बेल्जियममा नेपाली समुदायको संयुक्त सहभागितामा 'नेपाल फेस्टिभल २०२६' आयोजना गरिने भएको छ।
जुन ७ मा बसेको एनआरएनए बेल्जियमको बैठकले एनआरएनए बेल्जियम, ब्रसेल्सस्थित नेपाली दूतावास तथा बेल्जियमका विभिन्न नेपाली संघ–संस्थाको सहकार्यमा फेस्टिभल आयोजना गर्ने निर्णय गरेको हो।
कार्यक्रम अगस्ट महिनाको अन्तिम साता वा सेप्टेम्बरको पहिलो साताको शनिबार आयोजना गर्ने लक्ष्य राखिएको छ।
फेस्टिभलको तयारी तथा आवश्यक प्रक्रिया अगाडि बढाउन एनआरएनए बेल्जियमका उपाध्यक्ष राजेन्द्र कार्कीको संयोजकत्वमा तयारी समिति गठन गरिएको अध्यक्ष कमल पन्थीले जानकारी दिए।
कार्यक्रमको मिति र स्थान अन्तिम भएपछि नेपाली दूतावास सहित बेल्जियमस्थित सम्पूर्ण नेपाली संघ–संस्थाको संयुक्त भेला आह्वान गरी थप तयारी अघि बढाइने जनाइएको छ।
नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको फेस्टिभल सफल बनाउन नेपाली समुदाय, संघ–संस्था तथा सरोकारवालाको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ।
एनआरएनए बेल्जियमको एकतापछिको पहिलो ठूलो कार्यक्रम भएकाले यसलाई समुदायको एकता र साझा पहिचान झल्काउने ऐतिहासिक अवसरका रूपमा आफूहरूले लिएको पन्थीले बताए।