अहिले बजारमा केराको मूल्य बढेको छ।
भारतीय केरामा प्रतिबन्ध लगाएपछि त्यसको असर हाम्रो बजारमा देखिएको हो।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले केरामा भित्रिएको टिआर–४ रोगका कारण असोजदेखि केरा आयातका लागि प्रवेश अनुमति पत्र दिन बन्द गरिदिएको छ।
'बिरूवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४' अनुसार बिरूवा तथा बिरूवाजन्य उपज आयात गर्न केन्द्रबाट अनिवार्य रूपमा प्रवेश अनुमति लिनुपर्छ।
चितवनको एक केरा फार्ममा टिआर–४ रोग देखिएपछि यसको स्रोत पहिचान गर्न अनुमति रोकिएको हो।
वैधानिक रूपले केरा नआए पनि पछिल्ला चार–पाँच महिनादेखि अवैध रूपमा भित्रिरहेको छ।
माग अनुसार नेपाली उत्पादन नभएकाले केराको मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ काठमाडौंका अध्यक्ष अमर बाँनियाले जानकारी दिए।
'काठमाडौंको बजारमा दैनिक दुई लाख टन खपत हुन्छ। तर अहिले २० हजार टन पनि केरा छैन,' उनले भने।
उनका अनुसार आमाको मुख हेर्ने औंसीका कारण केही समय केराको माग र मूल्य बढेको थियो।
तर अहिले उत्पादन घटेको र खपत पनि कम भएकाले बजार सामान्य अवस्थामा फर्किएको छ।
अहिले बजारमा मुख्य रूपमा स्वदेशी उत्पादन चिनीचम्पा जातको केरा मात्रै उपलब्ध छ, जी– ९ को बजारमा छैन।
गैर–व्यवसायीले ल्याएका ठूला कोसा देखिने भारतीय जी–९ जातको केरामा आफूहरूले बेच्न प्रतिबन्ध लगाएको उनले बताए।
'सरकारले रोग फैलन नदिन प्रतिबन्ध लगाएको छ। त्यो भएर हामी १५ दिनदेखि पूर्ण रूपमा प्रतिबन्ध लगाएको छौं,' उनले भने।
उनका अनुसार नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको आह्वानमा संघ मातहतका व्यवसायीलाई गैर–व्यवसायीले ल्याएका केरा बेच्नमा प्रतिबन्ध लगाइएको हो।
चिनीचम्पा जातको केरा अहिले होलसेलमा प्रति दर्जन १५० देखि १८० रूपैयाँमा कारोबार भइरहेको छ भने उपभोक्ताले गुणस्तरअनुसार २०० देखि २३० रूपैयाँसम्म तिर्नुपरेको छ।
'प्रतिबन्धित भारतीय केरा मनपरी मूल्यमा बेचेका छन्, एकरूपता छैन,' उनले भने।
नाकाबाट अवैध रूपमा केरा भित्रिएको भन्दै व्यवसायीले सम्बन्धित निकायले निगरानी बढाउनुपर्ने बताउँदै आएका छन्।