प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरूङले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जबाफ दिन रूलिङ माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरूङले बेला बेला सरप्राइज दिन शैलीमा आउन संसद बैठक बर्थडे पार्टी नरहेको पनि बताएकी छन्।
'हाम्रो प्रधानमन्त्रीज्यू बेलाबेला सरप्राइज दिने शैलीमा आउनुहुन्छ। राज्य सञ्चालन कुनै बर्थडे पार्टीजस्तो होइन सरप्राइज दिन। यहाँ हामी सबै लोकतान्त्रिक व्यवस्था आत्मसात गरेर जनताको मत पाएर आएका छौं। लोकतन्त्रमा संविधानवादको विशिष्ठ महत्त्व हुन्छ। संविधानवादलाई कानुनको शासनले सुनिश्चित गर्छ। कानुनको शासनको महत्त्वपूर्ण विशेषता प्रेडिक्टिबिलिटी हो। सरप्राइजको शैली यसको विपरीत छ,'उनले भनिन्।
प्रधानमन्त्रीले दिने सरप्राइज चिन्ताको विषय नभई कार्यशैली लोकतान्त्रिक व्यवस्था र कानुनको शासनप्रति उनको प्रतिबद्धतामाथि प्रश्न उठाउने विषय रहेको उनको भनाइ छ।
सरकार सरप्राइजसँगै विषयान्तर गर्न पनि माहिर रहेको सांसद गुरूङले बताइन्।
'मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी वस्तीमा डोजर चल्यो। तत्कालीन सचिव कृष्णहरि पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरुको स्टाटसमा रमाइलो चल्यो। कीर्तिपुरस्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे। हाहाकार मच्चियो। यता आत्मदाहका तीन घटना त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा हुँदा अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अघिल्तिर गाडी राखिएको फन्डा आएको छ,' उनले भने, 'यी प्रतिनिधिमूलक घटनाले प्रष्ट भन्छ सरकार विषयान्तर गर्न माहिर छ।'
उनले स्टन्टको पछि नकुद्न पनि जनतालाई आग्रह गरेकी छन्।