रिलायन्स स्पिनिङ मिल्सको सेयर जारी प्रक्रिया स्थगित गर्न धितोपत्र बोर्डले बिक्री प्रबन्धक कम्पनीलाई लेखेको पत्र विरूद्ध पाटन उच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश भएको छ।
रिलायन्स स्पिनिङ मिल्सले धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर हालेको यस्तो रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र टिकाराम आचार्यको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो।
वैशाख ११ गते हालिएको रिटमा उच्च अदालतले वैशाख २४ गते यस्तो आदेश दिएको हो।
गत वर्ष असार २६ गते अर्थमन्त्रालयबाट नेपाल धितोपत्र बोर्डमा अध्यक्षता गरिरहेका नरेन्द्रकुमार रानाले कम्पनीको आइपिओ तत्कालका लागि रोक्न निर्देशन दिएका थिए।
धितोपत्र बोर्डले सो समय बिक्री प्रबन्धकलाई अर्को निर्णय नभएसम्मको लागि धितोपत्र निष्कासन प्रक्रिया रोक्का राख्न गरेको पत्राचार विरूद्ध कम्पनीले उच्च अदालतमा रिट दायर गरेको थियो।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ।
संस्थागत योग्य लगानीकर्ताहरूले मूल्य तय गरेर सर्वसाधारणमा सेयर बिक्रीको लागि तयारी गरिरहेको कम्पनीको प्राथमिक सेयर निष्कासन रोकिएको थियो।
संस्थागत योग्य लगानीकर्ताबाट तय भएको मूल्यको १० प्रतिशत कम मूल्य राखेर सर्वसाधारणमा सेयर जारी गर्ने तयारी भइरहेको थियो।
सर्वसाधारणलाई प्रतिकित्ता आठ २० रूपैयाँ ८० पैसामा सेयर बिक्री गर्ने भएको थियो।
तर, संघीय संसदको लेखा समितिमा मूल्य लगायतका विषयमा उजुरी परेसँगै कम्पनीको आइपिओ निष्कासन प्रक्रिया समेत अवरोध भएको थियो।
