शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेकपा एमालेका नेता भीम रावललाई जवाफ फर्काएका छन्।
शनिबार एक कार्यक्रममा बोल्दै भीम रावलले निजि विद्यालयमा लगानी भएका व्यक्ति नै शिक्षामन्त्री भएको बताएका थिए। स्वार्थ बाँझिनेगरी मन्त्रीहरू बनाइएको भन्दै उनले टिप्पणी गरेका थिए।
उक्त टिप्पणीमाथि जवाफ फर्काउँदै आफ्नो निजि विद्यालय देखाउन मन्त्री खनालले चुनौती दिएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो लगानी भएको निजि विद्यालय कुन रहेछ, म खोज्दै थिएँ, डा भीम रावललाई थाहा रहेछ। लौन भनिदिनुपर्यो। नाम, ठेगाना भए सजिलो हुन्थ्यो।’
रावलले शिक्षामन्त्रीसँगै वैदेशिक रोजगार मन्त्रालय, गृह मन्त्रालयमा समेत स्वार्थ बाँझिएको बताएका थिए।
‘आज मन्त्रीहरू हेरौं त। जसको वैदेशिक रोजगार कम्पनी छ, उसलाई श्रममन्त्री। जसको निजी स्कुल एकदम महंगो छ, ऊ शिक्षामन्त्री। जसलाई नागरिकता जस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ,’ उनले भने।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९, १८:५०:००