भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा थुप्रै परिमाणमा नेपाली नोटहरू जलेको देखिन्थ्यो। प्रदर्शनको क्रममा अहिलेसम्म कति नोट जले भनेर राष्ट्र बैंकले यकिन गरिसकेको छैन। बजारमा निकै ठूलो मात्रामा नेपाली नोट जलेको अनुमान भइरहेका छन्।
यो क्रममा कतिपयले बजारमा नोटको अभाव हुन्छ कि भन्ने आशंका गर्न थालेका छन्।
तर, यस्तो नहुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। राष्ट्र बैंकका एक अधिकारीले भने, ‘राष्ट्र बैंकले छापेर आएका सबै नोट बजारमा (प्रणाली)मा पठाएको हुँदैन, केही स्टक समेत हुन्छ, त्यसैले नोटको अभाव हुँदैन।’
राष्ट्र बैंकको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनले २०८१ असारसम्म बजारमा ६ खर्ब ९० अर्ब रूपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको देखाएको थियो। त्यही अवधिमा राष्ट्र बैंकले बजारमा नपठाएर स्टकमा एक खर्ब ४५ अर्ब रूपैयाँ बराबरको नोट रहेको उल्लेख गरेको थियो।
जबकी राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको वतमान आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले गत असारसम्म चलनचल्तीमा ६ खर्ब ५५ अर्ब रूपैयाँ बराबरको नोट रहेको देखाएको छ।
यस आधारमा राष्ट्र बैंकसँग अहिले पनि कम्तिमा एक खर्ब ८० अर्ब रूपैयाँ बराबरको नोट स्टकमा हुनसक्ने देखिन्छ। राष्ट्र बैंकका ती अधिकारी पनि बजारमा नोटको अभाव नहुने बताउँछन्।
हुनतः राष्ट्र बैंकले बजारबाट काम नलाग्ने अवस्थामा पुग्न लागेका नोट पनि संकलन गरेर ब्रिकेट बनाउने गर्न थालेको छ। यो बीचमा यसरी काम नलाग्ने अवस्थामा कति नोट प्रणालीबाट राष्ट्र बैंक फर्किएको पनि हुनसक्छ।
राष्ट्र बैंकले किन लिन्छ काम नलाग्ने अवस्थामा पुग्न लागेका नोट?
राष्ट्र बैंकले बजारबाट काम नलाग्ने अवस्थामा पुग्न लागेका नोट समेत लिएर साटिदिन्छ। यसमा दुई कारण रहेको छ। पहिलो सर्वसाधारणमा रहेको सम्पत्ति त्यतिकै नास नहोस् भन्ने उदेश्य हो।
एक अधिकारीले भने, ‘नोटमा नै यस रूपैयाँको भुक्तानी माग्न आएमा राष्ट्र बैंकबाट सो नोट तुरून्त पाइने छ लेखिएको हुन्छ, यसको उदेश्य पनि सर्वसाधारणको सम्पत्ति जोगाउनु हो।’
तर, राष्ट्र बैंकले यदि कुनै मुद्रा क्षति भएको छ भने त्यसको कम्तीमा ५० प्रतिशतभन्दा धेरै भाग बचेको छ र सटहीको लागि आएको छ भने मात्रै दिने गरेको छ। एउटै नोट पटक पटक गरेर राष्ट्र बैंकमा सटहीको लागि आइनपुगोस् भन्ने उदेश्यले समेत यस्तो गरिन्छ।
यस्ता पुराना, च्यातिएका नोट लिनुको अर्को कारण पनि छ।
नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्न पर्यो भने त्यसका लागि उसले धितो राख्नुपर्छ। सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र, सिक्का वा नेपाल सरकारले जारी गरेका ऋणपत्र धितोको रूपमा राखिएको हुन्छ। तर, यी धितो कसैलाई बुझाउनुपर्ने हुँदैन।
यसको मतलब के भने बजारमा चल्ने नोट बराबर मूल्यको सम्पत्ति राष्ट्र बैंकसँग सुरक्षित छ भन्ने सुनिश्चितताको लागि यसरी धितो राखिएको हुन्छ।
राष्ट्र बैंक लगायतका केन्द्रीय बैंकहरूले मनलाग्दी पैसा नछापुन, मूल्य वृद्धि नियन्त्रण गर्ने र पैसाको व्यवस्थापन गरेर मौद्रिक लक्ष्य पूरा गर्ने उद्देश्यले पनि यस्तो गरिएको हुन्छ।
राष्ट्र बैंक ऐनअनुसार बजारमा चलनचल्तीमा रहेको नोट बराबरको सम्पत्ति धितो राख्नैपर्छ। त्यसमध्ये कम्तीमा ५० प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा वा विदेशी धितोपत्रमै हुनुपर्छ। बाँकी भाग सिक्का वा नेपाल सरकारले निकालेका ऋणपत्र र प्रतिज्ञापत्रबाट राख्न सकिन्छ।
यदि बजारमा माग बढ्न थाल्यो भने राष्ट्र बैंकले आफुसँग रहेको नोट प्रणालीमा पठाउने मात्रै गर्दैन् थप नोट समेत छाप्छ। कोभीड पछि बैंकिङ च्यानलमार्फत् पैसाको प्रवाह बढाउन राष्ट्र बैंकले करिब दुई खर्ब बराबर नोट छापेरै पठाएको थियो।
आवश्यकता पर्दै जाँदा राष्ट्र बैंकले केही वर्षको अन्तरालमा चलनचल्निमा रहेको पैसा बढाउने, नयाँ नोट छाप्ने पनि गर्दै जान्छ। नेपालका नोटहरू चीन, जर्मनी, स्विडेन, बेलायत, नेदरल्यान्ड, क्यानडा, फ्रान्स, रुस, इन्डोनेसियालगायतका मुलुकहरूमा छापिन्छन्।
यो पनि : के प्रदर्शन क्रममा जलेका नोटहरू साटिन्छन्?