जापानबाट फर्किएको केही समयमै चितवनकी सुनिता घिमिरेले अनलाइन व्यवसाय सुरू गरिन्।
सुरूमा उनले आफ्नो घरमा थन्क्याइएका तर प्रयोगमा नआएका लुगा बेच्न राखिन्। उनको यो थ्रिफ्ट व्यवसाय राम्रै भयो। आफ्ना कपडा बिकेपछि उनले आफन्त र साथीहरूका लुगा पनि बेच्न थालिन्।
त्यसपछि बिस्तारै उनले नयाँ लुगा बेच्न सुरू गरिन्। लुगाकपडा भाडामा पनि दिने काम पनि थालिन्। यसैलाई अझ व्यावसायिक रूपमा दिँदै उनले नारायणगढमा 'अर्बान नेस्ट बुटिक एन्ट रेन्टल हाउस' खोलिन्।
'बिस्तारै ग्राहकहरू हामीलाई खोज्दै आएपछि ठाउँ चाहिने रहेछ भन्ने भयो,' सुनिताले भनिन्, 'यहाँ सुरूमा थ्रिफ्ट स्टोर मात्र थियो। अहिले यहाँ नयाँ सामान पाइन्छ। भाडामा लिन पनि सकिन्छ।'
सुनिता ८ वर्ष जापान बसेर फर्केकी हुन्। उनले त्यहाँ मानविकी संकायमा स्नातकोत्तर पढिन्। काम पनि गरिन्।
'धेरथोर कमाउन सकेँ,' उनले भनिन्, 'जापानमा मैले सिकेको सबभन्दा ठूलो कुरा आफ्नै काम गर्नुपर्छ र कुनै काम सानो–ठूलो हुँदैन भन्ने हो।'
जापानमा उनले रेन्टल र थ्रिफ्ट स्टोरमा मान्छेको भीड देखेकी थिइन्। त्यहाँ हुँदै कुनै दिन यस्तै व्यवसाय गर्छु भन्ने उनलाई लागेको थियो।
'बाई लेस युज मोर' भन्ने सोचका साथ आफूले व्यवसाय सुरू गरेको सुनिताले बताइन्।

नयाँ कपडा सिउन उनीसँग कालिगढको टिम पनि छ। कसैले आफ्ना लुगाकपडा बेच्न चाह्यो भने उनको पसलमा राख्न पाइन्छ। यसका केही सर्त हुने उनले बताइन्।
'हामीले लन्ड्री (धुने, सफा गर्ने) खर्च लिएर निश्चित समयका लागि कपडा बिक्रीमा राख्छौं। त्यो समयमा बिक्री भएन भने फिर्ता दिने कि दानमा दिने भनेर सोध्छौं,' उनले भनिन्, 'कसैले आफै फिर्ता लैजानुहुन्छ। कतिले दानमा दिनुहुन्छ।'
यहाँ सामाजिक तथा सांस्कृतिक काम, औपचारिक कार्यक्रम र चाडपर्वका लागि चाहिने पोसाक तथा भाँडाकुँडा उपलब्ध छ। भाँडाकुँडा भने भाडामा मात्र लैजान पाइन्छ।
जस्तो, पास्नीमा कसैले चौरासी व्यञ्जनका लागि भाँडाकुँडा खोज्यो भने तत्काल किन्न झन्झट हुन्छ। उनीहरूका लागि भाडामा उपलब्ध हुन्छ।
त्यस्तै लेहेंगा, गुन्युचोली, साडी, ब्लाउज, दौरा सुरूवाल जस्ता सबैजसो सांस्कृतिक पहिरन भाडामा पाइन्छ। कतिले आफ्नो बिहे र भोजमा लगाउने लुगा समेत लैजान्छन्।
'कपडा किनेर फाल्ने होइन, एउटैलाई बारम्बार प्रयोग गरौं भन्ने हो। आर्थिक अनुशासनसँगै सचेत नागरिक बन्न सकियोस् अनि वातावरणमैत्री हुन सकियोस् भन्ने हाम्रो सानो प्रयास हो,' सुनिताले भनिन्।
सुरूआती समयमा काममा केही गाह्रो भए पनि अहिले सहज हुँदै गएको उनी बताउँछिन्। यही साल मंसिर १० गते उद्योग दिवसका अवसरमा बागमती प्रदेश सरकारले नव उद्यमी प्रवर्द्धन योजना अन्तर्गत उनलाई सम्मान पनि गरेको थियो। यसले उनलाई थप उत्साहित बनाएको छ।
'मलाई जापान छाडेर आएकामा पछुतो छैन। बरू नयाँ काम गर्ने आत्मबल बढेको छ। विदेश गएपछि अनुभवले पनि सिकाउने रहेछ,' सुनिताले भनिन्, 'यही व्यवसायबाट बिस्तारै आम्दानी हुन्छ भन्ने विश्वास छ। अनि कम खर्च गर्न थोरै भए पनि प्रोत्साहन गरेको छु भनेर सन्तुष्टि मिलेको छ।'