छुट्टै राजनीतिक प्रतिवेदन ल्याएर अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि चुनौती दिँदै पार्टीभित्र प्रतिपक्षी आवाजको अगुवाइ गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा अन्तत: राप्रपा नै परित्याग गरी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन्।
राणाले २०८१ माघ ११ देखि १३ गतेसम्म धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकमा ६ पृष्ठको बेग्लै राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा व्यापक छलफल भएको थियो। अध्यक्ष लिङ्देनले केन्द्रीय समिति निर्णयमै महामन्त्री राणाको बेग्लै प्रतिवेदनमाथि छलफल गरिएको कुरा लेखेर उक्त प्रतिवेदनलाई संस्थागतसमेत गराएका थिए। तैपनि लिङ्देन र राणाबीच मन मिल्न सकेन।
राणाले केन्द्रीय समितिमा पेस गरी छलफल गराएको उक्त प्रतिवेदनले अध्यक्ष लिङ्देनको कार्यशैलीमाथि आलोचना नै आलोचना गरेको थियो। यसको पृष्ठभूमि २०८१ असोजमा बनेको थियो। त्यसबेला अध्यक्ष लिङ्देनले संगठन विभाग प्रमुखको जिम्मेवारीबाट राणालाई हटाएका थिए। आफू बिरामी भएका बेला संगठन विभाग प्रमुख खोसिएकोमा राणाले आपत्ति जनाए। उनले बेग्लै प्रतिवेदन पेस गर्दै भनेका थिए- मान्छे बिरामी हुन नपाइने? अस्पताल भर्ना भएकै आधारमा कारबाही गरे जसरी पार्टीका जिम्मेवारी खोसिदिने?’ बिरामी हुनासाथ पद गुम्ने खतरा देखियो, अध्यक्षलगायत बिरामी भए पद के हुन्छ? मलाई संगठन विभागबाट हटाउनु न्यायोचित छ?
आफ्नो कार्यशैलीको कटु आलोचक महामन्त्री राणालाई अध्यक्ष लिङ्देनले संगठन विभाग प्रमुखबाट हटाएर आफ्ना शुभचिन्तक उपाध्यक्ष बुद्धिमान तामाङलाई उक्त पद दिलाएका थिए। २०७८ को महाधिवेशनबाट निर्वाचित महामन्त्री राणालाई संगठन विभाग प्रमुखबाट हटाएपछि राप्रपाभित्र यसले विवादको गहिरो रूप लिँदै गएको थियो भने अध्यक्ष र महामन्त्रीका बीचमा सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन।
अध्यक्ष लिङ्देनसँग राणाको कुरा नमिल्नुको अर्को कारण हो, सत्तामोह!
पार्टी विधान तथा राप्रपा महाधिवेशनले निर्दिष्ट गरेका निर्णयविपरीत अध्यक्ष चल्ने गरेको राणाको आरोप थियो। अध्यक्ष लिङ्देनले कार्यकर्ताको भावनाविपरीत तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा पार्टी सहभागी गराएको र त्यसले राप्रपालाई अलोकप्रिय बनाउने काम गरेको उनको भनाइ थियो। अध्यक्ष लिङ्देनमा सत्ता मोह देखिएको र त्यसले गर्दा सदनदेखि सडकसम्म राप्रपा कमजोर भएको निष्कर्ष राणाले निकालेका थिए।
महामन्त्री राणाले कार्यशैलीमाथि प्रहार गर्दै बेग्लै राजनीतिक प्रतिवेदन केन्द्रीय समितिमा ल्याएर छलफल गरेपछि महिनौंसम्म अध्यक्ष लिङ्देनले केन्द्रीय समिति बैठक नै राखेनन्। यसबीचमा महामन्त्री राणा पक्षले समूहगत भेलाहरू गर्दै गए। अध्यक्ष लिङ्देनले पनि 'गुट बनाएर नेतृत्वमाथि घेराबन्दी गरेको' भन्दै राणानिकट नेताहरूमाथि कारबाही गर्न सुरू गरेका थिए।
राप्रपाभित्र विवाद ल्याउने अर्को घटना थियो- २०८१ चैत १५ को राजावादी आन्दोलन।
तत्कालीन अवस्थामा राजावादी दल तथा समूहरू मिलेर राप्रपा अनुशासन समितिका प्रमुख रहेका नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएको थियो। समिति संयोजक बनेपछि सुवेदीले राप्रपा साधारण सदस्यसमेत त्यागेको घोषणा गरेका थिए। आफूले अनुशासन समिति प्रमुख बनाएका सुवेदीको संयोजकत्वमा रहेको समितिमा आफूलाई सदस्य राखेकोमा लिङ्देन असन्तुष्ट बनेका थिए। राप्रपाले पार्टीलाई बाहिर राखेर राजसंस्था फर्काउने आन्दोलन गर्न खोजिएको भन्दै सुरूका केही महिना 'असहयोग' नै गर्यो।
त्यसबेला संयोजक सुवेदी घरमै 'नजरबन्दमा', वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा पक्राउ परी हिरासतमा थिए। उनीहरूविरूद्ध मुद्दा लागेको थियो। अध्यक्ष लिङ्देन त्यसबेला सांसद पनि थिए। उनले यो विषय सदनमा उठाएका भने थिएनन्। पार्टीभित्र आलोचना बढेपछि मात्र उनी नेताहरू भेट्न हिरासत पुगेको चर्चा थियो। केही समयपछि मिश्र र राणा छुटेका थिए।
२०८२ असारसम्म पुग्दा राजावादीहरू फेरि एकजुट भए। सुवेदीकै नेतृत्वमा संयुक्त जनआन्दोलन समितिले असार १५ गतेदेखि हिन्दु राष्ट्र पुनर्स्थापना र राजसंस्थासहित एजेन्डा लिएर 'अनिश्चितकालीन जनआन्दोलन' सुरू गरेको थियो। तर यो आन्दोलन एक साता पनि टिक्न सकेन। काठमाडौंमा आन्दोलन उठ्न नसकेपछि जिल्लातिर आन्दोलन विस्तार गर्ने भनेर यो आन्दोलन सेलायो।
असार २५ गते अध्यक्ष लिङ्देनले सुवेदी संयोजक रहेको संयुक्त जनआन्दोलन समितिका आन्दोलन परिचालन समिति संयोजक महामन्त्री धवल शम्शेर राणानिकट पार्टी प्रवक्ता सगुनसुन्दर लावती र अनुशासन समिति प्रमुखबाट सुवेदीलाई पदमुक्त गरेका थिए। यसविरूद्ध राणासहित नेताहरू निर्वाचन आयोग पुगेका थिए। यसपछि झन् अध्यक्ष लिङ्देनले फरक विचार राख्ने राणानिकट नेताहरूमाथि श्रृङ्खलाबद्ध कारबाही नै चलाएको देखिन्छ।
आफूनिकट नेताहरूमाथि अध्यक्ष लिङ्देनले कारबाही गरेपछि प्रतिक्रियामा महामन्त्री राणाले भनेका थिए- यो पार्टी राप्रपा विभाजन भइरह्यो भनेर नै हामीले परिवर्तन ल्याएको हो, नयाँ पुस्तालाई। मैले नै काँधमा बोकेर ल्याएको थिएँ अध्यक्ष राजेन्द्र लिङ्देनलाई। तर मैमाथि पटक पटक कारबाही हुन्छ।
आफ्नो सहयोगमा लिङ्देन त्यसबेला अध्यक्ष बनेको राणाको दाबी थियो।
अध्यक्ष लिङ्देनले साउन २ गते उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए। यसपछि राप्रपाको विवाद जिल्लाहरूमा पनि फैलिन थालेको थियो। सुर्खेतका गिरीमाथि कारबाही गरेपछि कर्णालीका अधिकांश जिल्ला अध्यक्षहरूले विरोध जनाएका थिए।
आफूसँग असहमत नेताहरूमाथि अध्यक्ष लिङ्देनले कारबाही गरेपछि महामन्त्री राणा, अर्की महामन्त्री कुन्तिकुमारी शाही, उपाध्यक्ष विक्रम पाण्डे लगायतले पटक पटक विज्ञप्ति र पत्र पठाएर लिङ्देनलाई उक्त निर्णय फिर्ता लिन भनेका थिए तर लिङ्देनले सुनेनन्।
पूर्वअध्यक्षहरूका घरमा पटक पटक बैठक गरेर पार्टीलाई एकढिक्का बनाउने र कारबाही फिर्ता लिने सहमति भए पनि कार्यान्वयनमा आउन सकेको थिएन।
यसबीचमा भदौ २३ र २४ मा जेनजी पुस्ताले आन्दोलन गरे र राजनीतिक परिस्थिति बदलियो।
महामन्त्री धवल शम्शेर पनि केही मत्थर देखिन्थे। उनले २०८२ मा आफूहरू सक्रिय राजतन्त्रको पक्षमा नरहेकोसमेत बोलेका थिए।
‘धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन्। त्यो कुरासित हामी सहमत छैनौं। अब सक्रिय राजसंस्था होइन। संवैधानिक राजसंस्था आवश्यक छ। यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु। नेपालीका छोराछोरीले देश चलाउने हो। अभिभावकको भूमिका राजसंस्थाले गर्नुपर्छ। यो विषयमा हामी स्पष्ट हुनुपर्छ। सनातन हिन्दु अधिराज्य कायम गर्ने यो सभा हो। यो चेतना जगाउने ठाउँ हो,’ २०८२ मंसिर २३ मा काठमाडौंमा आयोजित जनसभामा राणाले भनेका थिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय कार्यसमितिको नियमित ४ वर्षे कार्यकाल मंसिरमै सकिन्थ्यो। राणाले आफूहरूको कार्यकाल सकिन लागेको भन्दै नियमित महाधिवेशन गरिहाल्न माग गरेका थिए। तर अध्यक्ष लिङ्देनले विधानकै व्यवस्थाअनुसार भन्दै ६ महिना कार्यकाल थप्ने निर्णय गरेका थिए। फागुनमा चुनाव रहेको भन्दै लिङ्देनले महाधिवेशन टारेका थिए। थपेको समय यही जेठमा सकिँदैछ, तैपनि अझै महाधिवेशन मिति तय भएको छैन।
चुनावमा राप्रपाले अपेक्षित मत ल्याउन सकेन।
१६२ ठाउँमा उम्मेदवारी दिएकोमा प्रत्यक्षतर्फ जुम्लामा मात्रै चुनाव जित्यो भने समानुपातिकतर्फ ४ सांसद जितेको थियो। महामन्त्री राणालगायत अधिकांश पदाधिकारी चुनाव नै उठेनन्। पार्टीभित्रको विवाद समाधान नगरी चुनावमा सहभागी हुँदा त्यसले पनि केही प्रभाव पारेको चर्चा हुने गरेको छ।
चुनाव सकिएपछि झन् राप्रपाभित्र विवाद बढ्यो। पार्टी नेतृत्व असफल भएको भन्दै एकपछि अर्को केन्द्रीय सदस्यहरूले पदबाट राजीनामा दिन थालेका थिए। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनाव सकिएको दुई दिनमै पदबाट राजीनामा दिएका थिए। उनी काठमाडौं १ मा तीन पटक पराजित भइसकेका थिए।
साथै महामन्त्री धवल शम्शेर राणाले एक साताभित्र महाधिवेशन कार्यतालिका ल्याउन अध्यक्ष लिङ्देनलाई अल्टिमेटम नै दिएका थिए भने स्वतन्त्र व्यक्तिको संयोजकत्वमा महाधिवेशन गर्नुपर्ने माग राखेका थिए। अध्यक्ष लिङ्देनको नेतृत्वमा महाधिवेशन हुने भए सहभागी नहुने संकेत उनले दिएका थिए।
त्यसपछि महामन्त्री राणासहित ५ नेतामाथि कारबाही माग गर्दै पार्टी अनुशासन आयोगमा उजुरी परेको विषय बाहिरिएको थियो।
गत वैशाख ३ गते महामन्त्री राणा र प्रल्हाद साह, केन्द्रीय सदस्य कालिकोटका धनसुर शाही, दोलखाका रन्जन कार्की, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडामाथि पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा उजुरी परेको थियो। यीमध्ये वैशाख ११ गते केन्द्रीय सदस्य दोलखाका रन्जन कार्कीलाई लिङ्देनले पदमुक्त गरेका थिए।
पार्टीभित्र विवाद बढिरहेकोले अध्यक्ष लिङ्देनले चुनावी समीक्षा गर्न बैठकसमेत राखेका थिएनन्। केन्द्रीय कार्यसम्पादन वा केन्द्रीय समिति बैठक नगरी प्रदेशहरूमा समीक्षा गरेपछि मात्रै उनले जेठ १ मा केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेका थिए।
उक्त बैठकले महाधिवेशन मागेका महामन्त्री राणासहितलाई नै महाधिवेशन मितिसहित कार्यतालिका पेस गर्ने जिम्मेवारी दिने निर्णय गरेको थियो। तर राणाले महाधिवेशन कार्यतालिका बनाउने काम गरेनन्, बरू राप्रपा नै परित्यागको घोषणा गरेका हुन्।
राणाले पछिल्लो समय समूहगत भेला तीव्र पारेका थिए। अध्यक्ष लिङ्देनको कार्यशैलीसँग असन्तुष्ट तथा लिङ्देनले कारबाही गरेका सबैजसो नेता राणालाई बेग्लै पार्टी बनाएर जान सुझाव दिइरहेका थिए। त्यसपछि जेठ १७ गते राणाले राप्रपा परित्याग गरी अब नयाँ बाटो तय गरेको विज्ञप्ति नै जारी गरेका हुन्।
राप्रपाका एक पदाधिकारीका अनुसार पछिल्लो समय महामन्त्री राणा र अध्यक्ष लिङ्देनबीच संवाद हुनै छाडेको थियो। हालै राणाको जन्मदिनमा लिङ्देनले फोन गरेर शुभकामना दिएका थिए। साथै केन्द्रीय कार्यसम्पादनले दिएको जिम्मेवारीअनुसार छिटो महाधिवेशन कार्यतालिका ल्याउन र जेठ मसान्तमा बस्ने केन्द्रीय समितिबाट महाधिवेशन मिति घोषणा गरी जानुपर्ने कुरा उनले राखेका थिए। राणाले भने आफू पार्टी परित्याग गर्न लागेको सुइँकोसमेत अध्यक्ष लिङ्देनलाई दिएका थिएनन्।
राप्रपा परित्याग गरेपछि राणा राजावादी शक्ति तथा समूहहरूसँग सघन छलफलमा छन्। राणानिकट एक नेताका अनुसार राष्ट्रवादी शक्तिहरूलाई जोडेर नयाँ पार्टी बनाउने योजना छ।
‘करिब डेढ वर्षदेखि धवल दाइले अध्यक्ष लिङ्देनलाई कार्यशैली सच्याउन भन्नुभयो तर उहाँ मान्नुभएन, कुनै समझदारी कार्यान्वयनमा आएन,’ धवलनिकट एक नेताले भने, ‘यो पार्टी र नेतृत्व अब सुधार गर्न सकिन्न भनेर नै उहाँले राप्रपा परित्याग गर्नुभएको हो।’
उनकाअनुसार राप्रपाका करिब ६० केन्द्रीय सदस्य, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित विभिन्न राजावादी समूहहरूका नेताहरूसँग धवल शम्शेरले छलफल गरिरहेका छन्।
‘अब बन्ने पार्टी राप्रपाजस्तो हुने छैन। समयको पदचापअनुसाको पार्टी बनाउने गृहकार्य गर्दैछौं, राप्रपाबाट चोइटिएर राप्रपाजस्तै पार्टी बनाउने होइन, नयाँ शक्ति सिर्जना गर्ने हो, परम्परावादी शक्ति जुनसुकै देशमा हुन्छ, त्यसलाई नेतृत्व गर्ने राजनीतिक दल भएन। राजा र धर्म मान्नेहरूले नै फागुनको चुनावमा राप्रपालाई भोट दिएनन्, त्यो त जनताले विश्वास नगरेको हो नि,’ ती नेताले भने, ‘त्यसकारण अब विश्वसनीय राष्ट्रवादी शक्ति बनाउन खोजिएको हो। राजसंस्था पुनर्स्थापना गर्ने भन्ने अनि गणतन्त्र सुदृढीकरणमा लाग्ने राप्रपाजस्तो भनाइ र गराइ फरक पर्ने पार्टीको त अब काम रहेन।’
धवल शम्शेरले पार्टी परित्याग गरेको दुई दिनपछि अध्यक्ष लिङ्देनले अपिल जारी गर्दै राप्रपामै फर्कन अनुरोध गरेका छन्।
‘पार्टी पूर्ण रूपमा महाधिवेशनतर्फ उन्मुख भइसकेको अवस्थामा अप्रत्यासित रूपमा धवल शम्शेर राणाको पार्टीबाट बहिर्गमनको समाचारले आश्चर्यचकित भएको छु, पार्टीका पूर्वअध्यक्षहरूको आह्वान, नेता कार्यकर्ता र आम शुभेच्छुकहरूको भावनाको सम्मान गर्दै म धवल शम्शेर राणालाई आफ्नो निर्णय फिर्ता लिन र महाधिवेशन प्रक्रियामा सामेल हुन आग्रह गर्दछु,’ मंगलबार एक अपिल जारी गर्दै अध्यक्ष लिङ्देनले भनेका छन्।
उनले जेठ २८ र २९ गते केन्द्रीय समिति बैठक बस्ने र महाधिवेशन कार्यतालिका आउने पनि बताएका छन्। साथै राप्रपाका सबै तहका नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर पार्टीको आगामी महाधिवेशनको तयारीमा लाग्न अध्यक्ष लिङ्देनले आग्रह गरेका छन्।
तर राणा भने २०८१ चैत १५ को 'राजावादी आन्दोलनका कमाण्डर' दुर्गा प्रसाईंसँग मिलेर अरू विभिन्न राजावादी शक्तिलाई जोड्दै नयाँ पार्टी बनाउने गृहकार्यमा छन्। उनीनिकट नेताहरूका अनुसार 'कडा राजावादी' पार्टी बनाउने तयारी छ।