आज एक हप्ता भैसक्यो झरी दिनरात नभनी, नबिराई परिराखेको छ। झरी कालझैं परिरहेको छ। यस्तो विनाशकारी वर्षा देखेर, नदी किनारमा बस्ती बसाइरहेका मान्छेहरूको मन कति उथुलपुथुल भएको होला? बाहिर जानु कतै मन छैन। बस् कौसीमा ढपक्कै फुलेको गुलाबमै मन अडिग छ।
मज्जाले महसुस गरिरहेका छन् मेरा नयनले काँडा र फूललाई। मलाई यो गुलाब देख्दा आजभन्दा ५ वर्षअघि क्याम्पस अगाडि भेटेकी र आफ्नो वृत्तान्त सुनाउँदै छुटेकी उही गुलाबी उमेरकी सहेलीको घटनाक्रम आँखीझ्यालमा झलझली पर्दा बनी आइरहेको छ।
उसका ती पीडा मेरो हृदयको सन्दुकमा अझै पनि सुरक्षित छन्। मैले नजिकैबाट चिनेकी बाल्यकालदेखिकी साथी थिई ऊ। +२ गाउँमै सकाएर स्नातक पढ्न राजधानी छिरेकी। बाबाआमा सामान्य किसान। अभावैअभावले भरिएको घरमा उसका सपनाहरू कुहिरोमा हराएका कागजस्तै थिए।
तर ऊ त्यसैमा त्यो काग समात्ने अठोट लिएर हिँडी। जागिर गर्दै पढेर केही आफ्नो लागि, केही बाबाआमाको लागि गर्ने सपनाको मन्जील मनमनै खडा गरी।
एकदिन भौंतारिँदै हिँड्दा न्युरोडको एउटा कपडा पसलमा जागिर पाई। जनतन स्नातक सम्मको पढाइ सकी। अनि एकपटक सोही क्याम्पसको सरलाई सहयोगको याचना गरी। 'सर म अब स्नातकोत्तर पढ्न चाहन्छु। सस्तो राम्रो पढाइ कहाँ होला? हजुरले केही सहयोग गर्नु हुन्थ्यो कि?' त्यसपछि सरले 'हुन्छ आजै ग्वार्को चोकमा आऊ' भन्नुभयो।
उहाँले भनेअनुसारको समयमा ऊ पुगी। सरले उसलाई बाइकमा चढाएर एउटा नजिकको क्यापसमा लैजानुभयो। जहाँ नपुग्दै बाटोमा एकछिन बाइक रोकेर भन्नथाल्नु भयो 'आज साँझ काम सकिएपछि तिमी र म बसेर सँगै खाजा खानुपर्छ ल' भन्नुभयो।
अनि एकछिनपछि फेरि भन्नुभयो 'यहाँ कसैले यो को हो भनेर सोध्यो भने साली हो भन्छु, तिमीलाई पनि कसैले सोधे भेनाजू हो भन्नु।'
उ अचम्मित हुँदै सोच्न थाली।
'हैन कतै यो सरको नियत त ठिक छैन? शिक्षकप्रति त हामी विद्यार्थीको उच्च सम्मान र विश्वास हुन्छ। सोही मनसायले मैले सहयोग मागेँ तर यो उल्टै छलकपटी के हो? उज्यालाका पक्षधर हाम्रा गुरूहरूलाई आजभोलि के भएको होलान्?' उसका सोचका दृष्टिहरू बाहिरी संसारमा कतै डुलिरहे।
यति सोचिरहँदा तै पनि ऊ सरको पछिपछि लागि। त्यसपछि एउटा रित्तो बिलडिङतिर इङ्कित गर्दै भन्नुभो, 'यो मर्निङ क्लास हो अहिले विद्यार्थीहरू पढेर गैसके। आऊ तिमीलाई क्लास देखाउँछु' भनेर रित्तो क्लास रूमभित्र लैजानु भयो।
'ल हेर यो डेक्स, बेन्च हुन्। यहाँ थुप्रै विद्यार्थी यहाँ हुन्छन्' भन्दै ऊ भएतिर नजिकै सर सर्नुभयो। ऊ फेरि केही पर सरी। 'हस् सर लागूँ म' भनी।
तर सरले उसको हातमा समातेर गालानिर चुम्बन गर्न खोज्नुभयो। त्यसपछि ऊ बेस्सरी चिच्याई। तर त्यहाँ उसको चिच्याहट सुन्ने चारदिवाले घेरिएको चौकोस बाहेक कोही थिएन। त्यतिकैमा त्यो सरलाई धकेलेर, 'सर तपाई यो के गर्न खोज्नु भएको' भनेर भागेर ग्राउन्डमा आई।
उसका हातखुट्टाहरु कहाँ टेकेर तल झरे पत्तो पाइन। ऊ डराएर भर्खर एन्जाइटीले थला परेको बिरामी जस्तै बनी। छिनमै होस ठेगानमा नरहेको एक मेन्टल डिसअर केटी जस्तै भई। त्यसपछि भाग्दै न्युरोडको गाडी चढेर न्युरोड गेट पुगी झरेर त्यो नाम मात्रको सर भनाउँदालाई कल गरी।त्यसपछि सापसँगॅ थर्काई। 'वा सर वा गज्जब! तपाईं त बडो कमालको मान्छे हुनुदो रहेछ। तपाईंलाई म शिक्षक हुँ भनेर हिँड्न लाज लाग्दैन? शिक्षक कस्तो हुनुपर्छ थाहा छैन भने एकचोटि शिक्षा नियमावली पढ्नुस्।सबै परीक्षा सकाए पनि अझै एकचोटि तपाईंको आचरणको परीक्षा लिन आग्रह गर्नुहोस्। शिक्षकमा के गुण हुनुपर्छ थाहा छैन भने, देशमा थुप्रै राम्रा दिग्गज गुरूहरू हुनुहुन्छ उहाँहरूबाट केही सिक्नुहोस्। उहाँहरूले देखाउनुभएको मार्ग ज्ञान अनुशरण गर्नुहोस्। तर यसरी बलात्कारी मानसिकता बोकेर अपराधी ट्याग भिरेर कालकोठरीमा गएर बस्ने चाहको चेष्टा कदापी नगर्नुहोस्।'
'भयो मलाई पुग्यो सर तपाईंको स्वार्थको बर्को ओढेर आएको सहयोग। बरू एक्लै सोधखोज गरेर संघर्ष गरेर गन्तव्यम् पुग्छु। तर मलाई तपाईंजस्तो सरको सहयोग चाहिँदैन। मलाई आज जुन आफ्नो हर्कत देखाउनु भयो। आजको दिनदेखि कोही विद्यार्थीलाई सहयोग गर्ने बहानामा यस्तो सर्वोश्व हरण गर्ने आँट त के सोच पनि नगर्नु होला। आज तपाईं जस्ता शिक्षकको कारण कत्ति विद्यार्थी सुसाइड गरेका छन्। आज तपाईं जस्ता शिक्षकका कारण कत्ति विद्यार्थी डिप्रेसनको सिकार बनेका छन्। आज तपाईं जस्ता शिक्षकको कारण कत्ति कुमारी आमा बनेका छन्! यस्तै तपाईं जस्ता शिक्षककै कारण अर्कोतिर सोझासाधा, बौद्धिक उच्च छवि बनाएका शिक्षकहरूमाथि पनि प्रश्न उठेको छ।
कयौं शिक्षकले भर्खरको मुनालाई मलजल गरी उपयुक्त वातावरण दिई अथक मेहनतले हजारौं सुन्दर फूलहरू फुलाई सारा संसार मगमगाउने गराएका छन्। तर तपाई जस्ता यस्तै कयौं शिक्षकले भर्खरको कलकलाउँदो मुनालाई निमोठेर फ्याँक्ने प्रयास गर्दै छन्। यही हो तपाईंको धर्म? आज म त तपाईंको गिद्देको जस्तो नङ्ग्रा छाला पन्जाबाट बच्न सफल भएँ। तर तपाईं यस्ता हिस्रक प्लान बनाएर अहिलेसम्म कति पटक म जस्ता सोझासाधा विद्यार्थीलाई छलकपट गरेर उनीहरूमाथि कयौं पटक आफ्ना विशालु नग्रा, नशालु नजर स्वार्थी सहयोग प्रहार गर्नुभयो? यही हो तपाईंको शिक्षण सिकाइ विधि? यही हो तपाईंको ज्ञान? यहीँ हो तपाईंले समाजमा फैलाएको जनचेतनामूलक सन्देश? यही हो तपाईंको सहयोग गर्ने तरिका?
यसरी कसरी तपाईं जस्ता मानवको नाममा दानव शिक्षकबाट विद्यार्थी अभिभावकले सिकाइको अभिलाशा राख्ने?' भनेर बेस्सरी थर्काई तर मास्टर चुइक्क बोल्ने चेष्टा गरेन र फोन काटिदिई उत्तिबेलै नम्बर ब्लकलिष्टमा राखिदिई। फेसबुकमा पनि ब्लक गरी र ठूलो स्वास लिँदै जीवनमा सिकेको एउटा भयकर पाठ बोकेर अगाडि बढी। त्यो उसले दिएको मानसपटलमा बसेको अमिट छापलाई शक्तिमा बदलेर स्नातकोत्तर सकाई। ल पढी आज अधिवक्ता बनी।
अहिले मेरी साथी छाती फुलाएर भन्छे यस्ता शिक्षकलाई छोड्नु हुँदैन! पत्तासाप गराउनु पर्छ पेसाबाटै। यसरी अहिले ऊ दुर्व्यवहारमा परेका विद्यार्थी भाइबहिनी, आवाजविहीनहरूको आवाज बनेर हिँडेकी छे।
तर ऊ दु:खको आँसु र पीडाको आहलमा हिलाम्मे भएर बाँच्न चाहिन। उसले मलाई यो सब यसरी बताएकी थिई जुन सम्झिँदा आज पनि मेरो मथिंगल नमज्जाले हल्लिन्छ।
मैले यो लेख्नुको आशय पनि यो हो कि ऊ जस्ता सहयोग माग्दा कत्ति छोरीहरू पीडित छन्! तपाईंहरू पनि यसरी आफूमाथि कोही आइलाग्छ अनेक बहानामा भने तपाईं पनि अगुल्टो जस्तो स्त्री अस्त्र प्रहार गर्नुहोस्।
यसरी मेरो हृदयभरि अतीत सजीव भएर एकपछि अर्को गर्दै आइ नै रह्यो। देख्दैछु त्यो समयमा उसको साथमा घटेका विभिन्न चित्र विचित्रका चलचित्रहरू। सुन्दैछु अतीतको कारूणीक आवाज। लाग्दैछ विश्वास र सहयोगको परिभाषा निरर्थक रहेछ। यो समाजमा
मान्छेले गर्ने गल्तीको सीमा पनि भ्रमपूर्ण रहेछ। मात्र साहस नै शक्तिशाली रहेछ।
उसको जीवन कहानीबाट पनि पत्ता लाग्यो कि, मान्छे स्वार्थको शृङ्गार गरेर सहयोगी बहानामा धेरै डरलाग्दा छल गर्दा रहेछन्। सोझासाझालाई त झन् गन्दै नगन्दा रहेछन्।
एउटा संरक्षक सोचेको शिक्षक एकाएक भक्षक भइदिएको यो भयानक घटना मेरी साथीको साथमा घटेको ५ वर्ष पुरानो सत्य घटना थियो। यसरी हाम्रो नेपालमा शिक्षकबाट छात्रा विद्यार्थी यौन दुर्व्यवहारमा परेको पहिलो घटना यो पक्कै होइन। बारम्बार दिनकौ समाचार माध्यमबाट शिक्षकबाट छात्रा विद्यार्थीहरू यौन दुर्व्यवहारमा परी ठूलै दुर्घटना घटेका विवरण व्यापक रूपमा सार्वजनिक छन्। तर विडम्बना यस्ता शिक्षकको सुइँको थाहा हुदाँहुदै पनि किन उसका सहकर्मी प्रशासन त्यो अपराधी आरोपीलाई सहजै माफी दिएर जोगाउन खोज्छ?
आखिर कहिलेसम्म? यो हिसाबले विद्यार्थी न त स्कुलमा सुरक्षित रहे न त क्याम्पसमा। तपाईं कोही कोही शिक्षक जसले यस्ता नीच स्वभाव र व्यवहार पालेर बसिराख्नु भएको छ, तपाईंले आफूले गरेको पापको प्राय:श्चित आखिर कहिले गर्नुहुन्छ? तपाईंहरूको ज्ञानको भण्डारले भरिनुपर्ने दिमाग कहिलेसम्म यसरी यौन कुण्ठाले भर्नु हुन्छ?
के तपाईंले एक छात्रा विद्यार्थीलाई यो खालको व्यवहार गर्दा आफ्नो छोराछोरी, आफ्नो दिदी बहिनी, आफ्नो आमा-श्रीमतीको याद आउँदैन? यस्ता घटनाहरू त कतिधेरै गुपचुप छन्। मेरी साथी त यत्ति बोल्नको लागि पनि ५ वर्षसम्म मौन रही। तर अहिलेसम्म जति घटनाहरू बाहिर आए ती अभिभावकको दबाब र विद्यार्थीको चर्को आवाजले मात्र सार्वजनिक भए।
यसैगरी कुनै विद्यार्थीमाथि शिक्षकले ज्यादती गरेमा त्यसको प्रतिशोधमा छात्राहरू उठ्नुपर्छ र शिक्षकहरूबाट हुने दुर्व्यवहारका कारणबारे गम्भीर रूपमा अनुसन्धान हुन जरूरी छ। त्यसैगरी यस्ता मनोवृत्तिका शिक्षकलाई सरूवा नगराई सिधै पेशाबाट निष्कासित गर्नुपर्छ। अनि मात्र जागिर जाने डरले पनी केही सजक हुने थिए कि!