म विदेशमा रहँदा आमा मुटुको बिमारले थलिनुभयो। मर्नु बाँच्नुको दोसाँधमा हुनुहुन्थ्यो तर म तत्काल नेपाल आउन सकिनँ। मेरी दिदी र बहिनी हत्तारिएर सब काम धन्दा छाडेर कुद्दै आउनुभयो। हुन त मेरो पनि ९ महिना आमाको गर्भको बसाइँ हो। दिदीको पनि त्यति नै हो र पनि दिदीबहिनी किन बढी निकट हुन्छन्?
लाग्छ 'छोरा आडम्वर समाजको लागि, छोरी ममताको लागि' नै हो जस्तो। मेरो जस्तो सोच सबैको नहोला र पनि धेरैले भन्ने गरेको सुनेको छु। एउटी छोरी त जसै चाहिन्छ बुढेसकालको लागि छोरा मोरा कता लाग्छन् तर छोरी भए फर्कीफर्की आमाले के गरी, बाले के गरे भन्दै आउँछन् भन्छन्।
'तँ भाग्यमानी रैछस् यार छोरी छन्, मेरो त दुइटै छोरा भए के गर्ने छोरी पाउन मन थियो बुढी मान्दिनँ फेरि छोरी हुन्छ भन्ने के ग्यारेन्टी!' साथी गुनासो गर्दै थियो। हो पनि सबै छोरी चाहन्छन् आजकल।
एकताका छोरी पाए खोला बगाए, छोरो पाए ल्याएस् भन्ने समाज अहिले बिहे गर्ने केटी नपाएर बेहाल छ। चीनमा केटि पाउन मुस्किल भन्थे, अहिले नेपालमा त्यही हालत भयो।
'छोरा पाए बुहारीलाई, छोरी पाए ज्वाइँलाई भन्छन्' र पनि छोरी भने जसोतसो घर परिवारबाट समय मिलाएर फुर्सद लिएर आमा बुवाको मायाले आउँछन्, स्याहार गर्छन् तर छोरा कति पैसा पठाइदिम् म आउन मिलेन भन्छन्। दिन पर्ने जातलाई किन पढाउने भन्ने त्यही समाज आजकल छोरीलाई रोजेको महँगो विषय पढाइरहेका छन्।
१ वर्ष अगाडिको कुरा हो। एक जना बुबाको दौतरी अंकल बिमारले थला पर्नुभयो। दिदी जर्मनमा हुनुहुन्थ्यो आएर ४ महिना अस्पतालमा कुरेर बस्नुभयो। बुबा बितेपछि मात्र फकर्नुभयो। माया तल बग्छ भन्छन् तर छोरीको माया माथि पनि बग्दो रहेछ।
'छोरीलाई छुरी' भन्ने समाज आज छोरीलाई लक्ष्मी भन्छन्। छोरी नभएको घर घर जस्तो हुन्न भन्न थालेको छ समय परिस्थितिको बदलाव होला।
भाग्यमानी बाबुआमाले मात्र छोरी पाउँछन् भन्ने दिन आयो। कुनै बेला छोरीलाई 'छोरी भन्थी माइती माइती, माइती भन्छन् के खाइती' जस्तो दिन पनि थिए।
छोरी छोरी पाएर श्रीमानले दुई बिहे गरेको समाज आज त्यही छोरीका लागि मर्दैछ।
अझै पनि कतिपय घरपरिवारका कटाक्ष छ, छोरीको भात खुवाई ५ महिनामा गर्ने आदि तर समाज बदलिएर छोरीको पनि धुमधामले गुन्यूचोली गर्न थालेका छन्।
छोरीले कपाल मुन्डन गरेर दाजुभाइ सरह किरिया बसेको देखिन्छ, कतै छोरी मात्र किरिया बसेका पनि छन् दागबत्ती दिने पनि चलन आएको छ।
एक जना हजुरबाले छोरीको कन्यादान दिने भन्ने कुरालाई 'कन्या पनि दान दिने वस्तु हो र म त कन्यादान दिन्नँ यो संस्कार मान्दिनँ भन्नुुहुन्थ्यो' आजकल कन्यादान शब्द कम चलनमा छ। त्यसो त छोरा दुर्घटनामा परेर बितेपछि विधुवा बुहारीलाई कन्यादान दिएर घर माइत गराएको समाजमा देख्न सकिन्छ जुन उत्कृष्ट उदाहरण हो।
कुनै समय संसारमा दुखी मान्छेको फेहरिस्तामा एउटी छोरीको बाबु पनि पर्छ भन्दथे, आजकल सुखी मानिसमध्ये छोरी बाबुआमा पर्छन् भन्ने दिन आयो कति कायापलट भयो।
एकदिन श्रीमती माइती जाँदा घर भद्रगोल छ, कुनै चिज ठाउँमा छैन, छोरी मान्छे नभएपछि घर यस्तै हुन्छन् भन्ने गरिन्छ। यसको अर्थ छोरा मानिसले नगर्ने भन्ने होइन र घरधन्दा महिलाको ठेक्का पनि होइन तथापि छोरी मानिस भनेको सुरूबाट नै लक्षिन, सुशिल, कोमल, नम्र हुन्छन्।
'छोरा पाए खसी छोरी पाए फर्सी' पनि भन्ने गरिन्थ्यो सन्तान त आखिर एउटै हो र पनि भेदभाव किन यसकारण समाजको नराम्रो चलन, सोच, विचार र परम्परालाई चिर्नुपर्छ सुर्धानुपर्छ 'बाबु नराम्रो भयो भनेर नागरिकता च्यातेर भएन' समाज बनाउन सुधार्न धेरै जना चाहिन्न एक दुुई जनाबाट सुरू गर्नुपर्छ। पोखरामा एक जना बामपन्थी नेता थिए छोराछोरी दुवैलाई अंश भाग लगाए, छोराले एसओएसको नानी विवाह गराए भन्ने सुन्नमा आएको छ।
सबैले यस्तै गर्नुपर्छ भन्ने होइन र पनि बाबुआमाको पैत्रिक सम्पत्तिमा पनि दिदीबहिनीलाई हिसाब लगाउनु मनासिव हुन्छ नै भलै दिदी-बहिनीले हामीलाई चाहिन्न, माइत आएको बेला मिठो वचन, एक गाँस भात खान दिए,बाबुआमालाई माया गरे पुग्छ भन्छन्।
अन्त्यमा छोराछोरी एकै हुन् ता पनि हामी छोरीको मायामा लालायित र आशातित छौं। किन यो छोरा प्रतिको अभिभावकको कटाक्ष हुँदै होइन तर समस्त छोराहरूलाई चुनौती हो।