कर्णाली राजमार्ग 'मृत्यमार्ग'मा बदलिएको भन्दै प्रतिनिधिसभामा सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएको भोलिपल्ट, मंगलबार साँझसम्म पनि त्यहाँ ६ दिनदेखि सडकबाट गुल्टिएर कर्णाली नदीमा बेपत्ता भएको गाडी र त्यसमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन।
साथै कर्णाली राजमार्गको सुरक्षासँग जोडिएका प्रश्नहरूको समेत तत्काल समाधान भइहाल्ने र यातायात सुरक्षित हुने भरपर्दा संकेत मिलिसकेका छैनन्।
असार १८ गते बिहीबार सुर्खेतबाट कालीकोट जाँदै गरेको सानो यात्रुवाहक गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको भिरबाट करिब ४०० मिटर तल खसेको थियो।
गाडीबाट खसेर कर्णाली किनार नजिकै भेटिएका एक यात्रुको उपचारको क्रममा ज्यान गयो।
तर चालक सहचालक र अन्य दुई सहित अन्य चार जना गाडीसँगै नदीमा हराइरहेका छन्। उनीहरूको खोजी मंगलबार साँझसम्म जारी थियो।
कर्णालीको साँघुरो खोँच
'खोजी कार्यमा आवश्यक उपकरणसहित सेना, सशस्त्र प्रहरीसँगै प्रहरी पनि लगातार जुट्नुभएको भएको छ, तर अहिलेसम्म केही भेटिएको छैन,' दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले मंगलबार साँझ सेतोपाटीसँग भने।
उनले थपे, 'गाडी अत्यन्त साँघुरो खोँच परेको स्थानमा नदीमा खसेकोले खोज्न कठिन भइरहेको छ। पानी धमिलो र बेग निकै ठूलो भएकोले गोताखोरलाई पनि गाह्रो भइरहेको छ।'
दुर्घटनास्थलमा खटिएका सशस्त्र प्रहरी बल एपिएफका डिएसपी मातृका पौडेलले भने, 'हामीले पानी भित्र हेर्ने सोनार क्यामरा, गाडी खोज्ने म्याग्नेट, ड्रोन क्यामरा लगायत उपकरण प्रयोग गर्दा पनि केही प्रगति हुन सकेको छैन। कर्णालीमा बाढी आएकोले खोज्न मुस्किल परिरहेको छ।'
खोजी कार्यमा कर्णाली प्रदेश सरकारको अगुवाइमा हेलिकप्टर समेत प्रयोग गर्दै दुर्घटनास्थलदेखि बर्दिया कैलाली सिमानामा पर्ने कर्णाली चिसापानी क्षेत्रमा समेत अवलोकन गरिएको थियो। तैपनि गाडी र हराइरहेका यात्रुको कुनै निशाना भेट्न नसकिएको प्रजिअ सारूले बताए।
सानो यात्रुवाहक गाडीमा ५ जना मात्र यात्रु रहेको परिवारजनबाट थाहा भए पनि त्यो संख्या अझै बढी हुन सक्ने चिन्ता छ। त्यो सवारीमा रहेका यात्रुको संख्याबारे सुर्खेतदेखि दैलेखसम्म कुनै पनि प्रहरी वा ट्राफिक प्रहरीले यकिन विवरण नराखेको देखिएको छ।
बिहीबार ११ः३० बजेतिर सडकबाट करिब ४०० मिटर तल खसेर नदीमा बेपत्ता भएपछि मात्र खोजी तथा उद्धार कार्य सुरू भएको थियो।
'मृत्युमार्ग' को व्यथा
सुर्खेतदेखि जुम्ला जोड्ने करिब २३६ किलोमिटर लामो कर्णाली राजमार्ग वा त्यसका अन्य साखा मार्गमा कैयन मानिसको ज्यान जाने गरी घातक सवारी दुर्घटना भएको यो पहिलो घटना होइन।
यसै साता, गत आइतबार मात्र कर्णालीकै डोल्पामा जिप दुर्घटनामा परी एक जनाको मृत्यु भयो भने ११ जना घाइते भए।
सुर्खेतलाई जुम्लासँग जोड्ने कर्णाली राजमार्गको पहेँलो धर्सो झन्डै २० वर्षअघि कोरिएको थियो। त्यसयता सुस्तरी स्तरोन्नति हुँदै गरेको त्यो बाटोमा अनगिन्ति सवारी दुर्घटना भइसकेका छन् जसमा परेर सैयौं मानिसको ज्यान गइसकेको छ। हजारौं घाइते भएका छन्, अपांगता भोगेका छन्।
नेपालमा सडक दुर्घटनामा परी दैनिक कम्तीमा ७ जनाको ज्यान जान्छ। यो दर एसिया महादेशकै उच्च हो।
नेपाल प्रहरीका अनुसार कर्णालीमा दैनिक तीनभन्दा बढी सवारी दुर्घटना भइरहेका छन्। तिनमा परी दैनिक ६ जनाभन्दा घाइते हुने तथ्यांक छ।
गत आर्थिक वर्ष कर्णालीमा झन्डै १ हजार सवारी दुर्घटना भए। तिनमा झन्डै १४० जनाको ज्यान गयो। यो आर्थिक वर्षमा पनि प्रदेशको सडक सुरक्षाको नियति उस्तै वा त्योभन्दा खराब देखिन्छ। किनभने अघिल्लो महिनासम्म भएका १ हजार बढी दुर्घटनामा १२० जना बढीले ज्यान गुमाइसकेका छन्।
सडक दुर्घटनाका घाइते वा अपांगता भएकाहरूको पीडा प्रायः सञ्चारमाध्यमहरूमा छाउँदैन।
दैलेखमा कर्णाली नदीमा खसेको यात्रु गाडीको अत्तोपत्तो नभएको बेला कर्णाली राजमार्गसँग जोडिएका पीडा सोमबार प्रतिनिधिसभा बैठकमा पोखिए।
'मृत्यु राजमार्ग' को हविगतबारे सरकारको जबाफ आउने क्रम चल्दै गर्दा कर्णाली किनारमा मंगलबार साँझ पनि ५५ भन्दा बढी सुरक्षाकर्मी खोजी कार्यमा जुटिरहेका थिए।
प्रश्न उठ्छ — कर्णालीमा हराइरहेको सानो 'फोर्स' नाम गरेको गाडी कहिले भेटिएला? गाडी र यात्रुको खोजी अझै कति दिन चल्ने होला?
किनभने धेरै नेपालीले बिर्सिन नसेकका केही दुखान्त यस्ता छन्।
२०८१ असारमा चितवनको सिमलतालमा लेदो बाढीसँगै बगेका दुई ठूला बस र तिनमा सवार यात्रु सबै अझै भेटिएका छैनन्। २०८२ पुसमा बसका केही टुक्रा मात्र भेटिए।
करिब १० वर्षअघि चितवन जिल्लाकै त्रिशुली नदीमा भएको अर्को दुखान्त आफन्त र परिवारजनका लागि झनै पीडादायक छ। २०७३ असोजमा मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किने क्रममा पूर्वगृहमन्त्री एवम् पूर्वमुख्य सचिव माधव घिमिरे आफैले चलाएको गाडी कुरिनटार नजिकैबाट त्रिशुलीमा खस्यो। उनी आफ्ना दुई भाइ र आमासहित बेपत्ता भए। उनीहरूको शव आजसम्म भेटिएको खबर छैन।
कर्णाली राजमार्गको भविष्य
नेपाल सरकारले कर्णाली राजमार्गलाई राष्ट्रिय राजमार्गको दर्जा दिएर NH58 नामाकरण गरिसकेको छ। भविष्यमा त्यसलाई भारतीय सिमानामा पर्ने जमुनाहा नाकादेखि हुम्लाको लिमी क्षेत्रमा रहेको चीन–तिब्बत नाकासम्म जोड्ने महत्वाकांक्षी लक्ष्य लिइएको छ।
गत वर्ष जेनजी आन्दोलनपछि बनेको सरकारका वन तथा वातावरण मन्त्री माधव चौलागाईंको जन्म कर्णालीकै जुम्लामा भएको थियो। पछि यातायात तथा पूर्वाधार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका चौलागाईंको अनुभवमा सडकको धर्सो कोर्न थालिएको २० वर्ष बितिसक्दा पनि 'कर्णाली नाम मात्रको राजमार्ग हो'।
'कर्णाली राजमार्गलाई मृत्यु राजमार्ग भनिन्छ। सडकको अवस्था हेर्दा यो यथार्थ हो किनभने अधिकांश स्थानमा यो बाटो अझै पनि एक लेनको निकै साँघुरो छ। स्तरोन्नतिमा विगतका सरकारहरू र दाताको ध्यान कर्णालीमा जान सकेन,' पूर्वमन्त्री चौलागाईंले भने।
उनले पूर्वाधार मन्त्रालय सम्हाल्दा त्यो अवस्था बदल्ने कोसिस गरेका थिए। फलतः अहिले बनेको नयाँ सरकारले कर्णाली राजर्मागको लागि छुट्टै उपशीर्षकमा करिब १ अर्ब रूपैयाँ बजेट छुट्ट्याए पछि उनी अब कर्णालीको बाटोको अवस्था सुध्रिन थाल्नेमा आशावादी बनेका छन्।
'दुई अर्ब भए झनै राम्रो हुने थियो। तर त्यसको आधाले पनि धेरै सुधार्न सकिएला,' उनले भने।
चौलागाईं कर्णाली राजमार्गलाई जीवनमार्गमा बदल्न पाँच काम अनिवार्य रूपमा तत्कालै गर्नुपर्नेमा जोड दिन्छन्।
पहिलो – कर्णालीमा गुड्न सबै सवारी साधनको अनिवार्य यान्त्रिक परीक्षण वा फिटनेस टेस्ट।
दोस्रो – राजमार्ग किनारमा सबै स्थानका घुम्तीमा दुर्घटना रोक्ने धातुवा ढुंगाका पर्खाल वा खम्बा अर्थात क्र्यास ब्यारियर निर्माण।
तेस्रो – खाल्डाखुल्डी छल्ने क्रममा समेत सवारी साधन चिप्लिएर खस्ने जोखिम कम गर्न द्रुत मर्मतसम्भारको व्यवस्था।
चौथो – जोखिमयुक्त स्थानमा तत्काल पहिरो पन्छाउन गह्रौं उपकरण नेपालगञ्जबाट झिकाउनुपर्ने अवस्था अन्त्य गर्दै तिनलाई कर्णालीमै राख्ने तत्काल व्यवस्था।
पाँचौं – सवारी दुर्घटनाको खबर लगत्तै प्राथमिक उपचार, खोजी तथा उद्धारका लागि कर्णालीमै सुरक्षाकर्मीको द्रुत प्रतिक्रिया टोलीको तैनाथी तथा परिचालनको अविलम्ब व्यवस्था।
दैलेखका प्रजिअ पूर्वमन्त्री चौलागाईंसँग सहमत सुनिए।
भने, 'ती सबै काम जरूरी छन्। सबभन्दा पहिले चाहिँ यहाँका सबै राजमार्ग र साखा सडकमा अनिवार्य रूपमा क्र्यास ब्यारियरको निर्माण गर्न सकियो भने मात्र पनि दुर्घटना कम हुन्छन् र मानिसको ज्यान बचाउन सकिन्छ,' उनले भने।
यो पनि पढ्नुहोस् - धादिङ बस दुर्घटनाले बजाइदिएको खतराको घन्टी!
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal