नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद बैठकले राज्यका सबै अंगमा भ्रष्टाचार व्याप्त भइरहेको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ।
सोमबार र मंगलबार काठमाडौंमा बसेको केन्द्रीय परिषद बैठकले सरकारसँग यस विषयमा छानबिन गर्न माग गरेको हो।
बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पत्रकारहरूसँग कुराकानी गर्दै दैनिक उपभोग्य वस्तुहरूको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरेको बताए।
योसँगै बैठकले १७ वटा विभिन्न विषयमा निर्णय गरेको उनले जानकारी दिए।
बैठकले किसानहरूलाई सहज तरिकाबाट मल तथा बिउबिजन आपूर्ति व्यवस्था यथाशीघ्र मिलाउन सरकारसँग आग्रह गरेको पनि उनले बताए।
त्यस्तै महिला तथा बालबालिकाहरूमाथि भइरहेको यौन हिंसा तथा सामूहिक बलात्कारको आपराधिक घटनाप्रति कठोर कानुनी कारबाही गर्न र पीडित महिला तथा बालबालिकाको उचित संरक्षण, उपचार, पुनः स्थापना र क्षतिपूर्तिका साथै सुरक्षित एवं सम्मानजनक सामाजिक जीवनको प्रत्याभूतिका लागि बैठकले सरकारसँग माग गरेको छ।
पार्टी पंक्तिलाई पनि सम्भावित विपद र यसको व्यवस्थापनका लागि आवश्यक पर्ने खोज, उद्धार र राहतका लागि तयार रहन अपिल गरेको खतिवडाले बताए।
भारतले नेपालको सिमाना नजिकै बनाएको बाँधहरूका कारण नेपालको तराईको भूभाग डुबानको समस्यामा पर्दै आएको भन्दै यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिन पनि बैठकले भनेको छ। साथै भारतसँग वार्ताको माध्यमबाट दीर्घकालीन रूपमा पहल गर्न पनि भनेको छ।
सुकुम्बासीको समस्या समाधानका लागि पुनर्गठन गरिएको भूमि समस्या समाधान आयोगले यथाशीघ्र वास्तविक सुकुम्बासी पहिचान गरी प्रभावकारी ढंगले दीर्घकालीन समस्या समाधानको पहल गर्न माग गरिएको पनि खतिवडाले जानकारी दिए।
उनका अनुसार बैठकले वास्तविक नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, संघीयतालाई प्रशासनिक रूपमा व्यवस्थापन गर्ने, निजामती सेवा व्यवस्थित गर्ने तथा तीनै तहको सरकारबीचका काम र भूमिका व्यवस्थित गर्ने ऐन, कानुन यथाशीघ्र निर्माण गर्न पनि बैठकले माग गरेको छ।
काठमाडौं उपत्यका लगायतका मुलुकका विभिन्न स्थानहरूमा झाडापखालाका बिरामी देखिन थालेको हुँदा रोकथाम गर्न पनि माग गरिएको उनले बताए।
‘काठमाडौं उपत्यका लगायका विभिन्न स्थानहरूमा झाडापखालाका बिरामी देखिन थालेकोप्रति सजग हुँदै यो बैठक झाडापखाला रोकथामका लागि जनचेतना फैलाउन, निरोधात्मक कार्य गर्न, बिरामीको उचित उपचार गर्न माग गर्छ,’ उनले भने।