुसार बेसिक (आधारभूत) तलब दुई लाख १५ हजार रूपैयाँ जति हुन्छ। ओभरटाइमको बेग्लै आउँछ।
'राम्रो कमाउन मेहनत पनि राम्रोसँग गर्नुपर्छ,' उनी भन्छन्, 'नेपालमा कर्म–कल्चर छैन। कोरियनहरूले जसरी मेहनत गरेर काम गरिँदैन। कोरियनहरूले सबभन्दा धेरै प्राथमिकता नै समय र कामलाई दिन्छन्। भनेको समय भन्दा अगाडि नै पुगेर पूर्वतयारी गर्छन्।'
उनका साहु र अरू अधिकांश कम्पनीका साहुहरू नै कामदार जसरी खट्ने उनले बताए। त्यसैले आफूलाई कोरियाले कर्म–कल्चर र समयको महत्व सिकाएको उनको भनाइ छ।

'नेपालमा लाहुरे–कल्चर विकास भएको छ। वैदेशिक रोजगारीमा गएका साथीहरू आइफोन बोकेर आएको देखेर पनि हामी धेरैलाई विदेश जान रहर लाग्छ। म यहाँ आउनु पनि बाध्यताभन्दा रहर बढी थियो,' विक्रमले भने, 'छोटो समय कोरियामा काम गरेर चिनजानका साथीले घर बनाउँछन्, आइफोन किन्छन् भने म चाहिँ किन नजाने त भन्ने लागेको थियो।'
नेपाल छँदा विक्रम एउटा लुब्रिकेन्ट कम्पनीमा मार्केटिङको काम गर्थे। कोरियामा थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने सुनेपछि आकर्षित भएका थिए। अहिले आम्दानीका हिसाबले हेर्दा चित्तबुझ्दो नै भएको उनी बताउँछन्।
'जति खर्च गर्दा पनि महिनामा एक लाख त बचाउन सकिन्छ। नेपालमा बचाउने गरी कमाउन पनि सकिँदैन,' उनले भने।
तर ऊर्जाशील समयमा अर्काको देशमा काम गर्नुपर्दा दुःख लागिरहने विक्रम बताउँछन्।
'२५ देखि ३५ वर्ष निकै ऊर्जाशील उमेर हो। यो उमेरमा अर्काको देशमा काम गरेर बसेपछि त अब फर्किएर के गर्ने भन्ने हुँदो रहेछ,' उनले भने।
विक्रमले पाँच वर्ष कोरियामा कमाएर पुँजी लिएर फर्केर नेपालमै केही गर्ने सोचेका थिए। तर नेपालको पछिल्लो घटनाक्रमपछि देश फर्किहाल्ने मनस्थिति परिवर्तन भएको उनले बताए।
'पाँच वर्षपछि होइन, अब १० वर्षपछि पनि फर्किन सक्छु कि सक्दिनँ भन्ने अवस्था बनेको छ,' उनले भने।
आफूले कमाएको पुँजी ल्याएर देशमा कतै लगानी गर्ने उनको सोच हो। तर उनलाई अहिले फर्केर के गर्ने भन्ने अलमल छ।
'फेरि एक–दुई वर्ष नेपाल बसेर विदेश नै फर्किनुपर्ने अवस्था पो आउने हो कि? यसको जबाफ नहुँदा अन्योलमा छु,' विक्रमले भने, 'बजार छैन, निजी क्षेत्रलाई सुरक्षा छैन। आफ्नो उमेरसँगै पारिवारिक जिम्मेवारीले थिच्छ। कमाउन फेरि विदेशकै सहारा लिनुपर्ने हुन्छ।'
