कर्जाको माग नभएर बैंकिङ प्रणालीमा थुप्रिएको पैसा पटक-पटक गरेर तानिरहेको राष्ट्र बैंकले पछिल्लो समय ऋणपत्र मार्फत् एक वर्षकै लागि पैसा तानिरहेको छ।
यसरी एक वर्ष लामो अवधिको लागि पैसा राख्न पनि बैंकहरू तछाडमछाड गरिरहेका छन्।
राष्ट्र बैंकले पुस १४ र १६ गते दुई पटक २५-२५ अर्ब बराबरको ऋणपत्र जारी गरिसकेको छ। तर दुवै पटक मागभन्दा बढी रकम बैंकहरूले राख्ने प्रस्ताव गरेका छन्।
पहिलो पटक एक खर्ब २० अर्ब रूपैयाँ र दोस्रो पटक ५१ अर्ब रकम राख्न बैंकहरूले प्रस्ताव गरे।
कुल एक खर्ब ७१ अर्बमध्ये राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ राखेको छ।
बैंकहरूले यस्तो ऋणपत्रमा २.६४ प्रतिशत हाराहारी ब्याजदर पाइरहेका छन्।
आज (आइतबार) पनि राष्ट्र बैंकले एक वर्षको लागि २५ अर्ब रूपैयाँको ऋणपत्र जारी गरिरहेको छ।
आखिर किन बैंकहरू न्यून ब्याजदरमै यसरी एक वर्षको लागि राख्न तयार भइरहेका छन् त?
एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य भन्छन्, 'हामी जस्ता बैंकसँगै अहिले कर्जा दिएर दैनिक ५० अर्ब बराबर रकम फाल्टु रहने गरेको छ, अझै एक वर्ष कर्जा लगानी अपेक्षित दरमा विस्तार हुने सम्भावना छैन।'
आगामी फागुनमा हुनसक्ने आसन्न निर्वाचनपछि कर्जाको माग केही बढ्न सक्ने भएपनि बढ्दो रेमिटेन्सको कारण बैंकमा निक्षेपको वृद्धिदर उच्च नै रहने बैंकरहरूको अनुमान छ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बढी भएको रकम तान्न प्रयोग गर्ने अन्य उपकरण निकै छोटो अवधिको हुने गरेको र सार्वजनिक बिदाको दिन यस्ता उपकरण जारी नहुने भएकोले पनि बैंकहरू ऋणपत्रमै भए पनि लगानी गर्न तम्सिएका हुन्।
अर्का एक बैंकर भन्छन्, 'राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ प्रणालीबाट पैसा तान्ने अन्य उपकरण जारी गर्दैन, त्यस्तो दिनमा बैंकहरूसँग रहेको पैसाबाट कुनै पनि ब्याज आर्जन हुँदैन, त्यसैले ऋणपत्रमा आकर्षित भइरहेका हुन्।'
कर्जा पनि अपेक्षित दरमा नगइरहेको र वर्षमा ५०-६० दिनभन्दा भन्दा बढी बिदा पर्ने भएकोले कम समयका उपकरणमा राख्दाभन्दा ऋणपत्रमा रकम राख्दा नै ब्याज आम्दानी धेरै हुने भएकोले ऋणपत्रमा बैंकहरू बढी आकर्षित भएका हुन्।
राष्ट्र बैंकले पटक पटक गरेर जारी गर्ने ऋणपत्रमार्फत बैंकिङ प्रणालीबाट दुई खर्ब रूपैयाँ तान्ने योजना बनाएको छ। अहिले बैंकिङ प्रणालीमा ११ खर्बभन्दा धेरै कर्जा लगानी योग्य रकम थुप्रिएको छ।
राष्ट्र बैंकले ऋणपत्र बाहेक तीन-तीन दिनको लागि स्थायी निक्षेप संकलन र केही लामो अवधिको लागि निक्षेप संकलन उपकरणमार्फत् बैंकिङ प्रणालीबाट पैसा तानिरहेको छ।
यी उपकरणमा बैंकहरूले २.४७ प्रतिशतदेखि ३ प्रतिशत ब्याजदर पाइरहेका छन्।
यी विभिन्न उपकरणमार्फत् अहिले बैंकहरूले पुस १७ गतेसम्म राष्ट्र बैंकमा आठ खर्ब ८८ अर्ब रूपैयाँ राखिरहेका छन्।