एनएमबी बैंक र दराज नेपालबी दराजका बिक्रेताहरूलाई बिनाधितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ।
विशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट-अप फर्म तथा कम्पनीलाई दराज नेपालसँगको कारोबारको आधारमा ५ लाख रूपैयाँसम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको हो।
सम्झौता पत्र एनएमबीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराजका तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले आदानप्रदान गरेका थिए।
सम्झौताका बारेमा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत घिमिरेले अर्थतन्त्रको वास्तविक क्षेत्र तथा डिजिटलाइजेसनलाई प्राथमिकता दिइरहेको र यस कर्जामार्फत ग्राहकले अनलाइनमार्फत आवेदन दिएको केही मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधि विकास गरेको बताए। त्यस्तै यस कर्जामार्फत धेरैभन्दा धेरै एमएसएमई कर्जाका ग्राहकको आवश्यक चालु पुँजी पूर्ति गर्ने विश्वास बैंकले लिएको पनि उनले बताए।
यो कर्जा कागजरहित, झन्झटरहित र छिटोछरितो रूपमा प्राप्त हुने भएकाले सरकारको डिजिटल नेपालको अभियानमा बैंकको यो प्रयास कोशेढुंगा सावित हुने विश्वास बैंकको छ।
नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त एनएमबी बैंकले विगत २७ वर्षदेखि बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ। यो बैंक द फाइनान्सियल टाइम्स, लन्डनको 'द बैंकर' पत्रिकाद्वारा प्रदान गरिने एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको छ।
एनएमबीले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि उक्त सम्मान पाएको थियो।
यसका हाल देशभरि २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टर छन्।