दैलेखमा धारिलो हतियार प्रहार गरी बुवाले छोराको हत्या गरेका छन्।
जिल्लाको नारायण नगरपालिका–९ सालखर्कका ७० वर्षीय कविराज थापा आफ्नै ४५ वर्षीय छोरा यादव थापाको हत्या गरेको आरोपमा पक्राउ परेका हुन।
मदिरा सेवनपछि सामान्य घरायसी विवाद क्रममा बाबुले छोरा माथि खुर्पा प्रहार गरेका थिए।
घाँटी, पाखुरा लगायत शरिरका विभिन्न भागमा गम्भीर घाउ खत खेपेका छोरा यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विकले बताए।
बुवाको खुर्पा प्रहार बाट ज्यान गुमाएका यादव नेपाली सेनाका सेवा निवृत्त हुन्।
उनले मंगलबार राति करिब ११ बजेतिर खुर्पा प्रहार गरेका थिए। प्रहरीले भने घटना बारे अस्पताल बाट मात्रै थाहा पाएको थियो।
त्यसपछि राति नै प्रहरी गएर हत्या आरोपीलाई पक्राउ गरिएको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए। घटना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ