असार १५ गतेदेखि लगातार बढ्ने क्रममा रहेको नेप्से सोमबारको कारोबारमा भने घटेको छ।
सात दिन लगातार बढेर एक सय ११ अंक जोडेको नेप्सेले सोमबार २२.३५ अंक गुमाएको छ। केही समयदेखि २७ सयको विन्दुमा नेप्सेले प्रतिरोध सामना गरिरहेको छ।
सोमबार २७१८ सम्म पुगेको नेप्से कारोबारको मध्य अवधिदेखि नै घट्ने क्रममा रह्यो। बजार बन्द हुँदा नेप्से २६८४ विन्दुमा आइपुगेको छ।
सोमबार कारोबार रकम पनि घटेको छ। यसअघिका तीन दिन लगातार नौ अर्ब माथिको कारोबार भएकोमा सोमबार आठ अर्ब ३७ करोड रूपैयाँको कारोबार भएको हो।
सोमबार तीन सय ११ कम्पनीको सेयर कारोबार भएकोमा ६१ वटाको सेयर मूल्य बढेको छ भने दुई सय ४५ वटाको सेयर मूल्य घटेको छ।
माथिल्लो मैलुङ खोलाको यसदिन सेयर मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले बढेर ६ सय ११ रूपैयाँमा कारोबार भइरहेको छ। राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। कम्पनीको तीन सय ८७ रूपैयाँमा अन्तिम कारोबार भएको छ।
सोमबार नेपाल पुनरबीमा कम्पनीको सबैभन्दा धेरै ८० करोड रूपैयाँको कारोबार भएको छ।
त्यस्तै, प्रभु सेलेक्ट फण्डको सबैभन्दा धेरै इकाइको कारोबार भएको छ। फण्डको २१ लाख इकाइ कारोबार भएको हो। अन्तिम कारोबारमा मूल्य ११ रूपैयाँ १० पैसा पुगेको छ।