'सम्बन्धमा नबसी ब्रेकअप सम्भव छ? छैन भने यो कस्तो सम्बन्ध जहाँ कोही कहिल्यै सम्बन्धमा बसेकै छैन तर पनि ब्रेकअप भएझैं कसैलाई अनुभूति हुन्छ, फेरि फर्केर आउँला कि भन्ने झिनो आशमा उसैलाई कुरिरहन्छ?'
दिनमा आकांक्षालाई एउटा कार्यक्रमको टि- ब्रेकमा सुनाएको कुराले मलाई रातभरी निदाउन दिएन।
सोचेँ मैले किन बेकाममा आकांक्षालाई त्यो कुरा सुनाएँ? यत्रो समयसम्म नभनेको कुरा किन जान्ने भएर भन्नुपरेको होला। उसले के सोचिहोली मेरो बारे?
दिउँसोको कुरा मनमा खेल्दै थियो आकांक्षाको म्यासेज आइहाल्यो- भोलि पशुपतिमा साँझको आरती हेर्न जाम ल। शनिबार भएर बस्ने ठाउँ नपाउन सक्छ। अलि छिटो निस्कने है!
रिप्लाई गर्न मन थिएन तर पनि गरिहालेँ- तँलाई कहाँबाट आरती हेर्न जान मन लाग्यो नि?
‘अब धर्मकर्मतिर लाग्नुपर्यो नि’, हाँसेको इमोजी पठाउँदै भनी।
‘लु लु धेरै नाटक नपार। कतिबजे आउने भन त?’
‘४ बजे रेडी भएर बाटोमा निस्किन्छु है?’
‘त्यति छिटो? किन नि?’
‘खुरूक्क आइज न’
भोलिपल्ट कति बजे कता भेट्ने कुरा छिनोफानो गरेर सुत्यौं। अग्रिम योजना अनुरूप आकांक्षालाई लिन कालोपुल पुगेँ। त्यहाँबाट हामी सिधै पशुपतिमा आरती हेर्न सिट रिजर्भ गर्न बस्न लाग्यौं।
तर मनको कुनामा हिजोको कुरालाई नै लिएर भेट्न खोजी भन्ने भान भइरह्यो।
केहीबेरको मौनतापछि मुख खोली- हिजो के कुरा गरेको? तिमीहरूबीच केही भएको हो?
कुनै प्रतिक्रिया जनाइनँ, हाँसेँ मात्र।
उसले केही बुझेझैं भाव प्रकट गरी।
म चुप बस्न खोजिरहेको थिएँ तर नसुनाई बस्न सकिनँ। त्यसैले उसलाई निन्याउरो मुख लगाएर हेरेँ।
मेरा ती हेराइले धेरै कुरा बुझेरै होला प्रश्न तेर्साइहाली- तँ र आकाश डेट गरिराथ्यौ हैन?
‘डेट त होइन ह्याङआउट गरिराथ्यौं’
‘त्यसलाई त भन्छ नि डेट लाटी’, उसले हाँस्दै भनी।
‘तिमीहरू भेट्यौं चाहिँ कहिले?’
‘तैँले जब त्यहाँ जागिर छोडिस्। त्यसपछि हाम्रो भेट भएको थियो।’
‘ओहो! भनेसी थुप्रै पो भएछ त। पहिले मैले भन्दा दुवै जना हाँस्थ्यौ,’ उसले दिइहाली, ‘मैले त्यत्रो भन्दा नभेट्ने अनि म गएसी भेटेछौ होइन?,’
उसले जिस्काउँदै भनी, ‘अस्ति नै तिमीहरू दुवै जनाले एकै ठाउँको स्टोरी हालेको देख्दा त लागिराथ्यो। अँ भन कसरी कुरा हुन सुरू भयो कसरी कता भेटिस् नि?’
सुरूमा त हामीबीच कामको कुरा मात्रै हुन्थ्यो। अब तैँले नै हो आकाश राम्रो छ भनेर कुरा गर्न लगाएको। तैँले भनेपछि एउटा विश्वास थियो। कुरा गर्दै जाँदा जेन्टलम्यान नै लाग्थ्यो। कहिलेकाहीँ यसो हँसिमजाग चल्थ्यो। त्यहीबेला एउटा नाटक कुरा निस्किहाल्यो।
उसले 'पल्पसा क्याफे' नाटक हेर्यौ? भनेर सोध्यो।
मैले नहेरेको तर हेर्न मन भएको प्रतिक्रिया दिएँ।
उसले पनि नहेरेको भएपछि हेर्ने त? भनेर प्रस्ताव राख्यो।
मैले उसको प्रस्ताव सहजै स्वीकारेँ किनकि आफू परे नाटकको पारखी।
उसले टिकट काट्यो। भोलिपल्ट शनिबारको दिन थियो। बेलुकीतिर बानेश्वरस्थित मण्डला थिएटरमा भेट्यौं। दुवै जना अलि इन्ट्रोभर्ट मान्छे रहेछौं।पहिलो भेट। अलि असहज लागिराखेको थियो दुवैलाई। नाटक हेरेर फर्किँदा साँझ भए पनि खाजा खाइवरी घर फर्कियौं।
दिनहरू बित्दै गए। हामीबीच घनिष्टता बढ्दै गयो।
एकदिनको कुरा हो ऊ मेरो घर नजिकै बूढानीलकण्ठस्थित साथीकोमा आएको रहेछ। फोन गरेर मेरो घरनजिकै भएको भनेपछि दोस्रोपटक फेरि भेट्यौं र शिवपुरीतिर गयौं। तैँले त्यही बेला स्टोरी देखेको होला। किनकी त्यहीबेला हामी दुवैले एकै ठाउँको स्टोरी हालेको थियौं। मलाई तैँले देख्छेस् कि भनेर शंका लागिरहेको थियो।’
उसले ‘हो’ भन्दै प्रतिक्रिया दिई।
त्यहीबेला पशुपतिको आर्यघाटमा लासलाई पानी खुवाउन बम्हनालमा ल्याइयो। आफन्तहरू डाको छाडेर रोएको देख्दा मेरो मन भारी भयो। आँखा त्यतै गयो। मनले अनेकौं कुरा सोच्न थाल्यो।
यतिकैमा उसले मलाई झस्काई र सोध्न थाली- ‘ओई के भो नि, त्यो दिन?’
‘त्यो दिन त्यस्तो केही भएन। पहिलेझैं खिचातानी र अलिअलि एकअर्कालाई जिस्कायौं। अलिकति हाइक गरेर बागद्वारसम्म गयौं। पानी पर्लाजस्तो भएपछि फर्कियौं र खाजा खाएर उसलाई साथीको घर नजिकै छाडिदिएँ।’
‘त्यसपछि हाम्रो सम्बन्ध झन् बढ्दै गयो। ऊ कस्तो खालको मान्छे हो भनेर हाइकिङ जाँदा चिन्ने मौका पाएँ।’
दिनहरू बित्दै गए। हाम्रो कुराकानी हुँदै गए। एकदिन अफिसबाट पिकनिक गएको थियो। त्यो ठाउँमा गुँरास पाइने रहेछ। आकाशले गुराँसको फोटो पठाउँदै जिस्कायो।
मलाई भने गुराँस खान साह्रै मन पर्ने। मैले पनि जिस्किँदै- 'मलाई गुराँस खान मनपर्छ लिएर आऊ' भनेँ।
उसले 'तिमी आउने बेलासम्म त ओइलाउँछ' भन्यो। त्यतिबेला म परिवारसँग घुम्न रारा गएकी थिएँ।
'केही हुँदैन लिएर आऊ न' भनेर जिस्काएँ।
तर मैले जिस्किएर भनेको कुरा सिरियस्ली लिएको रहेछ। कुरा हुँदा आलो गुराँस अहिले सुकिसक्यो त्यही पनि राखिदिएको छु भन्थ्यो तर मैले पत्याउँदिनथेँ। जिस्किएको होला भनेर सोच्थेँ। एकदिन कफी खान भेटम् भनेर बोलायो। मेरो कलेज र उसको अफिस नजिकै भएको हुँदा कलेज सकेर गएँ।
कफी खान पुग्दा उसले साँच्चिकै सुकेका गुराँसहरू झोलामा बोकेर आएको थियो। म झिल खाएँ। किनकी त्यो मेरो कल्पना बाहिरको कुरा थियो। त्यसअघिकै भेटबाट म आकाशले गर्ने व्यवहार सोच्ने तरिकाबाट प्रभावित भइसकेको थिएँ। तर यो भेटले झनै मैले उसलाई हेर्ने नजरमा परिवर्तन ल्याइदियो।
दोस्रो भेटदेखि नै मन पर्न थालेको मान्छेलाई झनै मन पराउने कारणहरू थपिँदै गए। उसले घरमा भाउजू र छोरीलाई गर्ने व्यवहारबाट म थप प्रभावित भइरहेको थिएँ। तर मभन्दा पनि साह्रै घुसघुसे बानी देखेर कहिलेकाहीँ त एकदमै इरिटेट हुन्थेँ तर पनि मान्छेको आआफ्नो स्वभाव हुन्छ भन्ने सोच्थेँ।
मनको कुनै कुनामा आकाश मन पर्न थालिसकेको थियो तर उसलाई म मन पर्छ कि पर्दैन भन्ने थाहा थिएन। त्यसैले ऊसलाई झन् नजिकबाट चिन्न भेटेरै समय बिताउन मन लाग्थ्यो। हामी मिलेसम्म हरेक हप्ता भेट्थ्यौं। नयाँ ठाउँ जान्थ्यौं। थोरै बोल्ने आकाशलाई म आफैले चिन्ने र बुझ्ने प्रयास गरेको थिएँ, उसले भन्दै नभनी पनि धेरै कुराहरू थाहा छ भन्ने अझै पनि लाग्छ मलाई।
सायद मसँग ह्याङआउट गर्न रमाइलो नै लाग्ने भएर होला सामाजिक सञ्जालमा नयाँ नयाँ ठाउँका रिलहरू उसले पनि पठाउने गर्थ्यो। हामी नयाँ नयाँ ठाउँहरू घुम्न जान्थ्यौं।
त्यसरी नै हामी थुप्रै ठाउँहरू घुम्न पनि गयौं। घुम्न जाँदा जति नजिकबाट उसलाई चिन्दै थिएँ, दिन प्रतिदिन ऊप्रति माया बढ्दै थियो। उसलाई मैले ब्वाइफ्रेन्डभन्दा पनि जीवन साथीको रूपमा हेर्ने गरेको थिएँ।
आकाशको गर्लफ्रेन्ड छैन भनेर थाहा थियो। किनकी तैँले भनेकी थिइस्। तर पनि उसकै मुखबाट सुन्न मन थियो। त्यही भएर कहिलेकाहीँ जिस्काउँथेँ। कुनै रियाक्सन दिँदैनथ्यो बस् मुसुक्क हाँस्थ्यो। जुनसुकै अवस्थालाई पनि सामान्य रूपमा लिन सक्ने मान्छे छ आकाश। म परे उल्टो।त्यही भएर पनि हाम्रो केमेस्ट्री मिलिरहेको भान हुन्थ्यो।
यति घुम्दा उसले पनि थाहा पाइसकेको थियो होला मलाई पनि के मन पर्छ, पर्दैन भनेर। हामी आफ्नाबारे कम बोल्थ्यौं तर एकअर्काको मौनताबाटै सायद हामीले धेरै कुरा थाहा पाएका थियौं भन्ने लाग्छ मलाई।
समयको हिसाबले थोरै समय भएता पनि हामीले धेरै 'वाइल्ड मुमेन्टहरू' सँगै जिएका छौं। निष्ठार रातमा दुई जना अलपत्र परेनौं कि, चिसोले लगलग कामेनौं कि! बाइक चलाउन एबिसिजी भन्दै बाइक चलाउन सिकाएन कि, ट्राफिकले अन्य प्रश्न गर्दा रिसले आगो भएन कि?! सडकमा हिँड्दा बाइकले मलाई छोयो भनेर चुपचाप आफू छेउमा हिँड्दै मलाई कुनामा हिँडाएन कि!
यस्तै ससाना कुराहरूले गर्दा आकाशप्रति झनझन् माया बढ्दै गयो।
तर आकाशले मेरो बारेमा के सोच्छ भनेर उसलाई लामो समय स्पेश पनि दिएँ। एकदिन अत्ति भयो।
त्यो दिन मेरो मुड अफ थियो- त्यसैले उसलाई मेरो भावनाहरू भनिदिएँ- 'मलाई तिमी मनपर्छ। तिमीले मलाई कुन रूपमा हेर्छौ थाहा छैन।'
त्यतिबेला उसले एउटै जबाफ दियो- ‘अहिले मैले त्यस्तो केही पनि सोचेको छैन। अहिले करियर स्टेबल छैन यार। जागिर पनि त्यस्तै त्यस्तै छ, जिन्दगीमा के गर्ने अन्योलमा छु। त्यही भएर बाहिर जान खोजिराछु। तिमी राम्रो मान्छे हौ तर मैले त्यसबारे त्यस्तो केही सोचेको छैन। तिमी पनि त्यस्तो नसोच, यदि त्यस्तो केही हो भने अहिले छुट्टिँदा उत्तम होला।’
त्यतिबेला म पनि कलेजमा पढिरहेको थिएँ। मेरो पनि जागिर केही थिएन। मैले उसलाई ‘जीवनमा कोही पनि स्टेबल छैन न तिमी छौ न म नै छु’ भनेर सम्झाउन प्रयास गरेँ। तर उसले बुझेन या बुझ्न खोजेन थाहा छैन।
उसको एउटै सपना थियो- उच्च शिक्षाका लागि अमेरिका जाने।
बुझ्न नखोजेपछि मैले पनि एकोहोरो प्रयास गर्नु उचित हुँदैन। मैले जसरी हाम्रो सम्बन्धलाई हेरेको थिएँ, त्यसरी उसले नहेरेको पनि हुन सक्छ भन्ने लागेर दूरी राख्दा नै उपयुक्त हुने लाग्यो।
पहिलोपटक कसैलाई तिमी मनपर्छ भनेर भनेको थिएँ। तर उही व्यक्तिले करिअरको कारण देखाउँदै बाटो मोड्यो। केटा साथीहरूले 'तिम्रो करिअर राम्रो छैन' भन्दै उनीहरूलाई केटीहरूले छाडेको सुनाएका थिए। तर यहाँ त मैले केही हुँदैन, सँगै गरौंला भन्दा पनि करियरको कारण देखाउँदै ऊ मसँग टाढिएको थियो। मनमा चिसो पस्यो, आखिर किन?
त्यसपछि बिस्तारै हामीबीच दूरी बढ्दै गयो। कहिलेकाहीँ आक्कल झुक्कल स्टोरी रिप्लाई र म्यासेज आदानप्रदान हुन्थ्यो। घरिघरि म्यासेज आएपछि बोलौं कि भन्ने लाग्थ्यो, फेरि मनै धेरै आकाशलाई पछ्याइराछु कि भन्ने लाग्थ्यो। तर भित्री मनले ठूलो आवाजले भन्थ्यो- यदि मन पराउँछस् भने जसले प्रयास गरे पनि हुन्छ!
त्यही आवाजले गर्दा नै फेरि कुरा गर्न प्रयास गरेँ। तर मैले म्यासेज गर्दा उसले पछि एकदमै ढिला रिप्लाइ दिन थाल्यो। केही दिन यस्तै हो भन्ने लाग्यो। तर जब ती कुराहरू दोहोरिन थाल्यो। लाग्यो मैले बेकाममा उसलाई दु:ख दिइरहेको छु, जबर्जस्तीका सम्बन्ध नराम्रो हुन्छ भन्ने लागेर पन्छिन थालेँ।
लगभग छ महिना भइसकेको थियो नबोलेको। एक्कासि एक शनिबारको दिन म्यासेज आयो- कन्सर्टको टिकट पठाएको रहेछ।
आफूले मन पराएको मान्छे न थियो, इगोका कारण नबोली बसेको मेरो मन उसको म्यासेज देख्नासाथ पग्लिहाल्यो। कुरा गरेँ।
ऊ घरमै पिक गर्न आयो। पहिलोपटक दुवैजना कन्सर्टमा गयौं। फेरि कुरा हुन थाल्यो। हामी त्यसपछि पाच-छ वटा कन्सर्टमा सँगै गयौं। त्यहीबेला उसले अमेरिकाको लागि प्रोसेस गरिरहेको थियो। अप्रिल १७ तारिकका लागि इन्टरभ्यूको मिति लिएको सुनायो। त्यो सुनाउँदा मनमा तुफान चलिरहेको थियो। डर थियो उसलाई सधैंभरिको लागि गुमाउनेछु, मन पराएको मान्छे मबाट टाढिनेछ। जति दु:खी थिएँ, त्यति नै उसको लागि खुसी पनि थिएँ। किनकि उसले देखेको सपनाले आकार लिँदै थियो, उसको सपना पूरा हुँदै थियो।
जब इन्टरभ्यूको दिन थियो बेलुकी म्यासेज गरेँ- तिमीले चाहिँ के पायौ त आज?
‘ग्रिन’, एकदिनपछि रिप्लाइ दियो।
केही दिनपछि सोधेँ- 'दरबारमार्गबाट पासपोर्ट आयो?’
‘आयो।’
जुन दिन उसले ग्रीन रिसिप्ट पायो भनेर प्रतिक्रिया दिएको थियो, त्यो दिन मेरो लागि सबैभन्दा दुःखी र खुसीको दिन थियो। किनकी मैले माया गरेको मान्छेको सपना पूरा भएको दिन थियो त्यो। अर्कातिर मेरो सपना र मन चुँडिएको दिन थियो त्यो। कसैको लागि डाँको छाडेर रोएको पहिलोपटक थियो। आउने दिनहरू सम्झँदै डरले निदाउन नसकेको दिन थियो।
मन विक्षिप्त भएको थियो। आफ्नो कोही पनि नभएको अनुभूति गरेको पल थियो। दिनहरू बित्दै गए। आफूलाई सम्हाल्दै गएँ।
बीचमा एउटा रिल पठाएँ। उसले 'साथी दायाँबायाँ नसोचम् है, यदि केही गल्ती भएछ भने सरी' भनेर प्रतिक्रिया दियो।
मैले अनुमान लगाएसम्म हामी दुईको हुर्काइ र बढाइ फरक छ भन्ने उसलाई लाग्छ। त्यसैले गर्दा ऊ तर्किन खोजेको अनुभूति गर्छु। तर थाहा छैन के कारणले गर्दा ऊ यति धेरै पछि हटिरहेको छ, करियरको बाहेक उसले कुनै कारण दिन सकेको छैन। यदि मैले अनुमान लगाएको नै कारण हो भने त्यो खासमा कारण बन्न हुँदैन भन्ने मलाई लाग्छ।
त्यसपछि ऊ झनै व्यस्त हुन थाल्यो। म पनि आफ्नो इन्टर्न सुरू भएपछि काममा व्यस्त हुन थाले।
बीचमा कहिले पार्टी दिने भनेर जिस्काएँ। तर त्यतिबेला ऊ आफ्नो गाउँ गइसकेको थियो। गाउँबाट फर्किएलगत्तै सम्पर्क गर्छु भनेर म्यासेज गर्यो।
मैले काठमाडौं फर्किएपछि भेट्छ भनेर कुरिरहेँ। म काम र घुमघाममा व्यस्त भएँ।
बीचमा कहिले फ्लाइट भनेर सोधेँ- उसले दुइटा मिति भन्यो।
सोचेँ उसलाई भन्नु छैन होला। सधैं परिवारको साथमा बसिरहेको उसलाई पनि परिवार छोडेर जाँदा टेन्सन भइरहेको होला। फेरि उता गएसी के कसरी गर्ने पनि भइरहेको होला भन्ने पनि लाग्यो।
त्यसैले राम्ररी जबाफ नफर्काएपछि अमेरिका जानुअघि नै भेट हुँदा सबै आफ्नो भावनाहरू राख्छु भनेर सोचेकी थिएँ- तर यता म पर्खिनु मात्रै भयो। आकाशले न फोन गर्यो न त म्यासेज। अमेरिका उडेको दिन थाहा पाएँ। भक्कानो छाडेर रोएँ। मन झनै भारी भयो। केही हप्ता निन्द्रै परेन।
अमेरिका पुगेसी स्टोरी हाल्यो। बधाई दिएँ। सन्चो बिसन्चो कुरा भयो। त्यसपछि फेरि हाम्रो वार्तालाप मौनतामा अड्कियो।'
'सुन कुरा त्यस्तो केही होइन, तैँले धेरै आकाशबारे सोचिस्। आकाशले त्यसरी सोचेको रहेनछ। उसलाई भनेर नराम्रो बन्नु पनि छैन। अब अमेरिका गइसकेको मान्छेले तँलाई सोच्छ भन्नु गलत हो। तँ यता कुरेर बस्नु मात्रै हुन्छ।'
'तर मनले मान्दैन नि त।'
'ब्रेकअप भएको हो भनौं भने तिमीहरू सम्बन्धमा बसेका पनि होइनौं। अनि जब रिलेसन नै थिएन भने किन रोनाधोना? किन रोएर बस्छेस्, तँ रूनु फोकटमा हो त्यसको कुनै मूल्य छैन। यदि आकाशले अहिले हामी बसुम् तर म करिअरमा स्टेबल भएपछि अगाडि बढौंला भनेको भए बेग्लै कुरा। तैँले आकाशलाई कुर्नुको अर्थ हुन्थ्यो। त्यस्तो केही छैन त्यसैले तँ मुभ अन हुनुपर्छ केटी। त्यो तेरो अट्याचमेन्ट मात्रै हो।'
तर पनि अहिले फेरि लाग्छ आकाशसँग यी सबै कुरा गरूँ या नगरूँ? एउटा मनले भन्छ गर तर अर्को मनले भन्छ नौलो देशमा गएको मान्छेलाई किन तनाव दिनू? मनको द्वन्द्वसँग लडिरहेको छु। पर्खाइमा बसिरहेको छ, सायद एक दिन आउनेछ र मैले भन्न खोजेको तर नसकेको अनगिन्ती भावनाहरू शब्दमा उसैले भन्नेछ वा नेपाल फर्किएपछि उसैले महसुस गराउनेछ।
फेरि लाग्छ त्यो अपेक्षा गर्नू मेरो मूर्खता हुन्छ? कि मैले अमेरिकामै भएको आकाशसँग सबै कुरा स्पष्ट राख्नुपर्छ?