राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन्।
राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शितल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमानढोकाका मूल पुजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन्।
उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरूले प्रसाद प्रदान गरेका थिए। राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन्।


त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विजयादशमीका अवसरमा गुरू टिकाराम घिमिरेबाट टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा. आरजु देउवा र छोरा जयवीर देउवालाई दसैंको टीका लगाइदिए। प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रूपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई टीका लगाइदिए।
यसपटक महामारीको जोमिखलाई मध्यनजर गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगत गरियो। अघिल्लो वर्षझैं यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम पनि स्थगन गरियो।
तस्बिर स्रोत: रासस र प्रधानमन्त्रीको सचिवालय


प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८, ०४:२८:००