प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को ११ औं महाधिवेशनमा पनि अध्यक्ष नछोड्ने बताइसकेका छन्।
दसौं महाधिवेशनयता त्यही संकेत गरिरहेका अध्यक्ष ओलीले त्यसपछि सार्वजनिक कार्यक्रममा आफ्नो ऊर्जा ६० वर्षको उमेरकोजस्तो नै कायम रहेको र दैनिक १८ घन्टा खटिरहेकाले अर्को एक कार्यकाल पनि अध्यक्ष चलाउनसक्ने उमेर, ऊर्जा र सामर्थ्य भएको बताउँदै आएका छन्।
शनिबार सकिएको पोलिटब्युरो बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले विधानमा ७० वर्षे उमेरहद र कार्यकालको प्रबन्ध नराख्नको लामो प्रसंग निकालेको थिए। त्यसो त उनले आफू पदलोलुप नभएको बताउँदै पद सहजै नछोड्ने संकेत पनि गरे।
पोलिटब्युरो बैठकमा झन्डै तीन घन्टा बोलेका अध्यक्ष ओलीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको देहावसान हुनेबित्तिकै आफूलाई महासचिव बन्न पार्टीका अग्रपंक्तिमा रहेका नेताहरूले प्रस्ताव गरेको दाबी गरेका थिए।
‘यता मदनको चिता जल्दै थियो, पशुपति आर्यघाटको एकछेउमा बोलाएर केही साथीहरूले अब पार्टी तपाईंले चलाउनुपर्छ भनेको होइन? त्यसो भन्नेमध्ये केही साथीहरू अहिले पनि यहीँ हुनुहुन्छ, जीवित हुनुहुन्छ,’ उनले बैठकमा बोलेका कुरा उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘त्यतिबेला पार्टी संकटमा थियो, महासचिव नै हामीले गुमाएका थियौं। त्यतिबेला मैले म होइन माधवकुमार नेपाललाई नै महासचिव तोकेर जाउँ भनेको होइन? म पदलोलुप थिएँ भने त त्यतिबेलै महासचिव हुने बाटो खुल्थ्यो त!’
एमालेको पाँचौं महाधिवेशनपछि ओली पाँचौं वरीतामा थिए। भण्डारी दोस्रो र उनीसँगै निधन भएको जीवराज आश्रित चौथो वरीयतामा थिए। तेस्रो वरीयतामा रहेका नेपाल महासचिव तोकिए पहिलो वरीयतामा अध्यक्ष मनमोहन अधिकारी थिए। ती स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष ओलीले २०५२, २०५३ र २०५४ सालको सन्दर्भ पनि उठाएका थिए।
२०५२ सालमा पार्टी पंक्तिका केही नेताहरूले ‘माधवकुमार नेपालबाट पार्टी चल्दैन, अब तपाईं महासचिव बन्नुपर्छ’ भनेर प्रस्ताव ल्याएको बताएका थिए। ओलीले यसो भनिरहँदा सुरेन्द्र पाण्डेले ‘त्यस्तो प्रस्ताव ल्याउने वामदेव गौतम थिए’ भनेर बैठकमै बताएका थिए।
ती स्थायी कमिटी सदस्यका अनुसार पाण्डेले यस्तो बताएपछि युवराज ज्ञवाली, अमृत बोहोरा, मुकुन्द न्यौपाने र विष्णु पौडेलले पनि यसबारे आफूहरू जानकार रहेको बताएका थिए।
२०५३ सालमा पनि महासचिवको प्रस्ताव आएको र आफू पदमा आँखा नलगाउने व्यक्ति भएकैले नेतृत्वलाई अप्ठ्यारो नपारेको ओलीको दाबी थियो। २०५३ सालमा वामदेव गौतमले हस्ताक्षर अभियान चलाएर केन्द्रीय कमिटीमा आधाआधा बनाइसकेको प्रसंग पनि ओलीले निकालेका थिए।
‘२०५४ सालमा पार्टी विभाजन भयो। सबैलाई थाहा छ, त्यतिबेला मेरो र वामदेवको असहमति भयो। त्यतिबेलै धेरै साथीहरूले मलाई महासचिव प्रस्ताव गर्नुभएको थियो। तर मैले माधव नेपाललाई नै नेता मानेँ,’ ओलीको भनाइ उद्दृधत गर्दै ती नेताले भने।
सातौंमा आफूले पार्टी लोकतान्त्रिकरणको प्रस्ताव महाधिवेशनमा लगेको र अल्पमतमा परेपछि स्थगित गरेको सन्दर्भ बताउँदै आठौं महाधिवेशनमा आफू नै संयोजक भएर कार्यदलले कोरेको खाका अनुसार पार्टी बहुपदीय ढाँचामा गएको उनले बताएका थिए।
‘सातौंदेखि नवौंसम्म मैले आफ्नो दृष्टिकोण राखिरहेँ। पार्टीको अहित हुने, पार्टीको लाइनभन्दा फरक नहिँडी अध्यक्ष बनेँ। दसौंमा एउटा परिस्थिति थियो, त्यसैले मलाई अध्यक्ष बनायो,’ ओलीले बैठकमा भनेका थिए, ‘अहिले पनि मैले नेतृत्व छाड्ने अवस्था छैन। व्यक्तिगतरूपमा भन्दा मैले पाउन बाँकी केही छैन। पार्टीकै लागि दैनिक १८ घन्टा खटिरहेको छु।’
यस्तो भन्दै ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रसंग निकालेका थिए। आफ्नो धारणा भन्दै दृष्टिकोण प्रस्तुत गरेका ओलीले भण्डारी पार्टीमा आउन नहुने तर्क प्रस्तुत गरेका थिए।
‘सम्मानीत पदमा पुगिसकेको, गणतन्त्रको गरिमा, सेनाको परमाधिपति भइसकेको व्यक्ति फर्किएर राजनीतिमा आउनुहुँदैन भन्ने मेरो मत हो, यसले पार्टीलाई मात्रै होइन, लोकतान्त्रिक विधि, प्रक्रियामाथिको हाम्रो निष्ठाका लागि पनि राम्रो कुरा होइन,’ उनले भनेका थिए।
राष्ट्रिय राजनीति अप्ठ्यारो अवस्थामा रहेको, एमालेलाई निर्णायक शक्ति बनाउन पनि आफ्नो नेतृत्व अपरिहार्य रहेकैले सुविचारित ढंगले ७० वर्षे उमेरहद र अध्यक्षमा दुई कार्यकाल हटाएको बताएका थिए।
आफू अहिले पनि दैनिक १८ घन्टा खट्न सक्ने भएकाले एक कार्यकाल नेतृत्व गर्न सक्ने बताउँदै उमेरहद, कार्यकाल सातौं महाधिवेशनको सन्दर्भमा उचित देखिए पनि अहिले असान्दर्भिक भइसकेको उनको तर्क थियो।
‘७० वर्षे उमेरहद राख्ने हो भने मेरो जेल बसेको समय (१४ वर्ष) घटाउनुपर्ने हुन्छ। अनि त म पनि ६० वर्षको भइहाल्छु नि! ऊर्जा पनि ६० वर्षजस्तै छ,’ ओलीले भनेका थिए।
यसो भन्दा सिंगो हल गलल्ल हाँसेको थियो। ‘हाँसो–ठट्टामै गम्भीर कुुरा भन्ने उहाँको बानी छ। पोलिटब्युरो बैठकमा पनि त्यस्तो देखिएको थियो,’ उनले भने।
पोलिटब्युरो बैठकमा उनले स्पष्ट सन्देश दिइसकेका छन्। पोलिटब्युरो बैठकलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाएर पूर्वराष्ट्रपति भण्डारीलाई पनि उनले त्यही हैसियतमा बस्न भनिसकेका छन्।
आजबाट केन्द्रीय कमिटी बैठक सुरू हुँदैछ। यो बैठकले ओलीको आगामी कदम र भण्डारीको राजनीतिक पुनरागमनबारे धेरैथोक बताउने एमाले नेताहरू बताउँछन्।