एकल दलको सरकार बन्ने निश्चित देखिएसँगै उत्साहित बनेको सेयर बजारको गति अहिले पूर्णतः उल्टिएको छ। नजिकको उच्च विन्दु २९६० अंकसम्म पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार २६२१ अंकमा झरेको छ।
यो करिब ११ प्रतिशत अर्थात् ३३८ अंकको गिरावट हो।
सरकार गठनको राजनीतिक निश्चिततापछि बजारमा देखिएको उत्साह धेरै टिक्न सकेन। यसैबीच सार्वजनिक भएको बजेटले लगानीकर्ताको अपेक्षा पूरा गर्न नसकेपछि बजारमा निराशा थपिएको विश्लेषण गरिएको छ।
त्यसपछि बजार लगातार दबाबमा रहँदै २६०८ अंकसम्म झरेको थियो। बीचमा केही सुधारको प्रयास देखिए पनि त्यो दिगो बन्न सकेन।
मंगलबार मौद्रिक नीति सार्वजनिक हुने अपेक्षाले बजारमा केही सुधार देखिएको थियो। तर राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्टै बजार ३० अंकले घट्यो।
यसले लगानीकर्ताले नीतिबाट अपेक्षा गरे अनुसार प्रोत्साहन नपाएको संकेत गरेको छ।
कोभिड–१९ महामारीपछि अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले बजेटले लिएको भन्दा पनि आक्रामक मौद्रिक नीति अवलम्बन गरेको थियो। त्यस बेला सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा, तरलता सहजता र विभिन्न नियामकीय छुटमार्फत अर्थतन्त्रमा पैसाको प्रवाह बढाइएको थियो।
तर त्यसपछिका वर्षहरूमा विदेशी मुद्रा सञ्चितिमाथि दबाब बढ्न थालेपछि राष्ट्र बैंक विस्तारवादी नीतिबाट क्रमशः पछि हट्दै गयो। यस वर्ष भने राष्ट्र बैंकले अझ स्पष्ट रूपमा सरकारलाई नै आर्थिक गतिविधि विस्तारको नेतृत्व गर्नुपर्ने सन्देश दिएको देखिन्छ।
राष्ट्र बैंकको बुझाइमा अहिले बैंकिङ प्रणालीमा लगानी योग्य खर्बौं रूपैयाँ तरलता उपलब्ध छ। ब्याजदर पनि ऐतिहासिक रूपमा न्यून तहमा झरेको छ। यस्तो अवस्थामा थप मौद्रिक सहजता आवश्यक नभएको निष्कर्षमा राष्ट्र बैंक पुगेको देखिन्छ।
अर्थात्, अर्थतन्त्र चलायमान बनाउने जिम्मेवारी अब मुख्यतः सरकारको वित्तीय नीति, विकास खर्च र संरचनात्मक सुधारमा निर्भर रहने संकेत मौद्रिक नीतिले दिएको छ।
तर सेयर बजारले यो सन्देशलाई सकारात्मक रूपमा लिन सकेको छैन। लगानीकर्ताहरूले राष्ट्र बैंकबाट कर्जा विस्तार, मार्जिन कर्जा, पुँजी बजारमैत्री व्यवस्था वा थप नीतिगत सहुलियतको अपेक्षा गरेका थिए।
ती अपेक्षा पूरा नभएपछि बजारमा बिक्री दबाब बढेको विश्लेषण गरिएको छ।
बजारमा अहिले सबभन्दा ठूलो समस्या लगानीकर्ताको कमजोर आत्मविश्वास बनेको ब्रोकरहरू बताउँछन्। उनीहरूका अनुसार बैंकमा प्रशस्त तरलता भए पनि त्यो सेयर बजारसम्म पुग्ने वातावरण बनेको छैन।
'अहिले लगानीकर्ताको सम्पत्तिको मूल्य लगातार घटिरहेको छ। बजारमा पैसा प्रवेश नगरेसम्म दिगो सुधार आउन गाह्रो हुन्छ,' एक ब्रोकरले भने, 'नीतिगत रूपमा पनि लगानीकर्ताको मनोबल बढाउने सन्देश आवश्यक थियो। अहिले त्यस्तो अनुभूति हुन सकेको छैन।'
सेयर बजारमा लगानीकर्ताहरूको सम्पत्ति ५ खर्ब रूपैयाँ घटेर ४५ खर्ब रूपैयाँ भएको छ।
हुन त बुधबार नै प्रधानमन्त्री बालेन शाहले व्यवसायीहरूसँग भेटघट गरेका छन्। यो सरकार बनेपछि प्रधानमन्त्रीसँग व्यवसायीहरूको पहिलो भेट हो।
व्यवसायीहरूले आफूहरूको खस्किएको मनोबलमा सुधार भएको बताइरहेका छन्। यो भेटको खबरका बाबजुद सेयर बजार बुधबार घट्ने क्रममा थियो।
व्यवसायीहरू प्रधानमन्त्रीको भेटपछि आश्वस्त हुन सकेको देखिएमा बिहीबार बजारमा सुधारको अपेक्षा गर्न सकिन्छ।