नवगठित नेकपा राष्ट्रिय एकता पार्टीका संयोजक वामदेव गौतमले आफ्ना छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनु उनीहरूले गरेको कम्युनिस्ट आन्दोलनको परिणाम भएको दाबी गरेका छन्।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना श्रीमती र छोरा भएर मात्र केन्द्रीय सदस्य नभएको जिकिर गर्दै सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा रहेको बताए।
‘हामी व्यक्तिगत स्वतन्त्रतालाई मान्छौं। मेरो श्रीमती राजनीतिमा आउनु हुन्न र? त्यसको नेतृत्व गर्ने ठाउँमा पुग्नु हुन्न र?,’ उनले अगाडि भने, ‘उनले नेतृत्व पाउनु हुन्न भेर प्रश्न गर्ने अधिकार तपाईँलाई कहाँबाट प्राप्त भयो? मेरो छोरा/छोरीले त्यो सबै काम गर्नुहुन्न भनेर कसले भन्न सक्छ?’
उनले आफूहरू अहिले पनि जनप्रतिनिधि भएको भन्दै आफूहरूले स्वार्थका लागि राजनीति नगरेको जिकिर गरे।
‘आज हामी सरकारी पदमा छैनौं। जनप्रतिनिधि संस्थाको रूपमा हाम्रो परिवार अहिले पनि राष्ट्रिय सभा र प्रतिनिधि सभामा छौं। तर अब केही समयपछि निर्वाचन हुँदैछ। त्यो सबै देखेर हामीले काम गरिरहेका छौं’, उनले भने, ‘स्वार्थका निम्ति हामीले काम गरेका हैनौं। नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन, विकास गर्न त्यसलाई कम्युनिष्ट पार्टीबीच सुदृढ किल्लाको रूपमा विकास गर्न यो कामको सुरूआत गरेका हौं।’
कार्यक्रममा उनले आफैंले स्थापना गरेको कम्युनिस्ट पार्टीले धेरै ठूला नेता जन्माएको जिकिर गरे। आफ्नै सक्रियतामा निकै ठूला ठूला राजनीतिक परिवर्तन ल्याएको दाबी गर्दै उनले आगामी दिनमा पनि हुने जिकिर गरे।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय समिति बनाएका छन्।
त्यसमध्ये यो पार्टी समन्वय समितिको रूपमा रहँदासम्म केन्द्रीय सचिवालयमा ८ जना सदस्य हुनेछन्।
पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्यहरुमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल छन्।
उनको दलको केन्द्रीय सदस्यमा श्रीमती र छोरा पनि छन्। श्रीमती तुल्सी थापा प्रतिनिधिसभा सदस्य हुन्।