इभान जेलिसा भुसाल दिनभर खुसीसाथ बिताउँछिन्। खेल्छिन्, रमाउँछिन्। तर रातमा निद्राबाट ब्युँझिएर 'आयो, आयो' भन्दै कराउने र चिच्याउने गर्छिन्।
कहिलेकाहीँ त उनी निद्रामै जुरूक्क उठेर हिँड्न थाल्छिन्।
आफ्नी ९ वर्षीया छोरीको यस्तो व्यवहार देखेर आमा रविना थापा भुसाललाई डर छ — निद्रामा हिँड्दा कतै छोरी लड्ने त होइन?
यही डरले छोरी उठेको थाहा पाउनेबित्तिकै रविना आफू पनि सँगसँगै उठ्छिन्।
'ऊ उठेको चाल पाउनेबित्तिकै म पछि-पछि गएर समाउँछु,' उनले भनिन्, 'कहिलेकाहीँ चाहिँ जुरूक्क उठेर ओछ्यानमै टोलाएर बसिरहन्छे।'
उनले अगाडि थपिन्, '९ वर्षको हुँदासम्म छोरीको यस्तो व्यवहार कहिल्यै थाहा पाएकी थिइनँ। आजकाल उसको व्यवहार देखेर डर लाग्न थालेको छ।'
सुकुम्बासी बस्तीबाट विस्थापित भएर इचंगु अपार्टमेन्टमा आश्रित हुन आइपुगेकी उनलाई यहाँको बसाइकै कारण यस्तो भएको हो कि लाग्छ। तर यसलाई पुष्टि गर्ने कुनै आधार उनीसँग छैन।
रविना र उनकी छोरीलाई सरकारले नागार्जुन नगरपालिका–१ स्थित इचंगु अपार्टमेन्टमा एउटा कोठा दिएको छ।
यहाँ आएदेखि इभानको व्यवहारमा अर्को एउटा परिवर्तन पनि देखिएको छ। उनी सडकमा डोजर देख्यो कि आत्तिन्छिन् र सोध्छिन्, 'यो डोजर कसको घर भत्काउन आएको हो आमा?'
उनलाई डोजरले घर भत्काउने काम मात्र गर्छ भन्ने लाग्छ। उनले यस्तो सोच्नुका पछाडि कारण छ।
वैशाख १२ गते यस्तै डोजर आएर आफ्नो घर भत्काउँदै गर्दा रविना र उनकी छोरी मौनदर्शक बनेर हेर्न विवश थिए। त्यही दृश्यले छोरीको मनमा डर बसेको होला भन्ने रविनालाई लाग्छ।
तर वास्तवमा के भएको हो र उपचारका लागि कहाँ जाने भन्नेबारे अहिलेसम्म केही सोच्न नसकेको उनी बताउँछिन्।
इभान जेलिसा मात्र होइन, भक्तपुरको चाँगुनारायण नगरपालिका–६ स्थित होल्डिङ सेन्टरमा बसिरहेकी १२ वर्षीया सोनु हुमागाईंको पनि यही हाल छ।
उनी पनि अचेल सुतिरहेकै बेला जुरूक्क उठेर टोलाउँछिन् र एकोहोरो सिलिङतिर हेरेर बस्छिन्।
छोरी उठेको थाहा पाएपछि बुबा प्रेमबहादुर र आमा माया हुमागाईं पनि उठ्छन्। उनीहरू छोरीलाई एकछिन अँगालोमा बाँधेर, टाउको थपथपाउँदै फेरि सुताउने कोसिस गर्छन्।
त्यसपछि दम्पती पालैपालो उठेर छोरीलाई हेर्ने गर्छन्।
'छोरीको यस्तो अवस्था देख्दा अचम्म लागेको छ। पहिला त यस्तो गरेको थाहा पाएका थिएनौं,' ५० वर्षीय प्रेमबहादुरले भने, 'दुई साता भयो छोरीले यस्तो व्यवहार गरेको।'
उनका अनुसार शंखमूलको सुकुम्बासी बस्तीमा छँदा छोरीको स्वभाव बेग्लै थियो। त्यहाँ उनी पढ्ने, साथीहरूसँग घुलमिल हुने र खेल्ने चञ्चले स्वभावकी थिइन्। वैशाख १८ गते सरकारले बस्तीका घरहरू भत्काइदिएपछि उनको स्वभाव बदलिएको हो।
'केही दिनसम्म त त्यही पीरले दुःखी भएकी होली भन्ने लागेको थियो। तर एक महिना बितिसक्दा पनि छोरीको अनुहारमा खुसी देख्न पाएको छैन,' प्रेमबहादुरले भने।
उनका अनुसार भक्तपुरको होल्डिङ सेन्टरमा सरकारले दिएको कोठा ठिकठिकै छ। एउटा कोठामा तीनवटा खाट छन्। छोरीलाई बीचको खाटमा सुताइन्छ, दायाँ-बायाँ आमाबुबा सुत्छन्। राति बेलाबेला ब्युँझिँदा उनीहरू छोरीतिरै हेर्छन्। कतै छोरी जुरूक्क उठेर बसिरहेकी त छैन भन्ने उनीहरूलाई डर लागिरहन्छ।
'पहिला त यस्तो थिइन, अचेल किन हो छोरी एकोहोरो टोलाउने भएकी छे,' सोनुकी आमा मायाले भनिन्, 'के भएको हो, हामी त हेरेको हेर्यै भइरहेका छौं।'
प्रेम हुमागाईं आफै पनि बिरामी छन्। उनको खुट्टामा रड राखिएको छ। उनकी श्रीमतीको पनि एउटा आँखामा समस्या छ। चस्मा प्रयोग गर्दा पनि राम्ररी देख्दिनन्।
बुढेसकालको सहारा त्यही छोरी थिइन्, तर अचेल उनको व्यवहार देखेर दम्पतीको मन पोल्न थालेको छ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेकी ५१ वर्षीया पुनम खपांगी मगर पनि १३ वर्षीय नाति आयुष मगरले देखाएको फरक व्यवहारले डराउन थालेकी छन्।
'राति डोजर आयो भन्दै झसंग-झसंग हुन्छ,' उनले भनिन्, 'कहिलेकाहीँ त ठूलो स्वरले चिच्याउँदै उठ्छ।'
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्दा आयुष रातभरि निदाउन नसकेपछि र थापाथलीको स्कुल छाड्न पनि नमानेपछि उनीहरूले पहिलेको सुकुम्बासी बस्ती छेउमै एउटा साँघुरो कोठा लिएका छन्। अहिले आयुष आफ्ना आमाबुबासँग त्यहीँ बस्छन्।
आयुष त्यहाँ पनि राति तर्सिने र चिच्याउने गर्छन्। घरहरू भत्काइएको केही दिनदेखि नै यस्तो व्यवहार गर्न थालेको पुन बताउँछिन्।
'घर भत्काएको डर हो वा रोग हो थाहा छैन,' उनले भनिन्, 'के भयो भनेर अचम्म मानिरहेका छौं।'
आयुषले घर भत्काइएकै ठाउँमा त्रिपाल हालेर बस्ने ढिपी पनि गरिरहन्छन्। त्यहीँ जन्मे-हुर्केकाले होला, उनलाई त्यो ठाउँ छाड्न रत्तिभर मन छैन।
यी त केही उदाहरण मात्र हुन्। इचंगु अपार्टमेन्ट, खरिपाटी र नगरकोट होल्डिङ सेन्टरमा रहेका अन्य बालबालिकामा पनि यस्तै समस्या देखिएको छ। होल्डिङ सेन्टरहरूसँग यसको यकिन तथ्यांक भने छैन।
हामीले कुरा गरेका अभिभावकहरूका अनुसार होल्डिङ सेन्टरका धेरै बालबालिकामा एक्लै चुपचाप बस्ने, एकोहोरो टोलाइरहने र साथीहरूसँग घुलमिल नहुने समस्या देखिएको छ।
घर भत्काइनुअघि सामान्य रहेका बालबालिकामा पछि यस्तो फरक व्यवहार देखिनुको कारणबारे हामीले मनोचिकित्सकहरूसँग कुरा गरेका छौं।
मनोचिकित्सक भुपेन्द्रसिंह गुरूङका अनुसार आफ्नो घर भत्किएको देख्नु र एक्कासि स्कुल, साथी तथा ठाउँ परिवर्तन हुनुले बालबालिकाको मानसपटलमा गहिरो असर पुग्छ। तर यस्तो समस्या देखिनेबित्तिकै आत्तिहाल्न हुँदैन।
यस्ता असर सुरू भएको दुई सातादेखि एक महिनाभित्र आफै निको हुने सम्भावना रहन्छ। त्यो अवधिमा पनि निको भएन, समस्या झन् बढ्दै गयो वा स्वभावमा सुधार आएन भने मात्र चिकित्सकलाई देखाउनुपर्ने उनी बताउँछन्।
'यस्ता संकेत देखिँदैमा मानसिक रोग नै हो भन्न मिल्दैन, तर यसलाई नजरअन्दाज पनि गर्न हुँदैन,' उनले भने, 'यसका लागि कान्ति अस्पतालमा बाल मनोचिकित्सकहरूसँग परामर्श लिने कक्षा नै छ, त्यहाँ गएर बुझ्न सकिन्छ।'
बालबालिकाहरू आफैमा संवेदनशील हुन्छन्, उनीहरूमा साना कुराले पनि छिट्टो परिवर्तन देखिन्छ। त्यसैले समयसँगै यो समस्या निको हुँदै जाने उनी बताउँछन्।
तर बालबालिकाको मनोरोग आफै निको हुन्छ भनेर कुरेर मात्र बस्न नहुने उनको सुझाव छ। यसका लागि सरकारले जहाँ-जहाँ घर भत्काएको छ, त्यहाँका बालबालिकाको तथ्यांक संकलन गरी चिकित्सकहरूको टोली खटाएर उनीहरूको व्यवहार र स्वास्थ्यको रेखदेख गराउनुपर्छ।
उनका अनुसार एक्कासि नयाँ ठाउँमा बस्नुपर्दा उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा असर पुगेको हुन सक्छ। त्यसैले चिकित्सकहरूलाई स्थलगत रूपमै लगेर बालबालिका तथा किशोर-किशोरीहरूसँग घुलमिल गराउने र उनीहरूका कुरा सुन्ने वातावरण मिलाउनुपर्ने डा. गुरूङ बताउँछन्।
बालबालिकाको थेग्ने क्षमता फरक-फरक हुन्छ। कसैले यस्तो घटनालाई सामान्य रूपमा लिन्छन् भने कोही मानसिक रूपमा विक्षिप्त बन्छन्। यी कुरामा सरकारले विशेष ध्यान दिएर उनीहरूको दैनिकी सहज बनाउनुपर्छ। सरकारले बालबालिका र वृद्धवृद्धाका लागि खानपिन, बास र शिक्षाको उचित व्यवस्थापन गरेको भने देखिन्छ।
मनोवैज्ञानिक विशेषज्ञ स्नेहा अग्रवाल चौधरीका अनुसार सुकुम्बासी बस्तीहरू भत्काइएपछि त्यहाँका बालबालिकालाई नयाँ ठाउँमा घुलमिल हुन र पहिलाजस्तो रमाउन नसकेका कारण पनि यस्ता समस्या देखा परेका हुन सक्छन्।
साथै, अत्यधिक गर्मीका कारण पनि बालबालिकाहरू राति एक्कासि जुरूक्क उठ्ने, टोलाउने र हिँड्ने गरेको हुन सक्छ। त्यसैले यसलाई तुरून्तै मनोरोग नै भनिहाल्न पनि सकिँदैन र हुँदै होइन भन्न पनि मिल्दैन।
'यस्तो देखिनु मनोरोगको सुरूआती लक्षण हुन सक्छ, तर यतिलाई मात्र आधार मानेर रोग नै लागेको भन्न मिल्दैन,' उनले भनिन्, 'प्रत्यक्ष रूपमा भेटेर, कुराकानी गरेर र व्यवहारको अवलोकन गरेर मात्र यसबारे यकिन गर्न सकिन्छ।'
उनका अनुसार घर भत्काइएको र नयाँ ठाउँमा बस्नुपरेका कारण बालबालिकाको मनमा चोट लागेको हुन सक्छ। उनीहरूले लामो समयसम्म यो व्यवहार दोहोर्याएनन् भने बिस्तारै आफै निको हुन्छ। यही व्यवहार लामो समयसम्म दोहोरिरह्यो वा झन् बढ्न थाल्यो भने समयमै उपचार गर्दा निको हुन्छ।
यस्ता समस्या देखिएका बालबालिकाका अभिभावकले विशेष ध्यान दिनुपर्ने चौधरीको सुझाव छ। उनीहरूसँग समय बिताउने, घुलमिल हुने, नयाँ कुराहरू सिकाउने र बाहिर घुमाउन लैजानुपर्ने उनी बताउँछिन्।