युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको एकीकृत कारोबार आज (आइतबार)देखि सुरू भएको छ।
यी दुई कम्पनीले मर्जरपछि 'युनाइटेड अजोड इन्स्योरेन्स'को नामबाट एकीकृत कारोबार सुरू गरेका हुन्।
दुइटै कम्पनीको गत वैशाख २५ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका हुन्।
दुवै कम्पनीले मर्जरमा जान नेपाल बीमा प्राधिकरणबाट जेठ २ गते र कम्पनी रजिष्टारको कार्यालयबाट जेठ ८ गते स्वीकृति पाएका हुन्।
दुवै कम्पनी १००:८२.५ को अनुपातमा मर्जरमा गएका छन्।
यसर्थ अजोड इन्स्योरेन्सको १० कित्ता सेयर हुने सेयरधनीले मर्जरपछि बन्ने कम्पनीको ८.२५ कित्ता सेयर पाउनेछन् भने युनाइटेड इन्स्योरेन्सको सेयरमा कुनै परिवर्तन हुने छैन।
हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब सात करोड रुपैयाँ रहेको छ भने अजोड इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ।
नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ पुग्नेछ।
मर्जरपछि बन्ने कम्पनीको रजिष्ट्रर्ड कार्यालय हाल अजोड इन्स्योरेन्सको प्रधान कार्यालय रहेको स्थान सुन्धारामा रहने कम्पनीले बताएको छ।
मर्जर प्रयोजनको लागि दुवै कम्पनीको सेयर कारोबार आज (आइतबार) देखि रोक्का गरेको पनि जनाइएको छ।