गत मंगलबार १९८० को टेवा परीक्षण गरेर फर्किएको नेप्से आइतबार २०.५४ अंकले घटेर १९९३.३८ बिन्दुमा आइपुगेको छ।
फेरि पनि नेप्से यही बिन्दुको टेवा परीक्षणमा देखिन्छ। यो बिन्दुुबाट नेप्से बढ्न थालेमा अंग्रेजी अक्षरको 'डब्ल्यू' अर्थात् 'डबल बटम' बन्नेछ। यसो भएमा बजार केही समय थप बढ्न सक्छ।
तर, यो टेवा बिन्दु पार गरेमा बजार केही समय घटिरहन सक्छ। हाललाई यो टेवा बिन्दु बलियो देखिएको छ।
बजार घट्नै पर्ने ठोस कारण देखिँदैन। बैंकहरूले दिने लाभांश दर बढेकै छ। अर्थतन्त्रका बाह्य सूचकमा सुधार देखिएकै छ। लगानीकर्ताहरूको मनोबल बढाउने गरी सामान्य नीतिगत व्यवस्था हुन सके बजार वृद्धिको बाटोमा जानेछ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि यस दिन अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ पुगेको छ।
यस दिन २८० वटा धितोपत्रको ३८ लाख ९५ हजार २३६ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ७७१ रुपैयाँ २० पैसा पुगेको छ।
यस्तै, स्वावलम्बन लघुवित्तको सेयर मूल्य ६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार १६६ रुपैयाँ कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा मकर जितुमाया सुरी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयरमूल्य ९.६३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २४३ रुपैयाँ १० पैसामा सीमित भएको छ।
यस्तै, लिवर्टी इनर्जीको सेयरमूल्य ६.३० प्रतिशतले घटेर प्रति कित्ता मूल्य २२३ रुपैयाँमा झरेको छ।
आइतबार एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६९४ रुपैयाँमा ७ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशत घटको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५८ रुपैयाँमा ५ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.२४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले घटेको छ।
यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक १.३६ प्रतिशतले घटेको छ।