छिमेकी जिल्लामा बर्डफ्लुको सङ्क्रमण भेटिएसँगै प्रायगरी बन्द जस्तै भएका मादी गाउँपालिकाका मासु पसलको अनुगमन गरिएको छ ।
गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा स्थानीय पातीचौर बजार र डिमुवाबजारका मासु पसल अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा कुनै पनि पसल मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । बाह्र पसल अनुगमन गरिएकामा धौलागिरि फ्रेस हाउसबाहेक अन्य ११ वटा पसल मापदण्ड नै नपु¥याइ सञ्चालन गरेको पाइएको पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए।
उनले मापदण्ड नपु¥याइकन सञ्चालन भएका पसल सञ्चालकलाई सुधार गर्न एक साताको समय दिइएको बताए। एक साताभित्र पनि मापदण्डअनुसारको पूर्वाधार निर्माण नगरे स्वतः पसल बन्द गरिने छन् ।
त्यस्तै स्थानीय सञ्जीवनी सहकारीले सञ्चालन गरेको दाना पसलमा ७० बोरा कुखुराको दाना म्याद नाघेको पाइएको छ । म्याद नाघेको दाना पनि कम्पनीमै फिर्ता गर्न एक साताका लागि समय दिइएको र उक्त समयसम्म पनि फिर्ता नगरिए नष्ट गरिने सापकोटाले जानकारी दिए।
अनुगमनमा पशु सेवा शाखाका प्रमुख सापकोटा सँगै गाउँपालिकाका कर्मचारी प्रकाशचन्द्र सुवेदी, स्थानीय प्रहरी चौकीका यामबहादुर खड्का, कमल विक, निशान केसी लगायतको टोली सहभागी भएको थियो । मोदीका डिमुवा र पातीचौरका पसललाई लामो समयदेखि मापदण्ड सुधारका लागि चेतावनी दिँदै आए पनि अटेर गरेको पाइएको छ ।
उनीहरुले मापदण्डअनुसार निर्माण नगरी नागरिकको स्वास्थ्यमा खेलबाड गर्दै आएको पाइएकाले अहिले अन्तिमपटक निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ ।
पूर्वाधारको कमीसँगै बिनादर्ता सञ्चालनमा आएका पसललाई पनि तत्काल सम्बन्धित ठाउँमा दर्ता हुन आग्रह गरिएको छ । धौलागिरिको प्रवेशद्वारका रुपमा रहेका डिमुवा क्षेत्रमा छिमेकी जिल्लाबाट बर्डफ्लु छिटो भित्रिन सक्ने भन्दै पछिल्लो समय निगरानी बढाइएको स्थानीय पत्रकार समीर मल्लले जानकारी दिए। यस क्षेत्रमा विगत एक सातादेखि कुुखुरालगायत पक्षी आयातमा रोकसमेत लगाइएको छ ।