ग्लोबल नेपाली
मोरङका गायत्री कुलुङ सन् २०२२ देखि अफ्रिकी देश सेसेल्समा छन्। उनी 'उड कार्भिङ' (काष्ठकला) को काम गर्छन्। उनले बनाएका काष्ठकलाका सामग्री अमेरिका र युरोपका विभिन्न देशमा पुग्छन्।
नेपालमा हुँदा गायत्री ढुंगा, माटो र सिमेन्टका मूर्तिहरू बनाउँथे। सेसेल्समा भने काठका मूर्तिहरू मात्र बनाइरहेका छन्।
गायत्रीलाई सानैदेखि कलामा आकर्षण थियो। खासगरी चित्रकला भनेपछि हुरूक्कै हुन्थे।
'मलाई लेख्न, पढ्न अल्छी लाग्थ्यो तर चित्र बनाउन उत्साहित हुन्थेँ,' उनले भने, 'मेरो कापीमा अक्षरभन्दा धेरै चित्र हुन्थ्यो।'
साथीहरू खेल्न जाँदा आफू भने चित्र बनाएरै बस्ने गरेको उनले बताए। स्कुलमा पूर्व–व्यावसायिक विषय पढ्दै गर्दा माटोका मूर्तिसहित अन्य कलाका काम गर्न शिक्षकहरूले थप प्रेरणा दिएको उनी सम्झिन्छन्।
'मैले किताबका चित्र दुरूस्तै उतार्न थालेपछि साथीहरूले चित्र बनाउन दिएका कापीको चाङ नै हुन्थ्यो,' उनले भने।
उमेर बढ्दै गएपछि उनले ढुंगा कुँद्न, सिमेन्ट र माटाका मूर्तिहरू बनाउन थाले। गाउँघरमा बिस्तारै मूर्तिकारकै रूपमा चिनिए। विशेषगरी दसैंमा दुर्गाको मूर्ति बनाउने जिम्मेवारी उनकै हुन्थ्यो।
तर यसरी काम गर्दा आम्दानी खासै हुँदैन थियो। कमाइको बाटो खोज्दै उनी सन् २०१७ मा कतार गए।

कतारमा उनी कार्पेन्ट्री (काठको काम) गर्न गएका थिए। तर त्यहाँ पनि कमाइ खासै भएन। उनको इच्छा एकातिर थियो, काम अर्कातिर।
एक दिन उनले कम्पनीमा म ऊँटको मूर्ति बनाइदिन्छु भने। तर उल्टै हप्काइ खाए।
'तेरो जे काम छ, त्यही गर, अन्यत्र ध्यान नलगा भने,' गायत्रीले सम्झिए, 'महिनाको २०–२५ हजार रूपैयाँ कमाएर केही हुँदैन जस्तो लाग्यो। म ११ महिनापछि फर्किएँ।'
कतारमा सोचेजस्तो काम गर्न नपाएको र केही नयाँ गर्नुपर्छ भन्ने हुटहुटीले उनी आफ्नै व्यवसायमा लागे।
२०७७ सालमा 'जी.के. मूर्तिकला केन्द्र' दर्ता गराए र आफ्नै काम सुरू गरे। केही समय काम राम्रै भयो। ठाउँ ठाउँबाट ठूला ठूला मूर्ति बनाउने काम आए। उनले घरमा श्रीमती र छोरासँग बसेरै आफ्नो व्यवसाय अघि बढाए।
केही समयपछि गाउँकै एक दाइले उनलाई सेसेल्स बोलाए। सेसेल्समा 'उड कार्भिङ' कै लागि मान्छे चाहिएको रहेछ।
'दाइले मलाई कम्पनी मालिकसँग भिडिओ कुराकानी गराउनुभयो। मैले आफूले गरेका काम देखाएपछि मलाई यहाँ बोलाइयो,' उनले भने, 'सुरूमा ५ सय अमेरिकी डलर मासिक कमाइ हुन्थ्यो। अहिले बढेर १ हजार डलर पुगेको छ। खान, बस्न पैसा लाग्दैन। सबैजसो पैसा बच्छ।'
उनले दैनिक ९ घन्टा काम गर्नुपर्छ।
गायत्री काष्ठकलामा निकै अनुभवी भइसकेका छन्। माग अनुसार काष्ठकलाका विभिन्न सामग्री बनाउँछन्। विशेषगरी कछुवा, माछा, चिल, सिंह र ऊँटका मूर्तिहरू बनाउने उनले बताए।
तीमध्ये पनि कछुवा र माछाका काष्ठकला सबैभन्दा बढी बिक्री हुन्छन्। माछाको त प्रजाति अनुसारकै मूर्ति बनाइन्छ।

'मैले नेपालमा हुँदा गरेजस्तै काम भएकाले सजिलो छ, रमाइलो पनि छ,' उनले भने, 'यहाँ पर्यटक धेरै आउने भएकाले काष्ठकलाका सामग्री बनाएर राखिन्छ। मैले बनाएका कलाहरू जर्मनी, अमेरिका, पोर्चुगल पुगिसकेका छन्।'
आफूले बनाए पनि त्यसमा आफ्नो नाम र पहिचान नहुँदा भने केही नमज्जा लाग्ने उनी बताउँछन्। यद्यपि आफ्नो कला विभिन्न देश पुगेकामा उनलाई सन्तुष्टि छ।
सेसेल्स सानो देश हो। सन् २०२४ को जनगणना अनुसार यहाँको जनसंख्या एक लाख २१ हजार मात्र छ। टापू नै टापू भएको यो देशमा ३ वटा टापूमा मानव बस्ती रहेको उनले बताए। गायत्री सबभन्दा धेरै बस्ती भएको माहे नामको टापूमा बस्छन्।
उनका अनुसार सेसेल्समा करिब ७ हजार नेपाली छन्, जसमा अधिकांश होटलमा कार्यरत छन्।
गायत्रीलाई अब सेसेल्समा धेरै समय बस्न मन छैन। उनी केही कमाएर नेपालमै व्यवसाय गर्न चाहन्छन्।
'म गरिब परिवारमा हुर्किएँ। १२ कक्षा पास नगरी कतार गएँ। अहिले यहाँ छु,' २९ वर्षीय गायत्रीले भने, 'तर अब सधैं यही बसेर हुँदैन। अलि कमाएर नेपालमै पुरानो व्यवसाय अघि बढाउने सोच छ।'
