रामेछाप खाँडादेवीका जनकलाल तामाङ सन् २०१६ मा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया गएका थिए।
त्यहाँ कृषिमा काम गरिरहेका उनी पाँच वर्षपछि बिदा मनाउन फर्किए। त्यही बेला कोभिड महामारी सुरू भयो। लकडाउनमा यतै रोकिए।
'फेरि जान एक वर्षसम्म प्रक्रिया गरेँ। भिसा नै आएन। त्यसपछि अब यतै केही गर्नुपर्छ भन्ने सोच्न थालेँ,' जनकले भने।
जनक त्यहाँ अंगुर कम्पनीमा काम गर्थे। सो कम्पनीले आफै अंगुर फलाउँथ्यो। जुस र वाइन बनाएर पनि बेच्थ्यो।
उनी बगानबाट अंगुर टिप्ने, बटुल्ने, प्याकिङ गर्ने, गाडीमा राख्ने, झार्ने लगायत काम गर्थे। केही वर्ष काम गर्दै जाँदा उनले मेसिन अपरेटर तथा प्रयोगशालाको कामको अनुभव समेत लिएका थिए।
नेपालमै रोकिएपछि उनलाई त्यो कोरियन कम्पनीले जस्तै आफै केही गर्न सक्छु भन्ने सोच पलायो। झट्ट दिमागमा गाउँघरमा उत्पादन हुने मेवा आयो।
'मेवा फलाउँछु र प्रशोधन कम्पनी पनि चलाउँछु भन्ने सोचेँ तर मसँग त्यस बेला धेरै पैसा थिएन। कोरिया फर्किने नै योजना भएकाले आफूसँग भएको पैसा काठमाडौंमा घर बनाएर सकेको थिएँ,' उनले भने, 'यतै बस्ने सोचेको भए त किन घर बनाउँथे र?'
घर बनाएर बचेको १० लाख रूपैयाँ थियो। त्यही रकमबाट उनले मेवा खेती सुरू गरे। सुरूमा ५ सय वटा बिरूवा ल्याएर रोपे।
राम्रै फल लाग्यो। स्थानीय बजार मन्थली र काठमाडौंका बजारमा बेचे।
त्यसपछि लगानी बढाउँदै लगे। आमा र श्रीमतीको गरेर करिब २७ तोला सुन बेचेर पनि लगानी थपेको उनले बताए।
जनकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट एक करोड रूपैयाँ ऋण लिए। उत्पादनसँगै प्रशोधन गर्ने योजना अगाडि बढाए। सरकारबाट ४० लाख रूपैयाँ अनुदान पनि पाए।
अहिले उनले खाँडादेवी वरपर ८० रोपनी र उदयपुरमा चार बिघा जमिन मेवा खेती गरेका छन्।
उनी अरू बीस जना कृषकले उत्पादन गरेको मेवा पनि किन्छन्। उनीहरूले फलाएको सबै मेवा आफूले किन्ने गरी सम्झौता नै भएको उनले बताए।

'उहाँहरूलाई बिउमा अनुदान दिन्छु। सानो, ठूलो जस्तो फले पनि किन्ने जिम्मा मैले लिएको छु। बजारमा चलेको भाउभन्दा पाँच रूपैयाँ बढाएर लिँदै आएको छु,' उनले भने।
अहिले आफ्नो उत्पादन र अन्य किसानको गरेर दुई सय रोपनीभन्दा धेरै जमिनमा फलेको मेवा बजारमा पुर्याइरहेको उनले बताए। यसबाहेक उद्योग नै खोलेर मेवाको जुस र साबुन पनि उत्पादन गरिरहेका छन्।
जनकको कम्पनीको नाम 'टिएमजी एग्रो' हो। टिएमजीको पूरा रूप 'टू मच गुड' हो। जुस र साबुन यही नामबाट उत्पादन भइरहेको छ।
अहिले उनले 'टिएमजी पपया' र 'टिएमजी पपया प्योर' भनेर दुई किसिमका जुस उत्पादन गरिरहेका छन्।
'टिएमजी पपया प्योर शुद्ध मेवाको जुस हो। त्यसमा चिनी हुँदैन। टिएमजी पपयामा भने १० प्रतिशत चिनी हुन्छ। नेपाली जिब्रोलाई गुलियो स्वाद पनि चाहिन्छ। त्यो हिसाबले चिनी भएको र नभएको दुई थरी उत्पादन गरिरहेका छौं,' उनले भने।
जुस भने बजारमा गइसकेको छैन। बजारमा पर्याप्त मात्रामा पुर्याउने गरी अहिले उत्पादन र भण्डारण मिलिसकेको छैन। यसलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको उनले बताए।
उनका अनुसार यो जुस तीन वटा सप्लायर्सबाट होलसेल, सुपर स्टोरहरू र किराना पसलमा जाँदैछ। एक पटक बजारमा पुगिसकेपछि मागका आधारमा निरन्तरता दिन सकियोस् भनेर अहिले जतिसक्दो धेरै उत्पादन गरेर भण्डारण गर्ने काम भइरहेको छ।
हाल कम्पनीको जुस उत्पादन क्षमता घन्टाको १५०० लिटर छ। पहिलो महिना दैनिक पाँच हजार लिटर जुस बजार पुर्याउने लक्ष्य जनकको छ। तीन महिनापछि दैनिक १० हजार लिटरसम्म लक्ष्य राखेका छन्।
जुस पेलेपछि बचेको मेवाको छोक्राबाट उनले साबुन बनाइरहेका छन्।

'किसानले मेवा फलाउँछ तर कहिले सानो भयो भनेर बिक्दैन, कहिले ठूलो फल्यो भनेर बिक्दैन। दुई हजार किलो बेच्न लग्यो भने यसमा चोट लागेको छ, यो कुहिएको छ, यो धेरै पाकेको छ भनेर चार/पाँच सय किलो त यसै फाल्नुपर्छ। यो दुःख देखेर पनि मैले फ्याक्ट्री खोलेको हुँ,' जनकले भने।
मेवा बेच्न उनले काठमाडौंको कुलेश्वरमा पसल पनि खोलेका छन्।
सन् २०२१ देखि मेवा खेती सुरू गरेका जनकले यो सबै काममा करिब तीन करोड रूपैयाँ लगानी गरिसकेका छन्। बजारमा जुस जान थालेपछि राम्रो प्रतिफल मिल्नेमा विश्वस्त छन्।
त्यस्तै उनले १७ जनालाई रोजगारी दिएका छन्। अझै, लगानी, उत्पादन बढाउँदै लैजाने र थप रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए।
'हामीले तयार गरेको जुस सबैले मनपराउँछन् भन्ने ग्यारेन्टी त गर्न सक्दिनँ। तर आफ्नै माटोमा फलेको मेवाबाट बनेको भनेपछि धेरैले बाहिरको, केमिकल हालेको जुसको सट्टा हाम्रै किन्छन् भन्ने आशा छु,' जनकले भने।
