आरजु राइस मिलले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दै मधेश प्रदेशमा पनि धान उत्पादन सुरू गर्ने सम्भावनाबारे छलफल अघि बढाएको छ।
यसअघि मोरङ, सुनसरी र झापामा किसानसँग सहकार्य गर्दै आएको कम्पनीले अब मधेशमा पनि सोही मोडल लागु गर्ने तयारी गरेको हो।
आरजु राइस मिलका महाप्रबन्धक विवेकानन्द झाले मधेश प्रदेश सरकारसँग प्रारम्भिक छलफल भइसकेको जानकारी दिए।
'हाल हामीले मोरङ, सुनसरी र झापामा किसानसँग सहकार्य गरेर धान उत्पादन गरिरहेका छौं। मधेश प्रदेशले पनि त्यसमा चासो देखाएकाले त्यहाँ पनि उत्पादन विस्तार गर्ने विषयमा छलफल भएको हो,' उनले भने।
उनका अनुसार कम्पनीले किसानलाई धान रोप्नुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिन्छ।
सहकार्य गर्ने किसानले धान काटेर मिलमा ल्याएको २४ घण्टाभित्रै भुक्तानी हुने भएकाले यही मोडल प्रभावकारी देखिएकाले मधेश प्रदेशका मुख्यमन्त्रीसहितका प्रतिनिधि टोलीले स्थलगत अवलोकनसमेत गरेका थिए।
सोही मोडलबाट प्रभावित भई मधेश प्रदेश सरकारले आफ्नो क्षेत्रमा पनि कार्यक्रम सुरू गर्न आग्रह गरेको उनले बताए।
'उहाँहरूले हाम्रो प्रदेशमा पनि यो प्रणाली लागु गरिदिन आग्रह गर्नुभएको छ, त्यसकै आधारमा आज मुख्यमन्त्री, अर्थ तथा उद्योग मन्त्री र संघीय सांसदसँग प्रारम्भिक छलफल भएको छ,' झाले भने।
प्रस्तावित मोडलअनुसार परियोजनाको नेतृत्व तथा व्यवस्थापन कम्पनीले गर्नेछ भने लगानीमा किसानको प्रमुख भूमिका रहनेछ।
कुल लगानीमध्ये ७५ प्रतिशत किसानले र बाँकी २५ प्रतिशत कम्पनी, अन्य उद्योगी व्यवसायी तथा संघसंस्थाले गर्ने प्रस्ताव छ।
किसानले ऋण लिएर लगानी गर्ने भएकाले त्यसको ब्याजमा मधेश प्रदेश सरकारले अनुदान दिने प्रतिबद्धता जनाएको समेत उनले बताए।
यस परियोजनाले मधेश प्रदेशमा कृषिमा आधारित उद्योग विस्तार, किसानको आम्दानी वृद्धि तथा बजार सुनिश्चिततामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।