सिटिजन्स बैंक इन्टरनेसनल र म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (एमएएन) बीच सम्झौता भएको छ।
नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले एमएएन–सिटिजन्स एसपायरिङ म्यानेजर अवार्डको स्थापना गर्ने सहमति भएको हो।
आज एमएएनको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एमएएनका अध्यक्ष मोहन राज ओझाले हस्ताक्षर गरे।
यो पुरस्कार पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एमबिएमा उत्कृष्टता प्रदर्शन गरेका प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने छ।
पुरस्कारको रकम ५१ हजार रूपैयाँ हुनेछ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुनेछ र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने छ।
सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका पदाधिकारीको समिति गठन गरी उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ र पुरस्कार हरेक वर्ष माघ महिनामा एमएएनको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने छ।
बैंकको यो कार्यले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १८ लाख ८६ हजारलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।