सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मेरो देश नेपाल निर्वाचनमय बनेको छ। निर्वाचन लोकतन्त्रको मुटु हो। निर्वाचनले हाम्रो अधिकारको रक्षा गर्छ। यही फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन हुन गइरहेको छ। निर्वाचनलाई सफल बनाउने जिम्मेवारी हामी सबै नागरिकको हो।
निर्वाचन गराउने जिम्मेवारी निर्वाचन आयोगको हो। निर्वाचन आयोगले हामी सबैको मन जितेको छ। त्यसैले निर्वाचन निष्पक्ष र स्वच्छ ढंगले हुन्छ भन्ने कुरामा हामी सबै विश्वस्त छौँ। निष्पक्ष निर्वाचनमा जनताले ढुक्कले मतदान गर्न पाउँदछ। निर्वाचनलाई सफल बनाउने जिम्मा सबै नागरिकको पनि हो। निर्वाचनको महत्त्वलाई बुझेर मतदाताले हाम्रा नभई राम्रा व्यक्तिको छनौट गर्नु पर्दछ। कोही कसैको लोभ लालचमा फस्नु हुँदैन। छनौट भएको सही व्यक्तिले जनतालाई आइ परेको दुख सुखमा साथ दिन्छ। देशमा सुशासन कायम राख्न सहयोग गर्दछ।
निर्वाचनमा जनताले कति विश्वास गरेको छ भन्ने उम्मेदवारले पाएको मतबाट स्पष्ट हुँदछ। एक मतले पनि हारजितको हुँदछ। त्यसैले मतदान गर्न कसैले पनि छुटाउनु हुँदैन। आफ्नो मतलाई बदर हुन दिनु हुँदैन। धेरैभन्दा धेरै भोट खस्नको लागि निर्वाचनको प्रचारप्रसार गर्नु पर्दछ। अबिर माला लगाएर मलाई भोट दिई जिताउनुहोस् भन्दै घर घरमा आइरहेको छ। हामी जस्तो सानो बच्चा पढ्ने विद्यालयको वरिपरि पनि ठुलो आवाजमा कराउँदै र गीत बजाउँदै आउँदछ। जसले हाम्रो पढाइलाई पनि असर गरिरहेको छ। त्यसैले विद्यालय नजिकै ठुलो आवाजले नारा नलगाउँदा र गीत नबजाउँदा राम्रो हुन्छ।
सामाजिक सञ्जालमा एक आपसमा गाली गर्ने, आरोप लगाउने र एआईबाट भिडियो बनाई आफूलाई राम्रो देखाउने गरेको देखेको छु। यस्ता सामाग्रीले कोही व्यक्तिलाई फाइदा पुगे पनि हामी बच्चाको कलिलो दिमागलाई पनि असर पार्दछ। त्यसैले यस प्रकारका सामाग्रीहरू हाल्नु अगाडि मेरो पनि छोराछोरी, नातिनातिना छन् भनी सोच्नु पर्दछ। यी भिडियोहरू निर्वाचनपछि सम्म रहिरहेको हुँदछ। त्यसैले सोचेर, जानेर र बुझेर मात्रै कुनै पनि निर्वाचन सम्बन्धी सामाग्रीहरू शेयर गर्नु पर्दछ।
निर्वाचन बारे थप जानकारी चाहिएमा टोल फ्री नम्बर ११०२ मा सम्पर्क गरौँ।
निर्वाचनमा हामी सबै जुटौँ र आफूले सक्ने सहयोग गरी निर्वाचनलाई सफल बनाऔँ।
(आरभ कर्माचार्य ऐपेक्स लाइफ स्कुल, सरस्वतीनगर, चाबहिलको कक्षा- २ मा अध्ययनरत विद्यार्थी हुन्।)