सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
नमस्ते!
मेरो यसपालिको हेमन्त छुट्टी साधारण थिएन। एकदम फरक र रमाइलो भयो। यस छुट्टीमा एउटा टाढाको ठाउँ लमजुङ जाने मौका जुर्यो।
सुरुमा मलाई लमजुङ जानै मन थिएन। किनभने मेरो यात्रा गर्ने मुड थिएन। तर के गर्नु? म नगए भने आमा पनि जान नपाउने हुनाले म त जानै पर्ने भयो।
म बसमा चढ्दा मलाई बोर लागेको थियो। तर एकछिनपछि एकजना दिदी मेरो छेउको सिटमा बस्नुभयो। कस्तो संयोग! म र दिदी एउटै स्कुलमा पढ्ने रहेछौ। म कक्षा छ, दिदी एघार। हामीसँगै कुरा गर्दागर्दै त हामी लमजुङ पुगेछौँ। हामी बेसीशहरको होटेलमा बाँस बस्यौ र हामी त्यहाँ युएनओ खेल्यौँ।
भोलिपल्ट हामी दोर्दी गाउँपालिकाको कार्यालय गयौँ। तर त्यस्तो सजिलै गरी कहाँ जान सक्यौँ र? हामी त गाडीको पछाडि पट्टि उभिँदै गयौँ। सुरुमा त मलाई पछाडि पट्टि उभिन मन थिएन तर दिदी उभिनुभयो, त्यसैले मलाई पनि उभिन मन लाग्यो। दोर्दी गाउँपालिकाको कार्यालयदेखि हामी माझगाउँसम्म जाने बाटो त खत्तम थियो। बाटो त एक घण्टाको थियो तर मलाई एक दिनजस्तै लाग्यो।
हामी माझगाउँमा डुल्यौँ। गाउँको जीवन कस्तो थियो भनेर बुझ्ने मौका पायौँ। त्यहाँ त स्वास्थ्यचौकी २ घण्टा पर रहेछ। त्यहाँ त छुवाछुत पनि हुँदो रहेछ। अनि स्कुल पुग्न लगभग ३ देखि ४ घण्टा लाग्दो रहेछ। एउटा कक्षामा अधिकतम १० जना विद्यार्थी थिए। त्यहाँ कक्षा ७ मा दश जना र कक्षा २ मा दुई जना विद्यार्थी रहेछन्। हरेक घरबाट एक न एकजना रोजगारीको लागि विदेश पनि गएका रहेछन्। गाउँको जीवन दुःख-कष्टले भरिएको पो रहेछ।
त्यसपछि हाम्रो यात्रा मर्स्याङ्दी तिर लाग्यो। मर्स्याङ्दी जाने बाटो एकदम राम्रो थियो। त्यहाँ नेपालको चर्चित महिला भकुन्डो खेलाडी साबित्रा भण्डारी ‘साम्भा’ को नाममा एउटा चौक पनि रहेछ। मर्स्याङ्दी नदीको सुमधुर आवाज सुनेर म मस्त भएँ। त्यहाँ मैले कुकुरको छाउरोसँग मज्जाले खेलेँ।
हामी मर्स्याङ्दीबाट घले गाउँ गयौँ। हामीले घले गाउँबाट लमजुङ हिमाल, सुन्दर हिमाल र अन्नपूर्ण-४ हिमाल देख्यौँ। त्यहाँ घले गाउँमा हाम्रो यात्रा टुङ्गियो।
(यूदाइ उ राउत जेम्स स्कुलको कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन्।)