सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मार्च २०२३ मा बेलायत आउनुभन्दा पहिले नै मैले यहाँको संसद् भवनबारे ड्याडीबाट केही कुरा सुनेको थिएँ। उहाँले त्यहाँका ठुला बैठक कोठा, राजा–रानीका तस्बिर र संसदका बारेमा सुनाउँदा म अचम्म मान्थेँ। नेपालमै हुँदा पनि म कहिलेकाहीँ कल्पना गर्थेँ— भित्र कस्तो होला? म त्यहाँ कहिल्यै पुग्न पाउँछु त?
१६ फेब्रुअरी २०२६ को दिन हाम्रो डार्टफोर्ड नेपाली समाजले स्थानीय जनप्रतिनिधिको सहयोगमा डार्टफोर्डमा बस्ने नेपाली मूलका ४० जना बालबालिका र १० जना अभिभावकका लागि संसद् भ्रमणको योजना बनायो। त्यो खबर सुन्दा मेरो खुसीको सीमा नै रहेन। लाग्यो, मेरो पुरानो सपना अब साँचो हुँदैछ।
हामीलाई लिन बस बिहान ८ बजे आउने थियो। त्यसैले म ७ बजे नै उठेँ, दाँत माझेँ, तयार भएँ र ७:४५ बजे आमासँग घरबाट निस्किएँ। बस स्टपमा पुगेपछि म झन् चकित भएँ। मैले सोचेको थिएँ, बस सायद साधारण होला। तर त्यो त धेरै ठुलो र आरामदायी रहेछ। भित्र माथि रातो बत्ती बलिरहेको, सिट बेल्ट, सिटमा हात राख्ने ठाउँ, पर्दा र बिचमा सानो शौचालय पनि रहेछ। हामीहरूले धेरै गीतहरू गायौँ र हामीहरूलाई मन पर्ने गीतसमेत बजाउन मिल्ने रहेछ!
म र मेरा साथीहरू छिट्टै पछाडिको सिटमा बस्न दौडियौँ। म बिचको सिटमा परेँ। बस चालक पनि निकै मिलनसार हुनुहुन्थ्यो। डार्टफोर्डदेखि वेस्टमिन्स्टर पुग्न करिब दुई घण्टा लाग्यो। म झ्यालबाट बाहिर हेर्दै सोचिरहेको थिएँ— आज त साँच्चै मेरो सपना पूरा हुँदैछ।
संसद् भवन बाहिरबाट हेर्दा निकै भव्य र महत्त्वपूर्ण देखिन्थ्यो। भित्र छिर्नुअघि सुरक्षा जाँच गर्नुपर्यो। कोट र झोला खोलेर जाँच गरायौँ।
केही बेरपछि हामीलाई सानो यन्त्र दिइयो, जुन हेडफोनजस्तो देखिन्थ्यो। त्यसबाट हामीले हाम्रो गाइडको आवाज स्पष्ट सुन्न सक्थ्यौँ। उहाँको नाम रुबी थियो। उहाँ शान्त र दयालु स्वभावकी हुनुहुन्थ्यो र हामीलाई सजिलै बुझ्ने अङ्ग्रेजी भाषामा सबै कुरा बताइदिनु हुन्थ्यो।
हामीले धेरै सुन्दर कोठाहरू घुम्यौँ। भित्ताभरि आकर्षक बत्ती र सजावट थियो। पहिलो कोठामा प्रसिद्ध संसद् सदस्यहरूका मूर्ति थियो। त्यहाँ हामीले पहिलो महिला सांसदका बारेमा पनि थाहा पायौँ। अनि दोस्रो विश्वयुद्धका बेला भवनको केही भाग बमले क्षति पुगेको र त्यसका केही चिन्ह (भग्नावशेष) आज पनि देख्न सकिने कुरा सुन्दा मलाई अचम्म लाग्यो। यति पुरानो भवन अझै प्रयोगमा हुनु गर्वको कुरा जस्तो लाग्यो।
त्यसपछि अर्को कोठामा हामीले पुराना राजा–रानीका ठुला र सुन्दर चित्रहरू पनि देख्यौँ। जसमा रानी एलिजाबेथ, राजा चाल्स आठौँ, ब्रल्डी म्यारी, हेन्री पाँचौँ लगायतका थिए।
अर्को कोठामा सांसदहरू बस्ने लामो बेन्चहरू र बोल्दा प्रयोग गर्ने माइक्रोफोनहरू थिए। जसमा हाउस अफ कमन्स (द ग्रिन च्याम्बर)/ हाउस लर्ड (द रेड च्यम्बर) थिए। त्यहाँ अवस्थित २३.५ केरेटबाट निर्मित राजा-रानी बस्ने आसनको बारेमा सुन्दा मलाई रमाइलो अनुभूति भयो। अन्तिम कोठामा विशेष समारोहका लागि प्रयोग गरिने भव्य कुर्सीहरू देख्दा त झन् राजसी वातावरण महसुस भयो।
भ्रमणको अन्त्यमा हामीले रुबीलाई धन्यवाद दियौँ, हेडफोन फिर्ता गर्यौँ र सामूहिक फोटो खिच्यौँ। त्यहाँ पुग्न पाएकोमा मलाई निकै गर्व र खुसी लाग्यो।
बाहिर निस्कँदा झोलामा आमाले राखिदिनु भएको पास्ता भेटेँ। धेरै भीड भएकाले म सावधानीपूर्वक खान थालेँ। मेरा केही साथीहरूले पनि आफ्ना खाजा खाइरहेका थिए।
फर्किँदा यस पटक पछाडिको सिट पाइनँ तर मेरो सिट पनि आरामदायी नै थियो। सुरुङभित्र जाँदा बसभित्रका निला बत्तीहरू झन् चम्किरहेका देखिन्थे। हामीले फेरि गीत बजायौँ र तस्बिरहरू खिच्यौँ।
साँझ घर फर्किँदा म थाकेको थिएँ तर मन भने अत्यन्तै खुसी थियो। राति ओछ्यानमा सुत्दा म मुस्कुराउँदै सोचिरहेको थिएँ— नेपालमा बसेर देखेको सपना आज लन्डनमा पूरा भयो। यो दिन म कहिल्यै बिर्सिने छैन। नेपालको संसद् भवन भर्खरैको आन्दोलनमा जलेको देखेको थिए। अब नयाँ भवनमा यहाँ भ्रमण गरे जसरी कुनै दिन अवलोकन गर्न पाउँ।

(१० वर्षे अभिनव साउद बेलायतको डार्टफोर्डमा अवस्थित वेस्टगेट प्राइमरी स्कुलको कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन्।)