सिन्धुलीबाट निर्वाचित सांसद आशिष गजुरेल प्रतिनिधिसभाको पहिलो बैठकमा भाग लिन साइकल चढेर गएका थिए।
सर्वसाधारणदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि उनलाई 'साइकल चढ्ने सांसद' का रूपमा चिन्छन्। यातायात तथा पूर्वाधार विज्ञ गजुरेल मानवमैत्री सहरका लागि आफूले साइकल प्रवर्द्धन गरेको बताउँछन्।
भक्तपुरबाट सिंहदरबारस्थित संसद भवन धेरैजसो साइकल चढेरै पुग्ने गजुरेललाई प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति निर्वाचित भएपछि संसद सचिवालयले गाडी सुविधा दिएको छ। एक जना व्यक्तिगत सुरक्षाकर्मी पनि छन्। तर उनी उपत्यकामा हुँदा धेरैजसो साइकल चढ्नै मन पराउँछन्।
'पहिला म जर्मनीमा हुँदा साइकल चढ्थेँ। त्यहाँ साइकल लेन हुन्थ्यो। एकदमै सुरक्षित अनुभव हुन्थ्यो,' गजुरेलले साइकल चढ्नुको कारणबारे भने, 'काठमाडौं जस्तो सहरमा साइकल लेन बनाउन सकियो भने धेरै मान्छे साइकलमा यात्रा गर्नुहुन्छ भन्ने सोच हो।'
काठमाडौं उपत्यकाको सहरी पूर्वाधार निजी सवारी साधनमैत्री भएको उनको बुझाइ छ। तर पछिल्लो समय उपत्यकाका निजी सवारी चालकहरूले समेत दु:ख पाइरहेको उनको अनुभव छ।
सिन्धुलीको चुनावी अभियान क्रममा पनि उनले मानवमैत्री पूर्वाधारका विषय उठाए। साइकलमैत्री सहरको कुरा गरे। तर धेरैले त्यसलाई सहरी एजेन्डाका रूपमा बुझे।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा पैदल यात्रा र सुरक्षित साइकल यात्राको विषय समेटिएकोमा उनी खुसी छन्।
'नीति तथा कार्यक्रम हेर्नुभयो भने सुरक्षित पैदल यात्रा, सुरक्षित साइकल यात्रा र व्यवस्थित तथा सुरक्षित सार्वजनिक यातायात हाम्रो मुख्य नीति तथा कार्यक्रम हो भनेर आएको छ,' गजुरेलले भने, 'मैले साइकल चढेको देखेर दाङबाट निर्वाचित सांसद कमल सुवेदीले पनि साइकल किन्नुभएको छ।'
रास्वपा सभापति रवि लामिछानेले पनि आफूलाई भेट्दा सधैं साइकल यात्राको प्रशंसा गर्ने र मानवमैत्री सहर बनाउनुपर्नेमा जोड दिने गरेको गजुरेलले बताए।
साइकल चढेका बेला आफूलाई बाटोमा युवाहरूले रोकेर फोटो खिच्ने र 'साइकल सांसद' भन्दै सम्मान गर्दा खुसी लाग्ने उनी बताउँछन्।
सेतोपाटी पडकास्टमा गजुरेलले आफूले सुरूआतमा काठमाडौंमा चुनाव उठ्ने चाहना व्यक्त गरेको खुलाएका छन्। तर पार्टीले आफ्नो जन्मस्थान सिन्धुलीबाट चुनाउ उठ्न सुझाव दिएको उल्लेख गरे।
राजनीतिक परिवारका सदस्य गजुरेल आफू विकासको राजनीतिका लागि संसद आएको बताउँछन्। माओवादी आन्दोलनका नेताहरू सिपी गजुरेल र हरिबोल गजुरेल उनका काकाहरू हुन्। उनका साइँला बुबा मुकुन्द गजुरेलले राप्रपाबाट उनीसँग चुनाव लडेका थिए।
हेर्नुहोस् गजुरेलसँगको कुराकानी —