ग्लोबल नेपाली
सिन्धुलीका भीम खड्का सन् २०१० मा पोल्याण्ड जाँदै गर्दा आइटी क्षेत्रमा विज्ञता हासिल गर्छु अनि यसमै काम गर्छु भन्ने सोचमा थिए। त्यसकै लागि उनी स्नातक पढ्दापढ्दै उता हानिएका हुन्।
तर पोल्याण्ड गएर उनले ६/७ महिनामै आइटीको पढाइ छोडे अनि काम गर्न थाले।
विद्यार्थीलाई कामदार भिसामा बदल्न पाएपछि उनको ध्यान पढाइमा गएन।
'सुरूका २/३ महिना मैले तरकारी फार्ममा काम गरेँ। त्यसपछि भिसा मिलाउने प्रक्रियाका लागि मैले ससेस कम्पनीमा काम गरेँ। एउटै कम्पनीमा मैले १० वर्षभन्दा धेरै काम गरेको थिएँ,' उनले भने, 'सिकारू मजदुरबाट छिरेर अपरेटरसम्म भएँ। त्यही काम गर्दागर्दै पोल्याण्डको स्थायी बसोबासका लागि डकुमेन्ट मिलाउन सजिलो भयो। सन् २०२१ देखि भने मैले आफ्नै व्यवसाय सुरू गरेँ।'
सन् २०२१ मा खड्काले आफ्नो पहिलो रेस्टुरेन्ट सुरू गरे।
नेपाली र इण्डियन खाना पाउने थर्ड आई रेस्टुरेन्टबाट सुरू गरेका खड्काको अहिले पोल्याण्डको हुच, पाबिआनिचा र कालिसमा गरेर तीन ठाउँमा रेस्टुरेन्ट छन्।
तीन वटै रेस्टुरेन्टमा नेपाली, इण्डियन र थाई खाना पाउने खड्काले बताए।
नेपाली खानाहरू मःम, चाउनमिन, थुक्पा अनि नेपाली दालभातको व्यवसायसँगै त्यसको प्रचारप्रसार गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे।
रेस्टुरेन्ट व्यवसायसँगै आउटसोर्सिङ कम्पनीमा समेत उनको लगानी छ।
पोल्याण्डको खाद्यान्न, तरकारी खेती तथा पशुपालनको क्षेत्रमा अनि मासु व्यवसायमा आफूले कामदार आपूर्ति गर्ने उनले बताए।
उनका अनुसार पोल्याण्डमा बाहिरबाट कामदार ल्याउन कडाइ गरेकाले यो व्यवसायमा पनि केही सुस्तता आएको छ।
योसँगै आफूले पोल्याण्डमा उत्पादित उत्कृष्ट ब्रान्डका कस्मेटिक सामग्रीको नेपालमा बिक्रीवितरण गरिरहेको खड्काले बताए।
पछिल्ला दिनमा युरोपमा जाने नेपाली युवाहरू उल्लेख्य बढेका छन्। उनका अनुसार अहिले पनि क्रोएसिया र माल्टाबाट नेपालीहरू आउने क्रम चलिरहेको छ। तर नेपालबाट भने पोल्याण्ड जान कडाइ गरिरहेको छ।
'हुन त २०१८ पछि पोल्याण्डमा कामदार भिसामा जान पाउने प्रावधान सुरू भएको हो। तर अहिले भने कडाइ गरेको छ। त्यसैले पोल्याण्ड पठाउँछु भनेर कसैले भन्दै गर्दा अलि होसियारी अपनाउन जरूरी छ,' उनले भने, 'अदक्ष कामदारलाई कडाइ गरेको भए पनि दक्ष कामदार भने अहिले पनि गइरहेका छन्। युरोपका जुनसुकै देशमा गए पनि सीपमूलक तालिम गरेको रहेछ भने सहज हुन्छ।'
उनका अनुसार कामदार भिसामा पोल्याण्ड गएकाहरूमध्ये धेरैले त्यहाँको कृषि र पशुपालन क्षेत्रमा काम गरेका छन्। पोल्याण्डमा मासुको निर्यात धेरै हुने भएकाले यो क्षेत्रमा पनि कामदार चाहिरहने उनको भनाइ छ।
२१ वर्षको उमेरमा पोल्याण्ड गएका खड्काले आफ्नो महत्वपूर्ण समय उतै बिताए।
विद्यार्थी बनेर गएका खड्का अहिले व्यवसायी बन्न पाएका छन्। त्यो पनि आफ्ना लागि महत्वपूर्ण उपलब्धी भएको उनले बताए।
'आफ्नो व्यवसाय हुँदाका फाइदा बेफाइदा दुवै छन्। व्यापार भए पनि नभए पनि लगानी गरिरहनु पर्छ। तर लागेर गर्यो भने कहिले नाफा अनि कहिले घाटा भए पनि समग्रमा राम्रै हुन्छ,' उनले भने, 'म ठूलो व्यवसायी त होइन। तर झण्डै ९० जनालाई रोजगारी दिएको छु अनि आफ्नै केही गरेको छु भनेर सन्तुष्ट हुने ठाउँ छ।'
पोल्याण्डमा व्यवसाय गर्नका लागि भने सहज रहेको उनको अनुभव छ।
भाषाको राम्रो ज्ञान नभएकाहरूलाई केही समस्या भए पनि भाषा बुझ्नेका लागि धेरै सजिलो हुने उनले बताए। काम गर्ने क्रममा प्रक्रिया पुर्याएको छ भने कुनै अप्ठ्यारो नहुने भन्दै उनले प्रक्रियागत रूपमा लाग्ने समय बाहेक सरकारी कार्यालयमा अरू ढिलासुस्ती नहुने बताए।
सुरूमा अस्थायी आवास अनुमति पत्र (टिआर) त्यसपछि स्थायी आवास अनुमतिपत्र (पिआर) अनि आफ्नो केही काम भन्दैमा समय विदेशमा समय गएको पत्तै नहुने खड्काको अनुभव छ।
'यो विदेश भन्ने पनि के हुने रहेछ भन्ने लाग्छ। सुरूमा आइटी पढ्ने र यसमै काम गर्ने भन्ने बाहेक केही सोच थिएन। सोच्दै नसोचेको अनि कुनै आइडिया नभएको रेस्टुरेन्ट क्षेत्रमा लागियो,' उनले भने, 'सुरूमा केही वर्ष बसौं भन्यो त्यसपछि त्यहाँको डकुमेन्ट मिलाउँदैमा समय जाने रहेछ।अनि घर परिवार बच्चा भन्दैमा १६ वर्ष बितेको पत्तै भएन। अहिले त चाहेर पनि फर्किन नसकिने रहेछ।'