धेरै शब्दहरू लेखिए
धेरै चित्रहरू कोरिए
समय पनि धेरै बितिसकेछ
तर यो पृथ्वीको पुकार कहिल्यै बुझिएन।
पृथ्वी तातेको छ
दिनदिनै भतभती पाकेको छ
रुँदारुँदै थाकेर
फतक्कै गलेको छ।
हामी सन्ततिहरू
कृत्रिम बुद्धिको खोजीमा
लम्पट भएर लागिरहँदा
पृथ्वी भने आफ्ना दिन गनिरहेको छ।
अब कुरा गर्ने समय छैन
अब पर्खिने समय छैन
यो कर्म गर्ने समय हो
आफू होइन धर्तीमातालाई हँसाउन।
धर्तीको न आफ्नो भाषा छ
ममतामयी आमा जस्तै न कुनै चर्को विरोध
हामीले आफैँ बुझ्नु छ
अल्पवृष्टि, अनावृष्टि र जलवायु परिवर्तनका, यी शान्त सन्देशहरू।
थाहा पाउनुको अर्थ बुझ्नु हो
बुझ्नुको अर्थ पालना गर्नु हो
हामी बुझ्ने प्राणी हौँ भने
अब वातावरण मैत्री कर्मले धर्तीलाई मलम लगाऊँ
धर्तीलाई मलम लगाऊँ।
(अनन्य राज सापकोटा ग्लोबल कलिजिएट स्कुल, रानीपौवा, पोखराको कक्षा ६ ‘ग’ मा अध्ययनरत विद्यार्थी हुन्।)