सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मैले पहिला किताब सुनेँ। पछि पढ्न पनि थालेँ। अहिले पनि सुत्ने बेला बाबा र आमाले मलाई कथा सुनाउनुहुन्छ। मसँग अहिलेसम्म २२० वटा किताब छन्। म बाबासँग राजेश अंकलको न्युरोड बुकस्टोर, राम अंकल र आन्टीको पाँचपोखरी अनि रमण अंकलको एडुकेशनल बुकमा गइराख्छु। बाबाले उहाँहरूसँग कुरा गर्दागर्दै म धेरै किताब त्यहीँ पढिसक्छु र बाबाको पैसा बचाइदिन्छु।
उहाँहरूले मलाई मेरो जन्मदिनमा किताब उपहार पनि दिनुभएको छ। म नेपाली र अंग्रेजी भाषाका किताब पढ्छु। मलाई धेरै किताब मन परेका छन्। मलाई धेरै मन परेका पाँच वटा किताबबारेमा म लेख्दै छु। यहाँ मैले मलाई मन परेका अंग्रेजी किताबको बारेमा लेखेको छैन। किनभने तिनीहरूको बारेमा युट्युबमा र पत्रपत्रिकामा हुन्छ तर यी नेपाली किताबको बारेमा हुँदैन। त्यही भएर म आज यी पाँच किताबको बारेमा लेख्दै छु-
१. बाल विज्ञान
यस पुस्तकका लेखक वैज्ञानिक डा. तीर्थबहादुर श्रेष्ठ र विमललाल श्रेष्ठ हुनुहुन्छ। यो किताब विज्ञानको बारेमा छ। मलाई विज्ञान विषय धेरै मन पर्छ। यस किताबमा ९८ वटा प्रश्नोत्तर छन्। यहाँ चित्र पनि छन्। हाम्रो मनमा लागेको प्रश्नका सजिलो उत्तर यसमा छन्। यो किताब हामी बच्चाले पनि बुझ्न सक्छौँ। यो किताब मैले धेरै पटक पढिसकेँ। यसमा ग्रहगण तारा, बोटबिरुवा, पशुपन्छी, हावा-पानी-माटो, शरीर र प्रविधि गरी ६ खण्ड छन्। किताब मन परेपछि मैले यो किताबको लेखक तीर्थलाई पनि भेटेँ। उहाँ सानेपामा आफ्नो श्रीमती रसायनशास्त्री डा. तिमिला श्रेष्ठसँग बस्नुहुन्छ। उहाँ अहिले ८८ वर्ष जति हुनुभएको छ। यति धेरै उमेरमा पनि उहाँ लेखिरहनु भएको र पढिरहनु भएको थियो। उहाँले लेखेका नेपाल नखुलेका पाटाहरू र अरू किताब पनि बाबासँग छन्। तर ती किताब म पछि पढ्नेछु।
२. धूमधामको घुमघाम
यो किताबको लेखक कनकमणि दीक्षित हुनुहुन्छ। यसमा चित्र सुभाष राईले बनाउनु भएको छ। यो किताब भक्तप्रसाद भ्यागुताको नेपाल यात्राको बारेमा छ। यो किताबमा भक्तप्रसादले काठमाडौँको इचंगुदेखि यात्रा सुरु गर्छ। सात वटा खोलामा बगेर ऊ तराई पुग्छ। त्यहाँबाट चितवन, पोखरा, जोमसोम, लो मान्थाङ, शे गुम्बा पुग्छ। हवाई जहाजमा उडेर काठमाडौँ आउँछ। चक्रपथमा गाडी चढेर घर पुग्छ। यो किताबको कथा एकदमै रमाइलो छ। यो किताब पढ्दा हामीलाई नेपाल कस्तो छ भनेर पनि थाहा हुन्छ।
३. साझा पृथ्वी
यसको लेखक मदनकृष्ण श्रेष्ठ हुनुहुन्छ। यसमा समित श्रेष्ठले चित्र बनाउनु भएको छ। यसमा राजेन्द्र, निर्भीम, गृष्मा, हजुरबा, अचम्म सिंह, भीमे, चक्रे, पुलिस, मुकुन्दे पात्र छन्। यो किताबले हामीलाई जंगलको महत्त्व थाहा दिन्छ। यो पृथ्वी सबै प्राणी, चराचुरुंगीको हो, मान्छेहरूको मात्र होइन भन्ने यसमा लेखिएको छ। यो किताब उपन्यास हो।
४. सुरुङको बाटो
यसको लेखक ब्रजेश हुनुहुन्छ। यसको चित्रकार देवेन्द्र पाण्डे ‘देवेन’ हुनुहुन्छ। यो उपन्यास हो। यसमा ईशान, अभिषेक, अनिशा, कमलकान्त, मधु, ओम, सहवीर जोजफ, मार्फा, बलबहादुरको कथा छ। केटाकेटीले एउटा कटेज जाने बाटोको सुरुङ पत्ता लगाए। यिनीहरू जोमसोमको यात्रा गर्छन्। यसले हामीलाई कोसिस गरियो भने हार हुँदैन भन्ने सिकाउँछ। किताब लामो भए पनि पढ्न एकदमै रमाइलो छ।
५. मेरी दिदी
यस पुस्तककी लेखक आन्विका गिरी हुनुहुन्छ। उहाँले लेखेका आमाले सक्नुहुन्छ, नाक कसरी ठाडो हुन्छ, भाइरसको डर, लिली रिसाएकी छिन्, सिक्दै सिकाउँदै, साथीको न्यास्रो र लिलीले बिर्सिइनन् पनि मैले पढेको छु। मेरी दिदी उपन्यास हो। यसमा भाइ कमल र दिदी आशाको कथा छ। भाइले काम गर्दैन तर दिदीले काम गरेर पढ्नुपर्छ। त्यसैले भाइ जहिले पनि पहिलो हुन्छ र दिदी फेल हुन्छिन्। पछि भाइले काम सघाउँछ। अनि दिदीलाई पढ्नमा सजिलो हुन्छ। यो किताबले छोरा र छोरी दुवैले बराबर काम गर्नुपर्छ र पढ्नुपर्छ भन्ने सन्देश दिन्छ।

(संस्कृत आचार्य काठमाडौँ प्रज्ञा कुञ्ज, मध्य बानेश्वर काठमाडौँको कक्षा ३ मा अध्ययनरत विद्यार्थी हुन्।)