कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्ला केही दिनयता कागतीको मूल्य उल्लेख्य रूपमा बढेको छ।
बजारमा आपूर्ति कम हुँदा मूल्य आकस्मिक रूपमा उकालो लागेको व्यवसायीहरू बताउँछन्।
कालीमाटीका तरकारी व्यवसायी खोम प्रसाद घिमिरेका अनुसार कागतीको मूल्य बढेको करिब एक सातादेखि दस दिन भइसकेको छ।
माग अनुसारको आयात नभएकाले मूल्य बढेको हो।
नेपालमा कागतीको उत्पादन अत्यन्त न्यून भएकाले बजार आयातमा निर्भर रहनुपरेको उनले बताए।
'हामी कागतीमा परनिर्भर छौं। मागको १० प्रतिशत मात्रै हाम्रो उत्पादन हो। ९० प्रतिशत भारतबाटै आयात हुन्छ,' घिमिरेले भने।
उनका अनुसार भारतमै कागतीको मूल्य वृद्धि भएकाले त्यसको असर नेपाली बजारमा पनि परेको हो।
हाल कालीमाटी बजारमा कागतीको होलसेल मूल्य प्रतिकिलो ४५० रूपैयाँसम्म पुगेको छ।
यद्यपि, केही समयपछि आपूर्ति सहज भएसँगै मूल्य घट्ने अपेक्षा गरिएको व्यवसायीहरू बताउँछन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले भने सोमबार कागतीको होलसेल मूल्य प्रतिकिलो औषत तीन सय ७५ रूपैयाँ देखाएको छ।
यस्तो मूल्य एक महिनाअघि दुई सय ३० रूपैयाँ थियो।