'असफल त्यो होइन, जसको काम पूरा हुँदैन। असफल त्यो हो, जो काम पूरा नभएपछि हरेस खान्छ।'
इन्स्टाग्राम र टिकटकतिर अक्सर देखिने यस्तो दार्शनिक भनाइ के हाम्रो जीवनमा साँच्चिकै लागू हुन्छ?
आजको यो कथा पढेर तपाईंहरूले माथिको उद्धरणमा लुकेको दर्शन विश्वास गर्नुहुन्छ होला!
कथा हो ३७ वर्षीय प्रणय कार्कीको; जसले अनेकौं चुनौती, अनेकौं प्रयास र थुप्रै असफलतापछि पनि हरेस खाएनन्। काममा जतिसुकै असफलता बेहोर्नुपरे पनि मिहिनेतमा पूर्णविराम लगाएनन्।
त्यसैको परिणाम हो, विगतमा आठवटा कम्पनीको असफलतापछि उनले सुरू गरेको 'जुवास' आज एक लोकप्रिय र स्थापित ब्रान्ड बन्न सफल छ।
प्रणय कुनै व्यावसायिक परिवारका सदस्य होइनन्। बरू व्यापारमा लाग्ने परिवारकै पहिलो सदस्य हुन्। उनको व्यावसायिक यात्रा नै सिक्दै, लड्दै, हार खाँदै फेरि उठेर अगाडि बढ्ने क्रमसँग सम्बन्धित छ।
'मलाई व्यापार गर्नुपर्छ भनेर सिकाउने कोही थिएन। मैले जे गरेँ, आफ्नै अभ्यासबाट सिकेर गरेँ,' उनले भने, 'विगतका एकपछि अर्को असफलता नै मेरो जिन्दगीको सबभन्दा ठूलो सिकाइ हो।'
अध्ययनका हिसाबले प्रणय इञ्जिनियर हुन्। उनले सन् २०१० मा जर्मनीबाट लजिस्टिक्स इन्जिनियरिङमा स्नातक गरेका थिए।

पढाइ सकेर नेपाल फर्केपछि उनले सुरूमा यतै काम खोजे। तर न आफ्नो पढाइसँग मिल्दोजुल्दो काम पाए, न त्यसको विकल्प। उनको जिन्दगीमा असफलताको सुरूआत सायद यहीँबाट भयो।
यसले उनको जिन्दगीलाई नयाँ मोड पनि दियो। उनले इञ्जिनियरिङ छाडेर आफ्नै व्यवसाय गर्ने निधो गरे।
व्यवसाय गर्ने निश्चय मनमा आएपछि उनले काठमाडौंको एस कलेजमा एमबिए पढ्न थाले। तर त्यो पढाइ उनले पूरा गरेनन्।
'व्यापार गर्न सैद्धान्तिक ज्ञान पनि चाहिएला भन्ठानेर एमबिए पढ्न गएको थिएँ। तर केही समयमै मैले बुझेँ, व्यवसाय भनेको मनदेखि आँटेर गर्ने काम हो, कलेजको सैद्धान्तिक पढाइले कसैलाई सफल व्यवसायी बनाउँदैन,' उनले भने, 'यही सोच मनमा आएपछि मैले एमबिए पढाइ बीचैमा छाडिदएँ।'
पढाइ छाडे पनि व्यवसाय गर्ने हुटहुटी मरेको थिएन।
त्यही हुटहुटीको भरमा उनले सन् २०११ बाट व्यावसायिक क्षेत्रमा हात हाले। सुरूआत कृषिसँग सम्बन्धित व्यवसायबाट भयो।
उनले डेरी फार्म खोले। चिज र घिउ उत्पादन गरे। ती कुनै पनि सफल नभएपछि एक्वेरियममा पालिने विभिन्न जातका माछाको थोक बिक्री सुरू गरे। त्यसबाट पनि खासै लाभ भएन। त्यसपछि उनले बोटबिरूवामा मलका रूपमा प्रयोग गरिने झोल पदार्थ उत्पादन गरे।
यसरी सन् २०११ देखि करिब आठ थरीका व्यवसायमा हात हाल्दा पनि सफल हुन नसकेको उनी बताउँछन्।
'ती असफलताले मलाई दिक्दार त बनाउँथ्यो, तर मैले हरेस खाइनँ,' उनले भने, 'हरेक असफलताले मलाई केही न केही नयाँ कुरा सिकाएर गयो। मैले आफ्नो काममा के गल्ती गरेँ र त्यसलाई आगामी दिनमा कसरी सुधार्ने भन्ने ज्ञान दियो।'
अनि आयो, सन् २०१५ — जब उनले 'जिभा अर्बन एग्रिकल्चर सिस्टम्स प्राइभेट लिमिटेड' नामको कम्पनी सुरू गरे। यही कम्पनीको छोटकरी नाम 'जुवास' हो। यो छोटकरी शब्द नै आज उनको कम्पनीले गर्ने उत्पादनहरूको 'ब्रान्ड–नेम' बनेको छ।
यो कम्पनीको सुरूआत कथा पनि रोचक छ।
प्रणयले भान्साबाट निस्कने जैविक फोहोरबाट बायो ग्यास उत्पादन गर्ने उद्देश्यले यो कम्पनी सुरू गरेका थिए। उनको इञ्जिनियरिङ अनुभव र आँखाले यसमा ठूलो भविष्य देखेको थियो। तर इञ्जिनियरिङ आँखाले देखेको भविष्यलाई बजारले साथ दिएन।
'म त्यति बेला बायो ग्यास उत्पादन प्रणाली बेच्न घर–घर जान्थेँ। मान्छेहरू मेरो कामको तारिफ गर्थे। कति राम्रो अनुसन्धान भन्दै हौस्याउँथे। तर लागत बढी पर्ने हुँदा बजार लिन सकेन,' उनले भने, 'मैले ग्राहकहरूलाई त्यसको महत्त्व बुझाउनै सकिनँ। बुझ्नेहरूले पनि बढी पैसा पर्ने हुँदा खासै वास्ता गरेनन्।'
आखिरमा निकै सोचविचार गरेर उनले कम्पनीको उद्देश्य र बाटो नै फेर्ने निधो गरे।
उनले सोचे — अब म बजारमा छिटो चल्ने खालका उपभोग्य सामान उत्पादन गर्छु। अचेल मान्छेहरू स्वास्थ्यप्रति निकै सचेत छन्, त्यसैले म स्वास्थ्यलाई फाइदा हुने खालका उत्पादनको व्यवसायमा लाग्छु।
यही सोचका साथ उनको जुवास कम्पनीले चिया सिड, तेल, शिलाजित लगायत विभिन्न वस्तु किनेर रि–प्याकेजिङ गरी बिक्री गर्न थाल्यो।
विगतमा कृषि व्यवसायमा लाग्दा त्यसबारे धेरै कुरा जानेकाले यो काम गर्न सजिलो भएको उनी बताउँछन्।
बीचमा कोरोना लकडाउनका कारण व्यवसायमा रोकावट आए पनि उनले आफ्नो यात्रा रोकेनन्। सन् २०२२ बाट उनी अझ सक्रिय रूपमा लागे। बजार मागका आधारमा आफै पनि उत्पादनमा संलग्न भए र जुवासलाई पूर्णकालीन उद्योगका रूपमा अघि बढाए।


अहिले उनको कम्पनीले मुख्य गरी चार थरीका वस्तु उत्पादन गर्छ —
पहिलो – शिलाजित।
उनले सन् २०१७ बाट यसको व्यापार सुरू गरेका थिए। सन् २०२२ यता संसारभरि शिलाजितको माग बढ्न थालेपछि अचेल उनी 'जुवास' ब्रान्डमै शिलाजित उत्पादन गरिरहेका छन्।
शिलाजित भनेको हिमाली क्षेत्रका चट्टानमा पाइने प्राकृतिक पदार्थ हो। गाढा कालो वा खैरो रङको यो पदार्थ हजारौं वर्षको जैविक प्रक्रियाबाट बनेको हुन्छ। आयुर्वेदमा यसलाई औषधिजन्य पदार्थका रूपमा लिइन्छ। यसले मान्छेको थकान कम गरेर शरीरमा ऊर्जा भर्न मद्दत गर्छ। रोगसँग लड्ने क्षमता बढाउनुका साथै मासंपेसी बलियो पनि बनाउँछ। खासगरी वयस्क पुरूषहरूमा यसको माग धेरै भएको उनको भनाइ छ।
'पछिल्लो समय नेपालमा उत्पादित शिलाजितको माग एकदमै बढेको छ,' प्रणयले भने, 'नेपालमा भन्दा बाहिरी मुलुकहरूमा यसको माग धेरै छ।'
जुवासले डोल्पा, मुगु लगायत क्षेत्रमा पाइने कच्चापदार्थबाट शिलाजित बनाउँदै आएको छ। कम्पनीको सबभन्दा लोकप्रिय उत्पादन यही हो। कुल उत्पादनको ५० प्रतिशतभन्दा बढी निर्यात हुन्छ। अमेरिका, अस्ट्रेलिया, फ्रान्स, जापान, माल्दिभ्स लगायत देश निर्यात हुँदै आएको उनले जानकारी दिए।

दोस्रोमा आउँछ – एप्पल साइडर भिनेगर।
यो कम्पनीको दोस्रो ठूलो उत्पादन हो। जुम्ला र डोल्पामा फल्ने स्याउ प्रयोग गरेर यो उत्पादन गरिँदै आएको उनले जानकारी दिए। यसका लागि कम्पनीले हरेक वर्ष कम्तिमा ३० हजार किलो स्याउ किन्छ। सबै स्याउ जुम्ला र डोल्पाबाटै खरिद गरिन्छन्। अहिलेसम्म यो उत्पादन स्थानीय बजारमै बिक्री हुँदै आए पनि भविष्यमा निर्यात गर्ने सोच रहेको उनले बताए।
जुवासको तेस्रो प्रमुख उत्पादन हो – कोल्ड प्रेस्ड अयल।
यो भनेको बदाम, जिरा, आलस, एप्रिकट, भाङ लगायतको बीउबाट निकालिने तेल हो। स्थानीय बजारमा यसको माग निकै बढेको उनी बताउँछन्। उनका अनुसार सुख्खा छाला र कपाल स्वस्थ राख्न स्थानीय उपभोक्तामाझ यस्तो तेल प्रयोग गर्ने चलन बढ्दै गएको छ।
'हामी शतप्रतिशत प्राकृतिक ढंगमा तेल निकाल्छौं। कुनै किसिमको रसायन प्रयोग गर्दैनौं,' उनले भने, 'त्यही भएर हाम्रो उत्पादन धेरैले रूचाएका छन्। खासगरी महिलाहरूमा बढी लोकप्रिय छ।'
अनुहार र शरीरमा लगाउने विभिन्न किसिमका क्रिम उत्पादक कम्पनीहरूमा पनि यो तेल बिक्री भइरहेको उनले जानकारी दिए। जुवासकै सहायक कम्पनी 'जीना आलकेमी' ले पनि यिनै तेल प्रयोग गरेर छालामा लगाउने क्रिम उत्पादन गर्दै आएको छ।
चौथो प्रमुख उत्पादन हो – बटर।
जुवासले बदाम (मूंगफली) र आलमन्डको बटर उत्पादन गर्दै आएको छ। मह चाहिँ चिउरी र तोरीको उत्पादन गर्छ। पछिल्लो समय सर्वसाधारण उपभोक्तामा लोकप्रिय यी बटर र महमा चिनी प्रयोग नगरिने प्रणयको दाबी छ।
'हामीले यी सबै सामान मान्छेको स्वास्थ्यलाई फाइदा हुने गरी उत्पादन गरेका छौं। यसमा चिनी वा अन्य कुनै किसिमको रसायन प्रयोग गरिँदैन,' उनले भने, 'हाम्रो उत्पादन विधि शतप्रतिशत प्राकृतिक छ।'
यसबाहेक जुवासले घ्यू पनि उत्पादन गर्दै आएको छ। तर पछिल्लो समय डेरी पसलहरूले मात्र घ्यू बेच्न पाउने नियमका कारण बिस्तारै उत्पादन घटाउँदै लगेको प्रणयले बताए।

यी सबै उपभोग्य सामग्री भाटभटेनी, सेल्सबेरी लगायतका मार्टमा उपलब्ध छन्। विभिन्न बेकरी, क्याफे र दराज एपबाट पनि बिक्री गरिन्छ।
जुवास खासमा उत्पादक कम्पनी भएकाले पहिले यसको खुद्रा बिक्री केन्द्र थिएन। सन् २०२० पछि बिक्री केन्द्र पनि खोलेको छ। पहिले लाजिम्पाटमा थियो, अहिले झम्सिखेल सारिएको छ।
'उत्पादक कम्पनी भएकाले हामीलाई बिक्री केन्द्र खोल्न जरूरी त थिएन। तर कम्पनीको ब्रान्डलाई उपभोक्तासम्म पुर्याउन र आफ्ना उत्पादनबारे जानकारी दिन बिक्री केन्द्रको खाँचो पर्दो रहेछ,' प्रणयले भने, 'मान्छेहरू तपाईंहरूको कम्पनी कहाँ छ भनेर सोध्छन्, उनीहरूलाई हाम्रो अफिस वा कारखाना देखाउनुभन्दा बिक्री केन्द्र देखाउन सजिलो भएर पनि हामीले खोलेका हौं।'
तैपनि अधिकांश कारोबार मार्ट र एपबाटै हुने उनी बताउँछन्। उनका अनुसार कुल बिक्रीको करिब १० प्रतिशत मात्र बिक्री केन्द्रबाट हुन्छ।
जुवासको कारखाना दुई ठाउँमा छ। शिलाजित उत्पादन गर्ने कारखाना सानेपामा छ भने बाँकी सबै हरिसिद्धिको कारखानाबाट उत्पादन गरिन्छन्। 'पहिले हामी बाहिरबाट सामान आयात गरेर पनि बेच्ने गर्थ्यौं। अचेल आफ्नै कारखानाबाट उत्पादित सामान मात्र बिक्री गरिरहेका छौं,' उनले भने।
लामो असफलतापछि एउटा सफल ब्रान्ड खडा गरेका प्रणय यसका लागि आफूले धेरै चुनौती सामना गर्नुपरेको बताउँछन्।
उनका अनुसार सबभन्दा ठूलो चुनौती कच्चापदार्थको अनियमित आपूर्ति हो। जुवासका हरेक उत्पादन नेपालकै कच्चापदार्थबाट तयार भइरहेका छन्। तर विभिन्न कारणले कच्चापदार्थ आपूर्ति नियमित हुन सकेको छैन। कतिपय अवस्थामा आपूर्ति भए पनि मूल्य धेरै परेर किन्न सकिँदैन। यसले उत्पादन प्रभावित हुन्छ।
उनले शिलाजितको उदाहरण दिँदै भने, 'हामी डोल्पा र मुगुमा पाइने शिलाजित प्रयोग गर्छौं। हिमाली क्षेत्रको चट्टानमा पाइने यस्तो पदार्थ खोज्न धेरै गाह्रो हुन्छ। भनेको बेला सधैं उपलब्ध नहुन सक्छ। अरू देशबाट आयात गर्न पनि मिल्दैन।'
'सामान्यतया शिलाजित बन्न चार महिना लाग्छ,' उनले अगाडि भने, 'त्यसैले एक वर्षपछिको बजार हेरेर अहिले नै उत्पादन गरी स्टक राख्नुपर्छ।'
एप्पल साइडर भिनेगर त अझै चुनौतीपूर्ण भएको उनी बताउँछन्। यसको उत्पादन विधि परम्परागत रक्सी बनाएजस्तै हो। स्याउ सुकाएर कम्तिमा एक वर्ष ट्यांकमा सुरक्षित राख्नुपर्छ।
'लामो समय लाग्ने भएकाले कम्तिमा दुई वर्षपछिको बजार माग आकलन गरेर उत्पादन प्रक्रिया सुरू गर्नुपर्छ,' उनले भने, 'उपभोक्ताले खोजेका बेला आपूर्ति गर्न सकियोस् भनेर पर्याप्त स्टक पनि राख्नुपर्छ।'


जुवासले वार्षिक २५ हजार लिटर भिनेगर उत्पादन गर्दै आएको छ। एक वा दुई वर्षपछिको बजार हेरेर अहिले नै करोडौं लगानी गर्नु जोखिमपूर्ण हुने उनको भनाइ छ।
चुनौतीकै कुरा गर्दा उनले नेपालमा व्यवसाय गर्दाको एउटा मुख्य चुनौती हामीलाई सुनाए। त्यो हो – क्रेडिट (उधारो) कारोबार।
'कच्चापदार्थ सहज रूपमा आपूर्ति नहुनु वा स्टक राख्नुपर्ने चुनौती आफ्नो ठाउँमा छँदैछ, त्योभन्दा ठूलो चुनौती क्रेडिटको हो,' उनले भने, 'हाम्रो अधिकांश कारोबार क्रेडिटमा चल्छ। बजारबाट पैसा उठ्न धेरै समय लाग्छ। तर बजारबाट पैसा उठेको छैन भनेर सरकारले हामीलाई क्रेडिट दिँदैन। सरकारलाई तिर्नुपर्ने करहरू तोकिएकै मितिमा चुक्ता गरिसक्नुपर्छ।'
'जुन सामान बेचेबापतको कर हामीले पहिले नै तिरिसकेका हुन्छौं, बजारबाट त्यो सामानको पैसा उठाउन महिनौं लाग्छ,' प्रणयले भने।
उनले कम्पनीको संरचना र आर्थिक पाटोबारे पनि जानकारी दिए।
'जुवास' कम्पनी प्रणयकै नेतृत्वमा सञ्चालन हुँदै आए पनि उनीबाहेक अन्य चार जना साझेदार छन्। सबै साझेदारले दैनिक कारोबार र निर्णयको पूर्ण अधिकार आफूलाई दिएको उनी बताउँछन्। ती साझेदारमध्ये प्रणयकी दिदी डा. प्रशन्ना कार्की एक हुन्। कम्पनीको वितरणका काम उनी सम्हाल्छिन्।
कम्पनीमा अहिलेसम्म दुई करोड रूपैयाँ लगानी भइसकेको छ। केही रकम बैंकबाट ऋण पनि लिएका छन्।
उनीहरूको वार्षिक कारोबार १० करोड रूपैयाँ छ। यसमा नाफा मार्जिन २० प्रतिशत भएको उनी बताउँछन्। यो भनेको २ करोड रूपैयाँ हो।
कम्पनीको अहिलेसम्मको कारोबार, बजार र नाफाबाट आफू सन्तुष्ट भए पनि यतिमै सीमित भएर बस्ने उनको विचार छैन। उनी बदाम, आलस, भाङ, एप्रिकट लगायतका बीउबाट तेल निकाल्दा आउने पिना प्रयोग गरेर बोटबिरूवाका लागि मल बनाउने सोचमा छन्। सँगसँगै, उत्पादन परिमाण बढाउँदै लैजाने र सबै उत्पादनको निम्ति अन्तर्राष्ट्रिय बजार खोज्ने सोच पनि छ।
उनले आफ्नो एउटा दुरगामी सोच हामीलाई सुनाए।
'जुम्लामा ठूलो परिमाणको स्याउ उत्पादन हुन्छ। त्यसको ५० प्रतिशत मात्र किन्न सकेँ भने म वर्षको १ करोड ४० लाख लिटर भिनेगर उत्पादन गर्न सक्छु,' उनले भने, 'यसका लागि अन्तर्राष्ट्रिय बजारको खोजीमा छु। नेपालको ताजा स्याउबाट बनेको अर्गानिक भिनेगर भनेर मार्केटिङ गर्न सकियो भने संसारभरि राम्रो बजार पाउँछ भन्ने मेरो विश्वास छ।'
व्यवसायीहरू चुनौती मोल्न र लगानी गर्न अभिशप्त हुन्छन्। एउटा चुनौती पार लगाएर एक ठाउँमा पुगेपछि उनीहरू फेरि अर्को चुनौती मोल्न तम्तयार हुन्छन्। यही एकपछि अर्को चुनौतीले नै व्यवसाय विस्तार गर्दै लैजान्छ, कम्पनी ठूलो हुँदै जान्छ।
थुप्रै असफलताले दिएको सिकाइ र अनुभवबाट जन्मिएको 'जुवास' लाई स्वदेशदेखि विदेशसम्म फैलिएको ठूलो कम्पनी बनाउने प्रणयको सपना छ।
उनी यसको निम्ति जस्तोसुकै चुनौती मोल्न हिच्किचाउँदैनन्, र असफलताबाट डराउँदैनन्।
किनभने, उनले एउटा कुरा राम्ररी बुझेका छन् — असफल त्यो होइन, जसको काम पूरा हुँदैन। असफल त्यो हो, जो काम पूरा नभएपछि हरेस खान्छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***





