कान्तिपुर, अनलाइनखबर लगायतका सञ्चार गृहको गेटअगाडि ६ घन्टाभन्दा बढी शंकास्पद ढंगले पार्क गरिएका गाडीलाई प्रहरीले कुनै अनुसन्धान नै नगरी ट्राफिक जरिवाना मात्र तिराएर छाडेको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित प्रतिपक्षी दलहरूले प्रेसलाई त्रसित पार्न खोजेको यो घटनालाई 'शंकास्पद' भन्दै छानबिन माग गरेका भए पनि सरकारले बिनाअनुसन्धान घटना 'डिसमिस' पारेको छ।
सोमबार बिहानैदेखि कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको गेट अगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएको घटना सुनियोजित ढंगले भएको देखिएको छ। सोमबारै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि पनि यसैगरी गाडी पार्क गरिएको भेटिएको थियो। त्यस्तै, भाटभटेनी सुपरस्टोर अगाडि पनि कसैले अनधिकृत रूपमा गाडी पार्क गरेर छाडेको थियो।
यति मात्र होइन, आइतबार न्यूरोड क्षेत्रमा गरिएका जथाभाबी गाडी पार्किङले सहरको मुख्य बजारको आवागमन प्रभावित भएको थियो।
आइबार र सोमबारको घटना एकै प्रकृतिको देखिएकाले एकै समूहबाट गराइएको हुन सक्ने आशंका गरिएको छ। कसले कुन प्रयोजनका लागि जथाभाबी गाडी पार्क गर्ने काम गर्यो भन्ने पत्ता लगाउन पनि प्रहरीले यो घटनामा विस्तृत छानबिन अघि बढाउनुपर्थ्यो।
तर मिडिया र सर्वसाधारणलाई आतंकित पारेको र सबै राजनीतिक दलले छानबिन माग गरेको यस्तो घटनामा पनि सरकार अनुसन्धानबाट पन्छिएको छ। न्यूरोडमा आइतबार र सञ्चार गृहहरूमा सोमबार भएको घटना एकै समूहबाट गरिएको हो कि होइन पत्ता लगाउने आवश्यकता पनि सरकारले महसुस नगरेको देखिएको छ।
यो घटनामा कान्तिपुरको गेट अगाडि रोकिएको बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी रास्वपाकै केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा रहिसकेका रवि जयसवालको भएको खुलेको थियो।
यसले सत्ता निकटकै व्यक्तिहरूबाट मिडियालाई आतंकित बनाउन उक्त घटना गराइएको हुनसक्ने बलियो आधार देखिएको थियो।
यति मात्र होइन, मिडिया हाउस र बजारमा अनधिकृत रूपले गाडी राखिएका घटना सार्वजनिक हुँदै जाँदा रास्वपाका निवर्तमान केन्द्रीय सदस्य मधुसुदन ढकालले 'अव्यस्थित पार्किङले गाह्रो पर्छ भन्ने सांकेतिक जानकारी दिएको हुनसक्ने' भनेर फेसबुकमा लेखेका थिए।
रास्वपाले वक्तव्य निकालेर भर्त्सना गरेपछि उनले पनि आफूले नागरिक तहबाट सोचेको भनेर प्रस्टीकरण दिएका थिए।
यसरी रास्वपाकै नेताको संलग्नता र धारणाले पनि सरकारप्रति शंका उब्जिएको यो घटनालाई अनुसन्धानबिनै डिसमिस पारिँदा थप शंका उब्जाएको छ।
हुन त सुरूकै घटनाक्रम हेर्ने हो भने सरकारले यसमा अनुसन्धान गर्ने लक्षण देखाएको थिएन।
घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले यसबारे अनुसन्धान हुने बताएका थिए।
प्रहरी टोली घटनास्थल गइसकेको र अनुसन्धान गरेर गाडीधनीहरू पत्ता लगाइने उनको भनाइ थियो।
तर पछि ती गाडीमा कुनै शंकास्पद विस्फोटक वस्तु फेला नपरेकाले ट्राफिक प्रहरी कार्यालय पठाइएको उनले जबाफ दिए।
'सूचना प्राप्त हुनासाथ सबै मिडिया हाउसमा टोली खटायौं। टोलीले सुरूमा ती गाडीमा विस्फोटक पदार्थ छ कि छैन भनेर जाँच गर्यो। शंकास्पद वस्तु वा विस्फोटक पदार्थ फेला नपरेपछि क्रेनमार्फत् गाडीलाई बग्गीखाना पठाएका छौं,' उनले भने।
प्रहरीले चाहेको भए ट्राफिकसँग पनि समन्वय गरेर यसरी सुनियोजित ढंगले गाडी पार्क गर्ने को हो र कुन प्रयोजनका लागि यस्तो हरकत गरियो भनेर अनुसन्धान अघि बढाउन सक्थ्यो। तर त्यसो गरिएन।
यो मुद्दालाई प्रहरीको क्षेत्राधिकारबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हस्तान्तरण गरियो।
ट्राफिक प्रहरी कार्यालयले पनि यसलाई मिडिया आतंकित पार्न गरिएको सुनियोजित घटनाका रूपमा नलिई जथाभाबी पार्किङका रूपमा मात्र लियो।
सञ्चार गृहहरूले आफ्नो सहमतिबिना गाडी नछाड्न माग गरेका भए पनि ट्राफिक कार्यालयले गएराति नै जथाभाबी पार्क गरिएको कसुरमा जरिवाना तिराएर गाडी छाड्यो।
सोमबार कान्तिपुर मिडियाको गेट अगाडि रोकिएको बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी, अनलाइनखबर अगाडि रोकिएको बा१२च ८५४५ नम्बरको गाडी र हिमालय टेलिभिजन अगाडि रोकिएको बा१०च १२५५ नम्बरको गेट अहिलेसम्म छुटिसकेका छन्।
यी तीनैवटा गाडीलाई गएराति नै सम्बन्धित व्यक्ति बोलाएर ट्राफिक नियम अनुसार ५०० देखि १००० रूपैयाँ जरिवाना तिराएर छाडिएको ट्राफिक कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाको घर जाने बाटोमा पार्क गरिएको बि एसी ९५७५ नम्बरको गाडी भने अहिले पनि बग्गीखानामै राखिएको छ। यो गाडी फिर्ता भइसकेको छैन।
यसरी हतारमा गाडी हस्तान्तरण गरिएको विषयमा कुरा गर्दा एक ट्राफिक प्रहरी अधिकारीले भने, 'अनुसन्धान गर्ने पाटो प्रहरीको थियो। त्यताबाट नभएपछि ट्राफिक प्रहरीको अधिकार भनेको जरिवाना तिराउने मात्र हो।'
ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले यो घटनामा सामान्य सोधपुछ गर्दा अरू कसैलाई गाडी दिएको अवस्थामा नियम उल्लंघन हुन पुगेको बताएका थिए।
'हामीले सोध्दा कतिपयले अरूले नै लगेर पार्क गरेको, ड्राइभरले लगेको, मापसे गरेको जस्ता कुरा गरे। यस्तो गर्न भएन नि भन्दा अब गर्दैनौं भन्ने जबाफ दिए,' एसएसपी काफ्लेले सेतोपाटीसँग भने, 'कतिपय व्यक्ति पटक पटक यस्तै काम गर्ने पनि छन्।'
सोमबार मात्रै १४ वटा गाडी जथाभाबी पार्किङमा कारबाहीमा परेको उनको भनाइ थियो।
यसबीच रास्वपा सभापति रवि लामिछानेले मिडिया हाउस र नेताका घर अगाडिको सडकमा निजी सवारी साधन पार्किङ गरी अवरोध पुर्याउनेहरूमाथि कारबाही हुने बताएका छन्। उनले यस्तो कार्यलाई अस्वाभाविक प्रवृत्तिसमेत भनेका छन्।
यो घटनामा रास्वपा नेता तथा कार्यकर्ताहरू नै संलग्न रहेको पाइए पनि कारबाही हुने उनको भनाइ छ। यसअघि रास्वपाले सोमबार जारी गरेको वक्तव्यमा विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाको भर्त्सना गरिएको थियो। महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन सुरक्षा संयन्त्रसँग माग गरेका थिए।
'प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चार माध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं।'
राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चार माध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आसयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताको ठाडो उल्लंघन भएको पनि महामन्त्री आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेस सभापति गगन थापाले पनि सरकार आफै प्रश्न उठाउनेहरूको आवाज दबाउने प्रयासमा लागेको आरोप लगाएका थिए। उनले यो घटनालाई सामान्य पार्किङको विषय नभई सरकारबाट प्रश्न गर्नेहरूलाई तर्साउने र मुख थुन्न खोज्ने प्रयास भएको दाबी गरे।