नेपाल धितोपत्र बोर्डले साना तथा मझौला उद्यमलाई छुट्टै व्यवस्थामार्फत पुँजी बजारमा ल्याउनेदेखि सार्वजनिक निष्कासनमा वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली विकास गर्नेसम्मका व्यवस्था अघि सारेको छ।
बोर्डले सार्वजनिक गरेको प्राथमिक पुँजी बजार सुधार नीति, २०८३ ले प्राथमिक बजारमा कम्पनी प्रवेश, सेयरको मूल्य निर्धारण, निष्कासन प्रक्रिया र लगानीकर्ताको सहभागितासँग सम्बन्धित विभिन्न सुधार प्रस्ताव गरेको हो।
साना तथा मझौला उद्यमका लागि छुट्टै बजार व्यवस्था गर्ने उल्लेख गरिएको छ।
यस्ता कम्पनीलाई ठूला कम्पनीसरहका सबै मापदण्ड लागू गर्दा सार्वजनिक बजारमा आउन कठिन हुने भन्दै तिनको प्रकृति र क्षमताअनुसार छुट्टै व्यवस्था विकास गर्ने नीति लिइएको हो।
यसबाट साना तथा मझौला कम्पनीले बैंक तथा वित्तीय संस्थाको कर्जामा मात्र निर्भर नभई धितोपत्र बजारबाट समेत पुँजी जुटाउने बाटो विस्तार हुने अपेक्षा गरिएको छ।
त्यस्तै, सार्वजनिक निष्कासनमा सेयरको मूल्य निर्धारण प्रणालीमा परिवर्तन गर्ने नीति अघि सारिएको छ।
हालको निश्चित मूल्यमा आधारित निष्कासन प्रणालीलाई मात्र निरन्तरता नदिई कम्पनीको वित्तीय अवस्था, बजारको माग, लगानीकर्ताको रुचि तथा अन्य सम्बन्धित आधारलाई समेटेर वैज्ञानिक र बजारमा आधारित मूल्य निर्धारण प्रणाली विकास गरिने भएको छ।
बोर्डले सार्वजनिक गरेको सूचनामै नयाँ नीतिको प्रमुख उद्देश्य वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली विकास गर्नु रहेको उल्लेख गरेको छ।
उत्पादनमूलक कम्पनीलाई बजारबाट पुँजी जुटाउन सहज
बोर्डले निजी क्षेत्रका उत्पादनमूलक कम्पनीलाई धितोपत्र बजारमार्फत पुँजी परिचालन गर्न सहज बनाउने भएको छ।
यस्ता कम्पनीले सेयर तथा ऋणपत्र जारी गर्दा लाग्ने लागत घटाउने र प्रक्रिया सरलीकरण गर्ने नीति लिइएको छ।
उत्पादन तथा रोजगारी सिर्जनामा प्रत्यक्ष योगदान गर्ने कम्पनीलाई बैंक कर्जाबाहेक दीर्घकालीन पुँजी जुटाउने विकल्प विस्तार गर्ने उद्देश्य यसमा देखिन्छ।
सार्वजनिक निष्कासनको प्रक्रियालाई समेत थप व्यवस्थित र प्रविधिमैत्री बनाउने नीति लिइएको छ।
निष्कासनसँग सम्बन्धित विवरण पेस गर्ने, अध्ययन तथा स्वीकृति प्रक्रिया र अभिलेख व्यवस्थापनलाई क्रमशः विद्युतीय प्रणालीमा लैजाने तथा प्रविधिको प्रयोग बढाउने व्यवस्था नीतिमा समेटिएको छ।
यसले निष्कासनको समय र प्रशासनिक लागत घटाउने तथा नियामकीय प्रक्रियालाई थप पारदर्शी बनाउने लक्ष्य राखेको छ।
बुक बिल्डिङ विधिमा सहभागी प्रत्येक संस्थागत लगानीकर्ताले निष्पक्ष, स्वतन्त्र तथा वास्तविक लगानी अभिप्रायका आधारमा बोलपत्र पेश गर्नुपर्ने र कृत्रिम माग सिर्जना गर्ने, मिलेमतो गर्ने वा मूल्यमा अनुचित प्रभाव पार्ने कार्य निषेध गरिने उल्लेख गरिएको छ।
संस्थागत लगानीकर्ताको भूमिका बढाइने
प्राथमिक बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने विषयलाई पनि बोर्डले प्राथमिकतामा राखेको छ।
सामूहिक लगानी कोष, बीमा कम्पनी, निवृत्तिभरण कोषलगायत संस्थागत लगानीकर्ताको सहभागितालाई थप प्रभावकारी बनाउने व्यवस्था विकास गरिने भएको छ।
सार्वजनिक निष्कासनमा यस्ता लगानीकर्ताको सहभागिता बढाउँदा कम्पनीको मूल्य निर्धारण र निष्कासनमा मागको आधार थप बलियो हुने बोर्डको अपेक्षा छ।
यससँगै नयाँ तथा वैकल्पिक पुँजी परिचालनका माध्यम विकास गर्ने, लगानीकर्ताको पहुँच विस्तार गर्ने तथा प्राथमिक बजारमा कम्पनी र लगानीकर्ताबीचको सम्बन्धलाई थप व्यवस्थित बनाउने विषय पनि नीतिमा समेटिएका छन्।