म र मेरो भाइ सहरमा हुर्किए पनि हामीलाई गाउँ असाध्यै मन पर्छ। सहरमा त चराचुरुङ्गी उडेको टाढैबाट मात्र देखिन्थ्यो ।
यसपालि गाउँ जाँदा हामीले एउटा नयाँ साथी पायौँ। हाम्रो खेल्ने ठाउँमा पुरानो गोठ छ । नजिकै सानो कुनामा चरीले चिटिक्क परेको गुड बनाएकी थिई।
काठमाडौँको इँटा र सिमेन्टका पर्खालहरूबीच हुर्किएका म र मेरा भाइका लागि गाउँको बसाइ सधैँ एउटा उत्सव झैँ हुन्छ। यसपालि पनि गाउँ जाँदा उसको खुसीको सीमा थिएन। तर, यो खुसी धेरै दिन टिक्न सकेन। एउटा चराको गुड, साना अण्डा र एउटा घातक गुलेलीले मेरो भाइको कलिलो म अशान्त बनाए को छ । कहिल्यै नमेटिने एउटा घाउ छोडेर गएको छ ।
गाउँ पुगेको भोलिपल्टै उसले आफ्नो खेल्ने ठाउँ नजिकै एउटा सानो चराको गुड फेला पारेको थियो। "दिदी, हेर न चराको घर!" ऊ खुसीले बुलुर्क उफ्रियो । त्यो दृश्य अहिले पनि मेरो आँखामा झलझली आउँछ। सहरमा तस्बिरमा मात्र देखिने चरालाई यति नजिकबाट देख्दा ऊ दंग थियो।

हामी दुवै मिलेर त्यो चरीलाई कनिका दिने गर्थ्यौँ। भाइ त झन् घण्टौँसम्म ऊ बसेको ठाउँमा कनिका छरेर टाढैबाट हेरिरहन्थ्यो। चराले अण्डा पारेको दिन त उसको खुसीको ठेगान नै थिएन। उसले ती दुईवटा साना अण्डालाई आफ्नै सम्पत्ति झैँ माया गर्थ्यो र "अब यसबाट साना बच्चा निस्कन्छन्" भन्दै योजना बनाउँथ्यो। गाउँमा अरू साथी नभएर पनि होला हामी चरासँगै भुल्यौ ।
दिनहरू राम्रै बितिरहेका थिए। तर, एक दिन अचानक त्यो चरा गुडमा देखा परेन। धेरै बेरसम्म प्रतीक्षा गर्दा पनि चरी नफर्किएपछि भाइकोले सोध्यो । "दिदी, चरी किन आएन?" उसको यो प्रश्नको उत्तर मसँग पनि थिएन। मनमा शंका उब्जियो।
हामीले यताउता खोज्यौँ। खोज्दै जाँदा नजिकैको खेतमा जे देख्यौँ, त्यसले हाम्रो मुटु चिसो बनायो। हामीसँगै खेल्ने र कनिका खाने त्यो चरी रक्ताम्मे अवस्थामा ढलेको थियो। उसको शरीरमा प्राण थिएन। चराको मृत शरीरको छेउमा एउटा गुलेली लडिरहेको थियो। कसैको एकैछिनको 'निशाना' र 'रमाइलो' ले एउटा निर्दोष प्राणीको संसार नै उजाडियो।
आफूले माया गरेको साथीलाई त्यो अवस्थामा देख्दा भाइ भावविह्वल भयो। उसका ती निर्दोष आँखाहरू आँसुले भरिए। उसले गुडमा भएका ती दुईवटा अण्डालाई हेर्यो, जो अब कहिल्यै चरा बन्न पाउने थिएनन्। सहरमा प्रविधि र मोबाइलमा झुम्मिने भाइले गाउँमा आएर जीवन र मृत्युको यति कठोर पाठ सिक्नुपर्ला भन्ने मैले सोचेकी थिइनँ।
"दिदी, अब यी अण्डाहरू के होला?" उसले निराश हुदै सोधेको यो प्रश्नले मलाई निरुत्तर बनायो। एउटा गुलेलीको प्रहारले चरा मात्र मरेन, मेरा भाइको प्रकृतिप्रतिको एउटा सुन्दर विश्वास पनि टुट्यो।
आज मेरो भाइ उदास छ। ऊ फेरि गुडमा जाँदैन, किनकि त्यहाँ अब चरा छैन, केवल रित्ता अण्डाहरू र एउटा नमिठो सम्झना मात्र बाँकी छ।
प्रकृति सबै प्राणीको साझा हो । यी साना जीवहरूप्रति हामी संवेदनशील हुन पर्छ । तब त चरालाइ नजिकबाट देख्न पाइन्छ ।
- श्रृङ्खला सुवेदी ग्रिनफिल्ड एजुकेसन फाउण्डेसन, बाफलमा कक्षा ७ मा पढ्छिन्।