परम्परागत खेती प्रणाली त्यागेर प्रविधि रोजेपछि बाराको फेटा गाउँपालिका-१ त्रिवेणीका पारस ठाकुरले पछाडि फर्कनु परेको छैन।
उनले ६ वर्षदेखि परम्परागत खेती प्रणाली त्यागेर आलु रोप्ने (पोटेटो प्लान्टर) र खन्ने मेसिन (पोटेटो डिगर) प्रयोग गर्दै आएका छन्। त्यसैले उनी अन्य किसानका लागि नमुना बनेका छन्।
आलु लगाउने मेसिनले माटो धेरै थुपारेर ड्याङ बनाउने र उत्पादन राम्रो हुने गरेको उनको अनुभव छ। मेसिनले खन्दा आलुमा चोट शून्य हुन्छ।
‘भारतीय ३७९७ र लल्कार जातको आलु लगाएको थिएँ,’ उनले भने, ‘ढिलो लगाएका कारण १० क्विन्टल प्रति कठ्ठा उत्पादन भयो। मसँगै बिउ लगेर चाँडै लगाएका साथीको १२ क्विन्टल फलेको छ।’
मल र बिउ राखेर मेसिन चलाएपछि ड्याङ पार्ने र रोप्ने काम मेसिनले नै गरिदिन्छ। जनशक्ति लगाएर गर्नेभन्दा छिटो र कम खर्चमा काम हुन्छ। कृषि मजदुर नपाइरहेको समयमा मेसिन लाभदायी बनेको पारसले बताए।
‘एक कठ्ठामा आलु रोपेर माटो पुर्न ४ जनासम्म लाग्छ, ज्यामी पाउँदै पाउँदैन,’ उनले भने, ‘मेसिनले एकैपटकमा रोपिदिन्छ, उत्पादन पनि डेढ गुणा बढी हुन्छ।’
पारसलाई पछ्याउँदै गाउँमा अन्य किसानले पनि आलु खेती गर्दा मेसिन प्रयोग गर्न थालेका छन्। यस वर्ष गाउँमा २५ जना किसानले ५० विघा जमिनमा मेसिन प्रयोग गरेरै आलु खेती गरे।
विगतमा पारसलाई आवश्यक पर्ने मेसिन कृषि औजार अनुसन्धान केन्द्र रानीघाट, वीरगञ्जले उपलब्ध गराउँदै आएको थियो। यस वर्ष उनलाई फेटा गाउँपालिकाले ४ लाख रुपैयाँको आलु खन्ने मेसिन ५० प्रतिशत अनुदानमा उपलब्ध गरायो। खन्ने मेसिन केन्द्रले नै उपलब्ध गराएको थियो।-1774359576.jpg)
फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी प्रविधिमुखी हुने किसानलाई आवश्यक सहयोग गर्न पालिका सधैँ तयार रहेको बताउँछन्।
चैत ९ गते कृषि औजार अनुसन्धान केन्द्रले लगेको अनुगमन टोलीलाई पारसले मेसिनबाट आलु खनेर देखाए।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ३ बिजबनियाका किसानले मल्चिङ प्रविधि प्रयोग गरेर गहुँबाली लगाएका छन्। किसानलाई आवश्यक पर्ने विभिन्न प्रविधिको अनुसन्धान केन्द्रले गर्दै आएको छ।
कृषि औजार अनुसन्धान केन्द्र, रानीघाटका प्रमुख वरिष्ठ वैज्ञानिक सचिन कुमार मिश्रका अनुसार बिजबनियामा ४० विघा खेतमा किसानले मल्चिङ प्रविधिबाट गहुँबाली लगाएका छन्। श्रीराम ३०३ जातको गहुँबालीमा मल्चिङ प्रविधि प्रयोग गर्दा उत्पादन बढेको र रासायनिक मलको प्रयोग घटेको उनको भनाइ छ।
स्थानीय किसान अभय प्रसाद यादवले १६ विघामा मल्चिङ प्रविधिबाट गहुँ लगाएका छन्। एक विघामा ३० देखि ३२ क्विन्टल गहुँ उत्पादन भइरहेको उनले बताए।
‘छर्ने मान्छे, जोत्ने मान्छे पाउँदैन, मेसिन नै चाहिने भइसकेको छ,’ उनले भने, ‘धान काट्न पहिले जिरो टेलर, पछि कम्बाइन्ड हार्भेस्टर आयो, ह्याप्पी टर्बोसिडर पनि प्रयोग गरेका थियौं, पराल त्यसै छोड्ने हुँदा जलाउने गरेका थियौं, यो मल्चिङ प्रविधि आएपछि पराल माटोमै मिलेर मलको काम गरिरहेको छ।’
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, रुपन्देहीका बाली प्रजननकर्ता राजेन्द्र प्रसाद यादवका अनुसार मल्चिङ प्रविधिले गहुँबालीमा झार उम्रन दिँदैन।
‘झारले ९० प्रतिशतसम्म उत्पादन घटाउँछ,’ उनले भने, ‘मल्चिङ प्रविधिले यसलाई शून्यमा झार्छ।’-1774359576.jpg)
श्रीराम ३०३ भारतीय गहुँ हो। बाली प्रजननकर्ता राजेन्द्रले नेपाली जातका गहुँको बिउ प्रयोग गर्दा किसानले निःशुल्क बिउ पाउने र बाली बीमा गराउन समेत मिल्ने हुँदा बढी लाभदायक हुने सुझाव दिए।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद तिमल्सीनाले परीक्षणबाट किसानलाई लाभदायक देखिएका कृषि प्रविधिहरू खरिद गरेर स्थानीय सरकारले किसानलाई उपलब्ध गराउनुपर्ने बताए।
‘अनुसन्धानबाट प्रविधि आयो, किसानलाई फाइदा हुन्छ भने स्थानीय सरकारले अनुदान दिँदा त्यस्ता मेसिनमा दिनुपर्छ। अनि सबै किसानले लाभ लिन पाउनुपर्छ,’ उनले भने।
उनी समेतको टोलीले सोमबार गहुँबालीको स्थलगत अवलोकन गरेको छ।