नेपाल प्रहरीले औपचारिक पोसाक अन्तर्गत जाडो यामका लागि नयाँ ज्याकेट प्रयोगमा ल्याएको छ।
यो ज्याकेट प्रारम्भिक चरणमा सिनियर अधिकारीहरूलाई उपलब्ध गराइएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए। पछि क्रमशः अन्य कर्मचारीलाई पनि उपलब्ध गराइनेछ।
'यसअघि जाडोको औपचारिक पोसाक स्वेटर थियो। अन्य सुरक्षा संगठनमा सिनियर अधिकारीले ज्याकेट लगाउने अभ्यास रहेकाले प्रहरी पोसाकमा पनि ज्याकेट राखिएको हो,' उनले भने।
यसलाई अनौपचारिक रूपमा 'स्मार्ट ज्याकेट' भनिएको छ। यसअघि प्रहरीसँग जाडोको ज्याकेट नभएकाले यसबारे धेरै जानकारी नहुँदा डिजाइन गर्न दिइएको काफ्लेले बताए।
ज्याकेटको डिजाइन ग्राफिक्स र प्याकेजिङ डिजाइनर द्रोण श्रेष्ठले गरेका हुन्। बहुराष्ट्रिय कम्पनीहरूसँग करिब दुई दशक काम गरिसकेका उनले यसअघि लुगा भने डिजाइन गरेका थिएनन्। त्यसैले प्रहरीको ज्याकेट बनाउनु उनका निम्ति अवसरसँगै चुनौती थियो।
आफूले पहिलो पटक डिजाइन गरेको ज्याकेट अहिले प्रहरीको औपचारिक पोसाकको हिस्सा बन्दा खुसी लागेको उनले बताए।
'प्रहरीका लागि जाडोको ज्याकेट डिजाइन गरिदिन प्रस्ताव आएको थियो,' द्रोणले भने, 'मैले दुई महिनामा तयार गरेर पठाएँ।'
ज्याकेट डिजाइन गर्नुअघि द्रोणको करिब डेढ महिना अध्ययनमै बित्यो। सुरूमा उनले २२ वटा डिजाइन बनाए। तीमध्ये एउटा छानियो।
उनका अनुसार ज्याकेटमा ब्याज, तक्मा, डायरी, मोबाइल, वाकिटकी जस्ता सामान राख्ने ठाउँ हुनुपर्ने, रङ, कपडाको गुणस्तर लगायतबारे प्रहरीले बताएको थियो। त्यही अनुसार सबै पक्षमा ध्यान दिइएको छ। हिँड्दा आवाज नआउने कपडा र चेन राख्न भनिएको छ। गोजीमा डायरी राख्न सहज होस् भनेर छड्के डिजाइन गरिएको छ।
'स्मार्ट पनि देखिने ज्याकेट बनाउनुपर्ने भनेपछि मेरो दिमागमा रूस, बेलायत र अमेरिकाका प्रहरी पोसाकको झल्को आएको थियो,' द्रोणले सुनाए, 'म ग्राफिक्स र प्याकेजिङ डिजाइनर हुँ। काम फरक भए पनि डिजाइन भनेको डिजाइनै हो, त्यसैले आफ्नो सबै ज्ञान र अनुभव प्रयोग गरेँ।'
यसरी द्रोणले डिजाइन गरेको ज्याकेट अर्को कम्पनीले तयार गरेको हो।
उनको डिजाइनिङ यात्रा सन् १९९४ मा सुरू भएको हो।
झापाका द्रोणले एसएलसी (एसइई सरह) दिएपछि कम्प्युटरमा डिप्लोमा कोर्स गरे। त्यसपछि धरान गए र एक कलेजमा शिक्षा संकायमा प्रविणता प्रमाणपत्र तह (प्लस–टू सरह) मा भर्ना भए।
त्यतिखेर उनलाई कमाउनुपर्ने बाध्यता थिएन। पढेरै दुई वर्ष बित्यो। पढाइ सकेपछि त्यहीँ एक इन्स्टिच्युटमा कम्प्युटर सिकाउने जागिर पाए। त्यो काम लगभग तीन वर्ष गरेपछि उनले त्यसमा आफ्नो भविष्य नभएको निष्कर्ष निकाले।
त्यसपछि सन् २००२ मा उनी ग्राफिक्स डिजाइन सिक्न काठमाडौं आए। कम्प्युटरको सीप भएकाले ग्राफिक्स सिक्ने इन्स्टिच्युटमा काम पनि पाए। जगिरबाट बचेको समय लोक सेवा तयारी गरे।
'इन्स्टिच्युटमा महिनाको दुई हजार रूपैयाँ तलब थियो। त्यहाँ दख्खल डिजाइनरहरू थिए। म लोगो डिजाइन, स्ट्याम्प बनाउने लगायत काम गर्थेँ। अरू नजानेका काम सिक्थेँ,' उनले भने।
त्यहाँ काम गरेको डेढ वर्ष बितेपछि नायब सुब्बा (नासु) मा उनको नाम निस्कियो। धनुषास्थित निर्वाचन आयोगमा कम्प्युटर अपरेटर भएर गए।
द्रोण त्यो बेला विदेश जाने तयारीमा पनि थिए। जागिर खाएको छोटो अवधिमै विदेश जाने अवसर मिल्यो।
'इमेल चलाउन सिकिसकेको थिएँ। विदेशी कम्पनीहरूसँग सम्पर्क गरेको थिएँ,' उनले सुनाए, 'दुबईको एउटा ग्राफिक्स डिजाइनिङ कम्पनीले बोलायो।'
उनी सरकारी जागिर छाडेर विदेश जाने कि नजाने भन्ने दोधारमा परे। अन्त्यमा विदेशी कम्पनीको सुविधामा लोभिए।
'यहाँ कम्प्युटर अपरेटरको तलब पाँच हजार रूपैयाँ थियो। विदेशमा ३२ हजार रूपैयाँ हुने भयो,' उनले भने।
राजीनामा दिएर उनी सन् २००३ मा संयुक्त अरब इमिरेट्सको दुबई उडे। त्यहाँ तीन वर्ष काम गरे। कम्पनीसँग सम्झौता सकिएपछि नेपाल फर्किए।
यहाँको एक कम्पनीमा मासिक पन्ध्र हजार रूपैयाँको जागिर पाए। बिहे पनि गरे।
तर आम्दानीले उनको परिवार धान्न गाह्रो भयो।
उनी फेरि दुबई गए। त्यहाँ एउटा कम्पनीमा जुनियर ग्राफिक डिजाइनरको काम पाए। त्यहाँ थप काम सिक्ने अवसर मिल्यो। द्रोणलाई प्रिन्टिङ सम्बन्धी पनि जानकारी थियो, त्यसले थप फाइदा पुर्यायो। त्यो कम्पनीमा उनले ६ वर्ष काम गरे।
त्यसपछि उनलाई डाबर इन्टरनेसनलबाट जागिरको प्रस्ताव आयो। त्यसमा उनले ११ वर्ष काम गरे। त्यसपछि नेपाल फर्किए।
'विदेश बस्यो भने बच्चाहरूलाई यहाँको बारेमा केही थाहा हुँदैन, आफ्नो संस्कार सिकाउनुपर्छ भन्ने सोच आयो,' उनले सुनाए, 'यहाँ सिकेको सीप यहीँ प्रयोग गर्ने योजना लिएर फर्केँ।'
उनी नेपाल फर्किएको तीन वर्ष भयो। अहिले डाबर इन्टरनेसनलमा कन्सल्ट्यान्टका रूपमा काम गरिरहेका छन्। यसबाहेक एलटी फुड र गोदरेज कम्पनीमा पनि डिजाइनको काममा जोडिएका छन्।
'नेपालमा बिस्कुट र औषधि उद्योगको प्याकेजिङ डिजाइनको काम गरिरहेको छु,' द्रोणले भने, 'अन्य नेपाली कम्पनीहरूसँग पनि छलफल हुँदैछ।'