दुबई तथा उत्तरी इमिरेट्समा रोजगारीका लागि आउन लागेका तथा हाल कार्यरत नेपाली नागरिकहरूका लागि दुबईस्थित नेपाली महावाणिज्यदूतावासले दुई महत्वपूर्ण विषयमा जनचेतनामूलक सूचना जारी गरेको छ।
महावाणिज्यदूतावासका अनुसार युएईमा कार्यरत केही नेपाली नागरिक सम्पर्कविहीन हुने वा थुनामा पर्ने घटनाबारे परिवारबाट निरन्तर खोजी अनुरोध आउने गरेको छ।
तर, आवश्यक कागजात अभावका कारण खोजी कार्य कठिन हुने भएकाले विदेश जानुअघि राहदानी, भिसा, श्रम अनुमति लगायतका कागजातको प्रतिलिपि परिवारलाई सुरक्षित रूपमा उपलब्ध गराउन अनुरोध गरिएको छ।
त्यसैगरी, युएई आएपछि काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क व्यक्ति, बसोबास क्याम्पको विवरण तथा इमिरेट्स आइडीको प्रतिलिपि परिवारलाई पठाउन पनि आग्रह गरिएको छ।
यी विवरण बिना खोजी प्रक्रिया जटिल हुने दूतावासले जनाएको छ।
दोस्रो सूचनामा इमिरेट्स आईडी तथा मोबाइल सिमको दुरुपयोगबाट हुने ठगी तथा कानुनी समस्याबारे सचेत गराइएको छ।
दूतावासका अनुसार विभिन्न प्रलोभनमा परी आफ्नो इमिरेट्स आइडी वा सिम कार्ड अरूलाई दिने, वा व्यक्तिगत बैंक विवरण, ओटीपी तथा कार्ड नम्बर फोनमार्फत साझा गर्ने घटनाबाट धेरै नेपाली समस्यामा परिरहेका छन्।
यसरी हुने अनधिकृत प्रयोगबाट बैंक ऋण, ठगी तथा कानुनी कारवाहीसम्मका समस्या देखिएको भन्दै कुनै पनि हालतमा व्यक्तिगत कागजात तथा विवरण अरूलाई नदिन आग्रह गरिएको छ।
दूतावासले बैंक खातामा स्रोत नखुलेको रकम आएमा तत्काल सम्बन्धित बैंकमा जानकारी दिन पनि सुझाव दिएको छ।
साथै, जनहितका लागि यो सूचना व्यापक रूपमा फैलाउन नेपाली समुदाय, अग्रज तथा सञ्चारकर्मीलाई अनुरोध गरिएको छ।