अमेरिकाले लगातार दोस्रो दिन इरानमाथि सैन्य हमला गरेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले बुधबार साँझ ५:१५ बजे (अमेरिकी समय) देखि इरानका धेरै लक्ष्यमाथि हमला गरिएको जनाएको छ।
सेन्टकमले यो कारबाही इरानको अनुचित र निरन्तर आक्रामकताप्रतिको प्रतिक्रिया भएको जनाएको छ।
दक्षिणी इरानका हवाई प्रतिरक्षा प्रणाली, रडार प्रणाली तथा ड्रोन कमान्ड र नियन्त्रण इकाइहरूलाई लक्ष्य गरेर हमला गरिएको हो।
'अमेरिकी मरीन कोर्प्स, वायुसेना र नौसेनाले अमेरिकी फौज तथा क्षेत्रीय समुद्री मार्ग हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय व्यापारिक जहाजलाई खतरा पुर्याउने इरानी लक्ष्यमा उच्च–सटीकता भएका हतियार प्रयोग गरिएको छ,' सेन्टकमले भनेको छ।
यसैबीच, इरानले पनि अमेरिकी हमलाको जवाफस्वरूप प्रतिक्रिया सुरु गरेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै कडा जवाफ दिने चेतावनी दिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी)ले अमेरिकी हमलापछि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। उसले यो घोषणा तत्कालै लागू हुने पनि बताएको छ।
इरानले बुधबार राति बहराइनस्थित अमेरिकी नौसेनाको कमान्ड सेन्टर फिफ्थ फ्लिटमाथि ड्रोन आक्रमण गरेको थियो। यद्यपि ती ड्रोनले कुनै लक्ष्यमा प्रहार गरे वा नगरेको तत्काल स्पष्ट हुन सकेन। बहराइनको गृह मन्त्रालयले भने एक्समार्फत साइरन बजाइएको पुष्टि गरेको छ।
यसअघि मंगलबार पनि अमेरिकाले इरानका रडार र हवाई प्रतिरक्षा केन्द्रहरूमा हमला गरेको थियो। त्यो हमला अमेरिकी हेलिकप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप गरिएको बताइएको थियो।
अमेरिकी अधिकारीहरूका अनुसार सम्झौताको ढोका खुला रहोस् भन्नका लागि अमेरिकाले मानवीय क्षति नहुने गरी हमला गरेको थियो।
इरानले त्यसपछि अमेरिकी सैन्य अड्डातर्फ सीमित संख्यामा मिसाइल र ड्रोन प्रहार गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिउँसो वार्तामा इरानले अमेरिकालाई मुर्ख बनाइरहेको आरोप लगाउँदै केही न केही निर्णय तत्काल लिनुपर्ने अवस्थामा पुगेको बताएका थिए।
त्यसअघि उनले राष्ट्रिय सुरक्षा टोलीसँग सैन्य विकल्पबारे छलफल गरेका थिए।
दुई अमेरिकी स्रोतका अनुसार बैठकमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, सीआईए निर्देशक जोन र्याट्क्लिफ, संयुक्त सैन्य प्रमुख ड्यान केन तथा ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकोफ सहभागी थिए।
रक्षा मन्त्री पिट हेगसेथ भने फ्लोरिडास्थित सेन्टकम मुख्यालयबाट भर्चुअल रूपमा सहभागी भएका थिए।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सेन्टकम मुख्यालय भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै 'आज राति सेन्टकम निकै व्यस्त हुनेछ, किनभने हामी इरानलाई कडा प्रहार गर्दैछौं' भनेका थिए।
हेगसेथले इरानसँग अझै पनि सम्झौता गर्ने अवसर रहेको तर उनीहरू सम्झौतामा आउन इच्छुक नदेखिएको बताए।
उनले यो हमला युद्ध पुनः सुरु गर्न नभई सम्झौताका सर्त तय गर्न गरिएको बताएका थिए।
'यदि बममार्फत वार्ता गर्नुपर्छ भने हामी बममार्फत नै वार्ता गर्छौं,' उनले भनेका थिए, 'हामी आज राति उनीहरूलाई कडा प्रहार गर्नेछौं र आशा छ इरानले सही निर्णय लिनेछ।'