ग्लोबल नेपाली
ए लेभल पढ्ने छात्रवृत्ति पाएर लन्डन जाँदा प्रतीकमान सिंह गुरूङ १६ वर्षका मात्रै थिए। उनी सन् १९९३ मा लन्डन गएका हुन्।
ए लेभल सकेर उनले छात्रवृत्तिमै युनिभर्सिटी अफ लन्डनमा एमबिबिएस पढ्ने अवसर पाए।
सन् २००२ मा एमबिबिएस सकेसँगै कहिले काम, कहिले ट्रेनिङ गर्दै पिएचडी सम्मको अध्ययन उनले छात्रावृत्तिमै सकाए।
बेलायत र अमेरिकामा गरेर युरोलोजी सम्बन्धी धेरै अध्ययन अनुसन्धान र काम गर्ने मौका पाएका गुरूङ रोबोटिक तथा युरो–सर्जन हुन्। उनै डा. प्रतीकमानसिंह गुरूङ ५ वर्षदेखि नेपालमा छन्।
'मैले बेलायत र अमेरिकामा काम अनि पढाइ गरेर २० वर्षभन्दा धेरै बिताएँ। आफ्नो विधाको लागि चाहिने थुप्रै ट्रेनिङहरू लिने मौका पाएँ,' उनले भने, 'सन् २०११ देखि रोबोटिक सर्जरीको प्रयोग गरेर काम गर्न थाले। नेपाल आउनुभन्दा अघि म अमेरिकामा कार्यरत थिएँ।'
बेलायत र अमेरिका दुवै देशमा काम गर्न पाउने लाइसेन्स लिएका गुरूङलाई अब भने विदेश जान मन छैन। उनी नेपालमै रोबोटिक सर्जरीका लागि काम गरिरहेका छन्।
५ वर्षदेखिको उनको प्रयास पहिलो पटक कात्तिक २८ गते सफल भएको छ।
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उनकै नेतृत्वमा रोबोटिक सर्जरी भएसँगै उपत्यकाबाहिर पहिलोपटक रोबोटिक सर्जरी सेवा सुरू भएको छ। त्यसयता २० भन्दा धेरै सर्जरी भइसकेको गुरूङले बताए।
'मलाई सुरूदेखि नै नेपाल आउन मन थियो। तर मैले आफूले चाहे अनुसारको डिग्री लिने, फेलोसिप गर्ने, ट्रेनिङ अनि काम गर्दा समय लाग्यो,' उनले भने, 'जब अब नेपाल गएर रोबोटिक सर्जरी सुरू गर्न सक्छु भन्ने लाग्यो अनि नेपाल फर्किएँ। अब रोबोटिक सर्जरीलाई धेरैभन्दा धेरैको पहुँचमा पुर्याउन लाग्छु।'
अमेरिकामा सन् २००१ मै सुरू भएको रोबोटिक सर्जरी बेलायतमा सन् २००८ देखि सुरू भएको हो। सन् २०११ देखि गुरूङले बेलायत र अमेरिकामा रोबोटिक सर्जरीको काम गरेका हुन्।
गुरूङले युरोसँग सम्बन्धित समस्याको मात्र रोबोटिक सर्जरी गर्दैनन्। उनले गाइनो, ग्याष्ट्रो लगायतका सर्जरीमा समेत यसको प्रयोग कसरी गर्ने भनेर सिकाउँछन्। अर्थात् उनी सर्जनहरूलाई रोबोटिक सर्जरीबारे सिकाउँछन्।
'रोबोटिक सर्जरीको सबभन्दा धेरै प्रयोग हुने भनेको युरोसँग सम्बन्धित समस्यामा हो। विश्वभरि यसको प्रयोगले व्यापकता पाइरहेको छ। किड्नीमा कुनै समस्या भएमा समेत रोबोटिक सर्जरीमार्फत सहज उपचार हुन्छ,'
गुरूङले भने, 'चिकित्सकले कम्प्युटर प्रविधिको सहायताले अपरेसन टेबलमा भन्दा टाढा बसेर कम्प्युटर स्क्रिनमा उपकरणको गति र दिशा नियन्त्रण गरेर शल्यक्रिया सञ्चालन गर्छन्।'
यो प्रणालीले अत्यन्त सानो प्वालबाट अपरेसन गर्ने भएकाले बिरामीमा कम रक्तस्राव, न्यून पीडा, छिटो निको हुने र संक्रमणको जोखिम कम हुने जस्ता फाइदा हुने उनले बताए।
उनका अनुसार थ्रिडी दृश्य र स्थिर रोबोटिक हातका कारण जटिल शल्यक्रिया पनि अझ सुरक्षित र सूक्ष्म रूपमा गर्न सकिन्छ।
परम्परागत प्रविधिहरूको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यक्रियामा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रूपमा संवेदनशील र जटिल उपचारहरू गर्न सकिन्छ।
नेपाल फर्किएको ५ वर्ष पुगेपछि मात्र उनी आफ्नो मिसनमा एक कदम अघि बढेका छन्। किनकि उनी नेपाल फर्किएकै रोबोटिक सर्जरी मार्फत उपचार गराउनको लागि अनि यसबारे अरू सर्जनलाई सिकाउन हो। अमेरिका, बेलायत जस्ता अति विकसित देशको स्वास्थ्य प्रणालीमा रहेर काम गरेका गुरूङलाई नेपालको कार्यशैलीले केही निराश बनाउनु स्वाभाविक थियो। काम गर्दा सानातिना झमेला आउन सक्छन् भन्ने कुरा उनले पहिल्यै बुझेका थिए। त्यही भएर उनी आफ्नो योजनमा लागिरहे।
'अमेरिका, बेलायत गएकाहरू धेरै फर्किँदैनन् तर तपाईं किन फर्किनुभयो भनेर मलाई धेरै सोधिन्छ। म यसलाई स्वाभाविक रूपमा लिन्छु। किनकि जाने आउने प्रक्रिया चलिरहन्छ,' उनले भने, 'नेपालमै आएर घर परिवारसँग बस्न पाइएको छ। आफू जन्मेको माटोको सेवा गर्न पाइएको छ। मलाई यसमै खुसी छ।'
महँगो प्रविधिबाट उपचार गरेपछि त्यसको खर्च पनि महँगै हुन्छ भनेर धेरैलाई लाग्नु स्वाभाविक हो। तर उनी भने त्यस्तो नहुने दाबी गर्छन्। प्रविधि महँगो भए पनि त्यसलाई पुरानो प्रविधिबाट गरिने उपचार खर्चबाटै उपचार गर्न पुग्ने गरी काम गरिरहेको उनले बताए। बरू पहुँच हुनेहरू भारत, सिंगापुर, थाइल्याण्ड जस्ता देशमा जाने गरेको भन्दै उनले रोबोटिक सर्जरी सेवा नेपाल ल्याएर पहुँच नहुनेलाई पनि उपचार गराउने प्रयासमा आफूहरू लागेको उनको भनाइ छ।

यस्ता प्रविधिको प्रयोगले विदेशमा उपचार गर्न जानेहरूलाई समेत स्वदेशमै सेवा दिन सकिने गुरूङको तर्क छ।
'प्रविधि महँगो हुँदैमा उपचार महँगो हुन्छ भन्ने हुँदैन। अस्पतालको बसाइँ, बिरामी निको हुन लाग्ने समय लगायतलाई आधार मानेर यसको मूल्यांकन गरिनु पर्छ। त्यसलाई हेर्दा रोबोटिक सर्जरी महँगो पर्दैन,' उनले भने, 'मैले नेपालमा रोबोटिक सर्जरीको माध्यमबाट उपचार गर्ने मात्र होइन। शल्य चिकित्सकहरूलाई यसबारे सिकाउने पनि हो। जसले गर्दा चिकित्सकले स्वदेशमै नयाँ प्रविधिबारे जान्न र सिक्न पाउँछन्।'