उर्मिला लोध २८ वर्षकी भइन्।
कक्षा ६ पढेर स्कुल छाडेकी उनको बिहे हुँदा १८ वर्ष मात्र पुगेकी थिइन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ लम्तिहवाकी उनको बिहे सोही पालिकाको महिलवार गाउँका युवकसँग भएको थियो।
उनले बिहेपछिका कुनै दिन सुख पाइनन्। मदिराको कुलतमा फसेका श्रीमान दिनभर गाउँमा समय बिताउँथे। साँझ मदिराले लडखडाएका खुट्टा टेक्दै घर पुग्थे।
उर्मिलाको दिन खेतीकिसानी र घरधन्दामा बित्थ्यो। दिनभरिको कामले थकित उर्मिला श्रीमानका रूखा बचन सुनेर रात बिताउँथिन्।
बिहेको दुई वर्षमा उनी आमा बनिन्। छोरी एक वर्षकी मात्र पुगेकी थिइन्, उर्मिलाको जीवन कहालीलाग्दो मोडमा आयो।
एक दिन, मदिराको नशामा लट्ठिएका श्रीमानले आफैमाथि आगो लगाए। त्यो आगोको लप्कासँगै उर्मिलाको सपना खरानी भयो। उनका श्रीमानको छटपटिँदै ज्यान गयो।
'श्रीमानको मृत्युपछि धेरै मानसिक पीडा पाएँ। समाज र परिवारको विभेदपूर्ण व्यवहार पनि सुरू भयो,' उर्मिलाले सुनाइन्।
श्रीमानको मृत्युपछिका केही महिना उर्मिलाले जसोतसो घरमै बिताइन्। बिस्तारै त्यो घर बिरानो हुन थाल्यो।
उनलाई लाग्यो —यो घर अब मेरो होइन!
घरको ढोका बन्द भएपछि माइतीको ढोकामा पुग्नुबाहेक उनका अगाडि विकल्प थिएन।
‘जब आफ्नै घरले पराया बनाउँछ, तब महिलाले भोग्ने पीडा नाप्न सकिँदैन,’ उनी भन्छिन्, ‘आफ्नै परिवारका मान्छे आफ्ना हुन छाडेपछि मात्र मैले बुझेँ, आत्मनिर्भर नभएसम्म घरपरिवार र समाजमा महिलाको कुनै अस्तित्व छैन।’
पढाइमा मन नलागेपछि स्कुल जान छाडेकी उर्मिलाले बिहेअघि सिलाइकटाइ सिकेकी थिइन्। उध्रिएका कपडा सिलाउन सक्ने भए पनि आफैले कपडा काटेर सिलाउने सीप थिएन।

घर छाडेर माइती आएपछि उनले ६ महिना तालिम लिइन्।
अनि माइती घरको बरन्डामा मेसिन राखेर सिलाई व्यवसाय चलाइन्। १५ हजार रूपैयाँ लगानीमा सुरू यही काम आज उनको दैनिकी धान्ने आधार बनेको छ।
कपडाका टुक्रा सियो र धागोले जोडेजस्तै उर्मिला आफ्नो टुक्रिएको मन जोड्न खोज्दै छिन्।
‘कपडा सिलाएर धेरै आम्दानी गर्नेभन्दा पनि मलाई दिन बिताउन पुगेको छ। दिदीबहिनीहरू कपडा छोड्न र लिन आउँदा केही समय भए पनि कुराकानी गरेर मन हल्का हुन्छ। काम गरेपछि दुई–चार रूपैयाँ पनि हातमा पर्छ,’ उनी भन्छिन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका भए पनि लम्तिहवा रूपन्देहीको दुर्गम मानिने मर्चवार क्षेत्रमा पर्छ। लोध र हरिजन समुदायको बाक्लो बसोबास रहेको लम्तिहवामा त्यसअघि कपडा सिलाउने ठाउँ थिएन। उर्मिलाले सीप सिकेपछि गाउँका महिलाहरू कपडा सिलाउन उनकै घर पुग्छन्। उर्मिला ज्याला पनि धरै लिन्नन्।
‘गाउँमा कपडा सिलाएको धेरै पैसा तिर्दैनन्। बजारतिर कुर्ता–सुरूवाल सिलाएको ५–६ सय रूपैयाँ लिन्छन्। म ३ सय रूपैयाँ मात्र लिन्छु,’ उनले भनिन्।
उनी खेतीपातीको समयमा दिउँसो खेतकै काम गर्छिन्। साँझबिहान कपडा सिलाउँछिन्। चाडपर्व र बिहेको सिजनमा कपडा सिलाइबाट १५–१६ हजार रूपैयाँसम्म कमाइ हुन्छ।

उनकी छोरी अहिले आठ वर्ष पुगिन्। छोरीलाई निजी स्कुल पढाउने मन भएको तर गाउँमा नभएकाले आफ्नी दिदीको घरमा राखेर पढाइरहेको उनले बताइन्।
'मेरो पनि पढाइ पनि भएन, सानैमा बिहे भयो। तर छोरीलाई धेरै पढाउँछु,' उनले भनिन्, 'सानैमा बिहे गर्दा धेरै मानसिक र शारीरिक समस्या हुन्छ।'
घरपरिवारसँग धेरै लडेर पाएको श्रीमानको भागको अंशबाट छोरीलाई राम्रो शिक्षा दिने उनी बताउँछिन्।
अहिले आफ्नो कामबाट सन्तुष्ट उनलाई अलिकति बढी पैसा भने चाहिएको छ— एउटा बिग्रिएको मेसिन बनाउन र पिको र इन्टरलक मेसिन किन्न।
'अब यसकै लागि मेहनत गरिरहेकी छु,' उर्मिला भनिन्।
उर्मिला सामाजिक काममा पनि सक्रिय छिन्। उनी 'किशोरी अधिकार मञ्च, रूपन्देही' की सदस्य हुन्। उनलाई 'दिदीबहिनी' नामक संस्थाले आर्थिक र मनोसामाजिक सहयोग गर्दै आएको छ। व्यवसाय बढाउन १० हजार रूपैयाँ सहयोग गरेको छ। त्यसैलाई बिउ पुँजी बनाएर सिलाई व्यवसाय बढाउने उनको योजना छ।