बैंकहरूमा लगभग २ खर्ब हाराहारी लगानी योग्य पुँजी भएपनि अपेक्षित दरमा कर्जा बढ्न सकेको छैन।
मौद्रिक नीतिले चालु आर्थिक वर्ष २०७९/८० मा कर्जाको विस्तार १२.६ ले हुने प्रक्षेपण गरिएको थियो। बैंकरहरूका अनुसार भने यस्तो वृद्धि लगभग ७ प्रतिशतमा सीमित हुने सम्भावना छ।
अहिले लगानी योग्य पुँजी हुँदाहुँदै पनि कर्जा विस्तार नहुनुमा विभिन्न कारण छन्। त्यसमध्ये केही बैंकहरूको कुल जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पुँजी अनुपात राष्ट्र बैंकले तोकेको सीमामै छ।
राष्ट्र बैंकले हाल यस्तो अनुपात कम्तिमा ८.५ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चैतसम्मको बैंकहरूको प्रमुख वित्तीय सूचकका अनुसार पाँच बैंकको यस्तो अनुपात सीमा नजिकै छ।
हाल प्रभु बैंकको यस्तो अनुपात ८.६१ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.७० प्रतिशत, एनआइसी एशियाको ८.८५ प्रतिशत, सिद्धार्थ बैंकको ८.९५ प्रतिशत र कुमारी बैंकको ९.१ प्रतिशत छ। यी बैंकहरूले अहिलेकै अवस्थामा कर्जा बढाउँदा यो सीमा थप घट्न सक्छ।
कुनै पनि त्रैमासमा यस्तो सीमा तोकिएको भन्दा कम भएमा बैंकहरूले लाभांश वितरण गर्न समेत पाउँदैनन्।
त्यसैले, बैंकहरूले सहज रुपमा कर्जा विस्तार गर्न पुँजी वृद्धि, पुँजीमा गणना हुने ऋणपत्र जारी गर्नुपर्छ वा निक्षेप संकलन बढाउनु पर्छ।
पछिल्लो समय बैंकहरूले या त हकप्रद जारी गर्ने अनुमति दिन या त पुँजीमा गणना हुने किसिमका ऋणपत्र जारी गर्ने व्यवस्था गरिदिन राष्ट्र बैंकलाई भन्दै आएका छन्।