एनआरएनएका पूर्वअध्यक्ष विनोद कुँवरको नेतृत्वमा स्थापित एन.के. कस्मेटिक्स प्रालिले आफ्नो ‘ओरा’ ब्रान्डमार्फत नेपालमा आधुनिक औद्योगिकीकरणमा योगदान पुर्याएको दाबी गरेको छ।
कम्पनीका अनुसार ललितपुरको इमाडोलमा स्थापना गरिएको उद्योगमा ३५ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ।
कोरियन प्रविधि, अनुसन्धान तथा उत्पादन मापदण्डलाई नेपाली उद्यमशीलतासँग संयोजन गरी स्किन केयर तथा कस्मेटिक्स उत्पादन गरिँदै आएको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष विनोद कुँवरले विदेशमा आर्जन गरेको सीप, अनुभव र पूँजीलाई नेपालमै लगानी गर्नु आफ्नो दायित्व भएको बताउँदै नेपालमै अन्तर्राष्ट्रियस्तरका उत्पादन निर्माण गर्न सकिने सन्देश दिन ओरा ब्रान्डको सुरुआत गरिएको बताए।
उनले आधुनिक प्रविधि, व्यवस्थापन र प्रतिबद्धता भए नेपालमै विश्वस्तरीय उत्पादन गर्न सकिने दाबी गरे। साथै कम्पनीले कस्मेटिक्ससँगै खाद्य तथा पेय पदार्थ क्षेत्रमा पनि लगानी विस्तार गरिरहेको जानकारी दिए।
कम्पनीकी प्रबन्ध निर्देशक तथा एनआरएनए सह-कोषाध्यक्ष गङ्गा खतिवडाले ओरा ब्रान्ड कोरियन प्रविधिमा आधारित उच्च गुणस्तरको उत्पादन भएको दाबी गरिन्। उनका अनुसार उत्पादनहरू नेपाली मौसम, वातावरण र छालाको प्रकृतिलाई ध्यानमा राखेर विकास गरिएका छन्।
हाल कम्पनीले फेस केयर, स्किन केयर तथा व्यक्तिगत सौन्दर्य सामग्री बजारमा उपलब्ध गराएको जनाएको छ। निकट भविष्यमा थप १० देखि १५ नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी रहेको कम्पनीको भनाइ छ। पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले एक सयभन्दा बढी प्रकारका कस्मेटिक्स तथा व्यक्तिगत हेरचाहसम्बन्धी उत्पादन गर्न सक्ने दाबी गरिएको छ।
कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरिरहेको जनाएको छ। साथै दक्षिण एसिया, मध्यपूर्व र युरोपलगायत अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन निर्यात गर्ने लक्ष्यका साथ अघि बढिरहेको कम्पनीले दाबी गरेको छ।